माली शान्ति मिसनमा खटिँदै सशस्त्र प्रहरी

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

सशस्त्रको फर्म्ड पुलिस युनिट माली खटाउन तयारी गर्न संयुक्त राष्ट्रसंघको पत्राचार

सशस्त्र प्रहरीको टोली द्वन्द्वग्रस्त अफ्रिकी देश मालीमा शान्ति स्थापनार्थ खटिने भएको छ । संयुक्त राष्ट्रसंघले सशस्त्रको एक फर्म्ड पुलिस युनिट (एफपियू) मालीमा खटाउने निर्णय गरी तयारी गर्न पत्राचार गरेको छ । 

राष्ट्रसंघले मालीको किदाल क्षेत्रमा सशस्त्रको एफपियू खटाउने निर्णय गरेको सशस्त्र प्रहरीले जनाएको छ । सन् २०२३ को जनवरीदेखि कार्यक्षेत्रमा खटिने गरी तयारी गर्न राष्ट्रसंघले पत्राचार गरेसँगै सशस्त्रले आफ्नोतर्फबाट गर्नुपर्ने प्रक्रिया अघि बढाएको छ । 

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले माली मिसनमा एक सय ४० जनाको एफपियू खटाउने तयारी सुरु भएको बताए । ‘राष्ट्रसंघबाट पत्र आएसँगै हामीले आफ्नो तयारी थालेका छौँ,’ उनले भने, ‘तोकेकै अवधिमा टोली पठाउने हाम्रो योजना छ ।’ 

राष्ट्रसंघले दिएको समयतालिकाअनुसार सेप्टेम्बर पहिलो साता सशस्त्रको टोली एफपियू रहने क्षेत्रको तयारी भ्रमणमा जानेछ । अक्टोबरमा राष्ट्रसंघको टोली निरीक्षणका लागि नेपाल आउनेछ । निरीक्षणमा बन्दोबस्तीका सामान तथा मिसनमा खटिनेको पूर्ण तयारी गरेको पाइए सशस्त्रको टोली माली खटिनेछ । मिसनमा खटिने टोलीको छनोट र तालिम तथा बन्दोबस्तीका सामान खरिदका लागि सशस्त्रले तयारी थालिसकेको छ । 

सुरक्षा निकायका एफपियू मिसनका लागि आवश्यक एपिसी, एमपिभीलगायत बन्दोबस्तीका सामान खरिदमा सधैँ बिचौलियाको चलखेल हुँदै आएको छ । सशस्त्रमा पनि यसअघिको खरिद विवादमा परेपछि उसले सीधै सेनासँग खरिद गरेको थियो । यसपटक पनि सशस्त्रले खरिद विवादमा नपर्न सकेसम्म जिटुजी प्रक्रियाबाट किन्ने नत्र सेनाबाट खरिद गर्नेबारे तयारी गरेको स्रोत बताउँछ । सेनाले सशस्त्रलाई हतियार तथा एफपियूका लागि आवश्यक सामानमा सहयोग गर्दै आएको छ । सशस्त्रलाई खटाउन लागिएको मालीको उत्तरी क्षेत्र किदाल सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण ठाउँ मानिन्छ, जहाँ पटक–पटक विद्रोहीबाट शान्ति सैनिकमाथि समेत आक्रमण भएको छ । त्यस्तो ठाउँमा खटिन अन्यत्रभन्दा धेरै बन्दोबस्तीका सामान आवश्यक हुने सशस्त्र प्रहरी अधिकारी बताउँछन् । 

नयाँ शान्ति मिसनका लागि भनेर सशस्त्र प्रहरी बलले पाँच वर्षअघि नै करिब ३० करोडमा आवश्यक बन्दोबस्तीका सामान खरिद गरेको थियो । चारवटा बख्तरबन्द गाडी (एपिसी), जेनेरेटरलगायत सामान लामो समयसम्म प्रयोगविहीन अवस्थामा छन् । सशस्त्र प्रहरी कल्याणकारी कोषमार्फत ०७४ मा ती सामान खरिद गरिएका थिए । त्यतिवेला राष्ट्रसंघले नयाँ फर्म्ड पुलिस युनिट (एफपियू) मिसन थप्ने निश्चित नै भएको थिएन । यसरी किनिएका कतिपय सामान बिग्रिसकेका छन् । 

