कार्यदललाई साझा अवधारणा बनाउन शीर्ष नेताको निर्देशन

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

गठबन्धनको आवश्यकता, औचित्य र निर्वाचनपछिका योजना समेटेर साझा अवधारणा बनाउने जिम्मा

मापदण्ड र आधार तय गर्दै सिट बाँडफाँडसम्बन्धी प्रारम्भिक प्रस्ताव बनाउने गृहकार्यमा जुटेको पाँचदलीय कार्यदलले गठबन्धनको आवश्यकता, औचित्य र निर्वाचनपछिका योजना समेटेर साझा अवधारणा बनाउने जिम्मा पनि पाएको छ । शुक्रबार कार्यदलका तर्फबाट ब्रिफिङ सुनेपछि शीर्ष नेताले थप गृहकार्यसहित तालमेल र आधार टुंग्याउन तथा साझा अवधारणाको प्रस्ताव बनाउन जिम्मा दिएका हुन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार शीर्ष नेता र कार्यदल सदस्यहरूबीच भएको छलफलमा संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्मको कार्यसम्पादनबारे जानकारी गराएका थिए । कार्यदल सदस्यहरूले पनि आ–आफ्नो धारणा राखेका थिए । लगत्तै शीर्ष नेताले गठबन्धनको औचित्यताबारे साझा धारणा बनाउन निर्देश गरेका थिए । कार्यदलले बनाएको साझा धारणालाई शीर्ष नेताको वक्तव्यका रूपमा जारी गर्ने तयारी छ । 

एकीकृत समाजवादीबाट कार्यदल सदस्य प्रमेश हमालले कार्यदलले हालसम्मको कार्यप्रगति ‘ब्रिफिङ’ गरेको र शीर्ष नेताले साझा अवधारणा बनाउन कार्यदललाई जिम्मा दिएको बताए । ‘बैठकमा कार्यदलका कामबारे सामान्य छलफल भएको छ । शीर्ष तहबाट साझा अवधारणा बनाउन निर्देशन आएको छ । साझा अवधारणामा गठबन्धनको आवश्यकता, औचित्यता तथा निर्वाचनपछिका साझा कार्यक्रम पनि समेटिनेछ,’ हमालले नयाँ पत्रिकासँग भने, ‘यो अवधारणा वक्तव्यको रूपमा पनि आउन सक्छ । गठबन्धनको साझा कार्यक्रम यसमा समेटिनेछ । यसअघि पनि हामीले न्यूनतम साझा कार्यक्रम ल्याएका थियौँ ।’ 

कार्यदल सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भेटमा नेताले कार्यदललाई छिट्टै काम सक्न निर्देशन दिएका छन् । ‘हामीले गरेको छलफल र तयार पारेका आधारबारेको सम्पूर्ण विवरण नेतृत्वलाई जानकारी गरायौँ,’ उनले भने, ‘शीर्ष नेतृत्वबाट चाँडै काम सक्न कार्यदललाई निर्देशन भएको छ । साथै साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई दिइएको छ ।’ कार्कीले कार्यदलको बैठक छिट्टै बस्ने र प्रदेश एवं प्रतिनिधिसभा दुवैको सिट बाँडफाँडको एकै समय टुंगो लाग्ने बताए । 

जसपाबाट कार्यदल सदस्य रहेका रामसहायप्रसाद यादवले साझा अवधारणा कहिलेसम्म तयार गर्नेबारे समयावधि नतोकिएको जानकारी दिए । ‘साझा अवधारणा बनाउने भन्ने छ । तर, यही समयभित्र भन्ने तोकिएका छैन । कार्यदल बैठक बसेपछि यसबारे छिट्टै टुंगो लाग्नेछ,’ उनले भने । 

चुनावी तालमेलका लागि सिट बाँडफाँड टुंग्याउन पाँच दलले २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलमा कांग्रेसबाट तीन र अन्य चार दलबाट दुई–दुईजना छन् । कांग्रेसबाट सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् । 

कार्यदललाई सुरुमा साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहितको सुझाव पेस गर्ने जिम्मेवारी दिइएको थियो । तर, आधार र मापदण्डमा सहमति जुट्न नसकेपछि कार्यदलले काम सकेको छैन । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सय ६५ र प्रदेश सभामा तीन सय ३० सिट छन् । सबै क्षेत्रमा तालमेल गर्ने पाँच दलको योजना छ । 
 

See More On

सुझावित समाचार