विद्युत् प्राधिकरणको गम्भीर लापरबाहीले ज्यान गयो

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

विद्युत् प्राधिकरणको गम्भीर लापरबाहीको कारण रामेछापमा एकजनाको ज्यान गएको छ । जमिनमा लत्रिएको अवस्थाको तारमा पनि करेन्ट प्रवाह भइरहँदा एकजनाले ज्यान गुमाएका हुन् । 

मन्थली नगरपालिका– ७ भटौलीका ५५ वर्षीय बिजुले माझी आइतबार जंगलमा गाईवस्तु चराउन गएका थिए । उनी हिँड्दै गर्दा जमिनमा लत्रिएको तारमा अल्झिन पुगे । तर, सो तारमा अत्यधिक करेन्ट प्रवाह भइरहेकाले उनको घटनास्थलमै ज्यान गयो । 

स्थानीयले नेपाल विद्युत् प्राधिकरणको रामेछाप वितरण शाखाले विद्युतीकरण गरेको तार जमिनमा लत्रिएको अवस्थामा रहेको र सो तारमा करेन्ट प्रवाह भइरहेकाले बिजुले माझीले अकालमै ज्यान गुमाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

घटनापछि मृतकका आफन्त र स्थानीयले शव उठाउन दिएका थिएनन् । सोमबार बिहान आफन्त, प्राधिकरणका कर्मचारी र प्रहरीबीच सहमतिका लागि वार्ता भएको थियो । वार्तामा मृतक माझीका बालबच्चाको पठनपाठन र रोजगारीका लागि प्राधिकरणले सहयोग गर्ने तथा मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्तिसहित क्रिया खर्चबापत २५ हजार रुपैयाँ थप दिने भएपछि सहमति जुटेको थियो ।

त्यसपछि शव पोस्टमार्टमका लागि मन्थली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए । 

सुझावित समाचार