बजेट खाने गौशाला !

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण

दाङको दंगीशरण गाउँपालिका– ६ चिसापानीमा ०७५ सालमा गौशाला सञ्चालनमा ल्याइयो । वडाको पहलमा उक्त गौशाला सञ्चालनमा ल्याए पनि त्यो गौशाला अहिले बजेट खन्याउने र पैसा कुम्ल्याउने माध्यम बनेको छ ।

अहिलेसम्म करिब ३५ लाख बजेट त्यहाँ खन्याइएको छ । तर, त्यहाँ गाईका लागि एउटा खुला टहरा निर्माण गरिएको छ भने एउटा हेरालु बस्ने घर र एउटा शौचालयभन्दा अरू संरचना बन्न सकेका छैनन् । अहिलेसम्म त्यहाँ २० लाखसम्म बजेट आएको छ। तर, गाईले उचित संरक्षण पाउन सकेका छैनन । गएको वर्ष तीन सय गाई दाम्लोमै मरेका थिए । 

ती सबै गाई मरेपछि केही ठाउँबाट नयाँ गाई ल्याएर नयाँ बजेट ल्याउने काम भयो । त्यहाँ अहिले ३५ वटा गाई भएको तथ्यांक रहे पनि गौशालामा भने २९ वटा गाई मात्रै छन् । ‘३५ वटा गाई छन् भनिन्छ,’ स्थानीय तारा केसीले भने, ‘तर, गन्दा २९ वटा मात्रै गाई छन्, बाँकी गाईहरू छाडा रूपमा छोडिएको हुन्छ ।’ गाई छाडा छोड्दा आसपासको बाली खाएर नष्ट पार्ने गरेको छ । त्यहाँ एकजना गाई हेरालु पनि राखिएको छ । तर, उनले पनि राम्रोसँग गाई नहेर्ने गरेको स्थानीयहरूले गुनासो गर्दै आएका छन्  । 

पटक–पटक बजेट आएको भए पनि त्यो बजेट कहाँ जान्छ, कसैलाई पत्तो छैन । गाईको गोबर, गहुँत पनि बिक्री हुने गर्छ, त्यसको लेखाजोखा पनि केही छैन । प्रतिकेजी पाँच रुपैयाँका दरले गोबर बिक्री हुने गरेको छ । आम्दानी खर्चको कुनै हिसाबकिताब नभएको गौशाला संरक्षण समितिका पूर्वअध्यक्ष थमनबहादुर भण्डारीले बताए । ‘पटक–पटक धेरै बजेट आएको छ, यहाँ गोबर पनि निकै थियो, त्यो गोबर पनि कहाँ बिक्री भयो, भन्ने कुरा कुनै लेखाजोखा भएको छैन, ’उनले भने, ‘ यसलाई कमाइखाने भाँडो बनाइएको छ ।’ 

गाई दिँदा स्थानीयले वर्षमा आफूहरूले त्यसको लागि शुल्क दिने पनि प्रतिबद्धता जनाएका थिए । तर, उनीहरूले दिएका गाई दुई–तीन महिनाभन्दा बढी बाँचेनन् । त्यसपछि स्थानीय पनि उक्त गौशालाप्रति रुष्ट हुँदै आएका छन् । अहिलेसम्मको तथ्यांक हेर्दा प्रदेश, गाउँपालिका र वडाबाट गरी ३४ लाख ५५ हजार बजेट गएको देखिन्छ । त्यो बजेट सबै गाईको आहाराका लागि भनेर छुट्याइएको हो । तर, त्यो बजेट आहारामा खर्च नभएको भन्ने कुरा त्यहाँ राखिएका गाईबाट प्रस्ट हुने उनले बताए ।  

See More On

सुझावित समाचार