त्यतिवेलाको खरिद पनि विवादमा परेको थियो । सुरुमा ठेक्का प्रक्रियामार्फत एपिसी खरिद अघि बढाइएको थियो । कमिसनको चलखेलले विवाद भएपछि त्यसलाई रद्द गरेर सेनासँग सीधै खरिद गरिएको थियो । ती सामान अब माली मिसनमा प्रयोग हुने भएका छन् । तर, ती सामानले मात्रै नपुग्ने भएकाले एमपिभीलगायतका सामान खरिद गर्नुपर्ने अवस्था छ । 

केही वर्षअघि अफ्रिकी देश दक्षिण सुडानमा सशस्त्र प्रहरीका तीन एफपियू मिसन रहेकोमा अहिले एउटा मात्र छ । सशस्त्रको पहिलो एफपियू सन् २००२ मा लाइबेरियामा खटिएको थियो, जुन आठ वर्षअघि नै बन्द भइसकेको छ । नयाँ मिसन थपिएसँगै शान्ति मिसनमा जाने अवसर बढ्ने र त्यसले कर्मचारीमा प्रोत्साहन बढ्ने सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । शान्ति मिसनमा नेपाली सुरक्षा अधिकारीले अन्य देशको भन्दा कुशलताका साथ जिम्मेवारी निर्वाह गर्दै आएकाले छवि उच्च छ । राष्ट्रसंघीय शान्ति मिसनमा जनशक्ति परिचालनमा नेपाल बंगलादेशपछि दोस्रो स्थानमा छ । नेपाली सेनाबाट मात्र हाल विभिन्न १२ मिसनमा करिब साढे पाँच हजार कर्मचारी कार्यरत छन् । त्यस्तै, सशस्त्र प्रहरीबाट एक सय ९० र नेपाल प्रहरीबाट ४३ जना कार्यरत छन् । 

साइप्रस मिसनमा पहिलोपटक नेपाल प्रहरी 
युरोपियन देश साइप्रसमा पहिलोपटक नेपाल प्रहरीबाट राष्ट्रसंघीय शान्ति मिसनमा सहभागिता भएको छ । प्रहरीका नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारी साइप्रस मिसनमा जाने पहिलो प्रहरी अधिकृत हुन् । उनी मिसनमा प्लानिङ अफिसरका रूपमा कार्यरत छन् । नेपाली सेनाबाट भने यसअघि फोर्स कमान्डरकै रूपमा नेपालबाट खटिएका थिए । जर्नेल भिक्ट्री राणाले साइप्रसमा फोर्स कमान्डरका रूपमा काम गरेका थिए ।

प्रहरीको मिसनमा ९१ प्रतिशत महिला 
नेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला छन् । कंगोमा पनि ६ जना महिला खटिएका छन् । लिबियामा हालै एसपी गंगा पन्त खटिएकी छिन् । सुडान र दक्षिण सुडानको बीचमा पर्ने विवादास्पद भूमि आबेईमा एक महिला र एक पुरुष प्रहरी अधिकृत खटिएका छन् । 

शान्ति मिसनमा राष्ट्रसंघले महिला प्रहरीलाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ । त्यहीअनुसार प्रहरीले पनि अवसर दिँदै आइएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । महिला अधिकृतले शान्ति मिसनमा अब्बल काम गर्दै आएको उनको भनाइ छ । विश्वभरिबाट प्रतिस्पर्धा हुने प्रोफेसनल तहको पदमा नेपालबाट हाल एक एसपी र एक डिएसपी कार्यरत छन् । एसपी अमरेन्द्र सिंह राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा तथा डिएसपी किरणजंग कुँवर सुडानमा कार्यरत छन् । नेपाल प्रहरीको सबै एफपियू मिसन बन्द भइसकेका छन् । हाल इन्डिभिजुअल पोलिस अफिसर (आइपिओ)का रूपमा नेपाल प्रहरीका अधिकारीहरू सुडान, दक्षिण सुडान, कंगो, लिबिया र साइप्रसलगायत देशमा खटिएका छन् । 

सुझावित समाचार