मुहानमा बर्खे भेल र ढल मिसिँदा उपत्यकामा जताततै पिउने पानी प्रदूषित

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

पानी शुद्धीकरण नभए थप हैजा र झाडापखाला फैलन सक्ने डर, उमालेको पानी पिउन आग्रह 

काठमाडौं उपत्यकामा दुई सयभन्दा बढी स्थानमा स्वास्थ्य कार्यालय काठमाडौं र ललितपुरद्वारा पानीको शुद्धता मापन क्लोरिन प्रयोग गर्न कन्जुस्याइँ गर्दा हैजा फैलने डर

काडमाडौं उपत्यकामा वितरण हुने खानेपानीका सबैजसो मुहान तथा स्रोतमा हैजा तथा झाडापखालाजन्य जीवाणु भेटिएको छ । ललितपुरको गोदावरी, भैँसेपाटी र काठमाडौंको सुन्दरीजल, बुढानीलकण्ठलगायत क्षेत्रका खानेपानीका मुहानमा समेत त्यस्ता जीवाणु भेटिएको हो । 

यसबाहेक इनार, खोला, ढुंगेधारा, केयुकेएललगायतको पानीमा पनि कोलिफर्म तथा हैजाजन्य जीवाणु फेला परेको छ । पछिल्लो साता स्वास्थ्य कार्यालय ललितपुर र काठमाडौंले खानेपानीको मुहानलाई नै लक्षित गरेर पानीको शुद्धता परीक्षण गरेका थिए । तर सबैजसोमा दोहोर्‍याएर परीक्षण गर्दा पनि हैजाजन्य जीवाणु भेटिएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी बढ्न सक्ने देखिएको छ । उपत्यकामा वितरण हुने सबैजसो खानेपानीका मुहान तथा स्रोतमा हैजा तथा झाडापखालाजन्य जीवाणु (फिकल इकोलाई) भेटिएसँगै हैजा तथा झाडापखालाले ठूलो रूप लिन सक्ने बताइएको हो । हालसम्म काठमाडौंमा १६ र ललितपुरमा दुईजनामा हैजा देखिएको छ । 

वसन्त अधिकारी, प्रमुख, स्वास्थ्य कार्यालय काठमाडौं
वर्षात्को पानी खानेपानीका स्रोतमा मिसिन्छ, त्यसकारण पनि खानेपानीका स्रोत फोहोर र प्रदूषित बन्छन् । सबैजसो खानेपानीका स्रोतमा ढल तथा भलको पानी छिर्छ । हामीले केयुकेएल र खानेपानी सप्लायर्स कम्पनीहरूलाई पानी शुद्धीकरणमा ध्यान दिन भनेका छौँ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार हालसम्म उपत्यकाका दुई सय ६० भन्दा बढी स्थानमा खानेपानी परीक्षण गर्दा हैजाजन्य जीवाणु भेटिएको छ । हाल उपत्यकामा वितरण गरिने खानेपानीका सबैजसो मुहानमा कोलिफर्म भेटिएको छ । मुहान र खानेपानीका स्रोतहरूमा ढल तथा बर्खे भलको पानी मिसिएका कारण प्रदूषित बनेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार बर्खाको वेला सबैजसो खानेपानीका स्रोतमा ढल तथा भलको पानी छिर्छ, जसकारण खानेपानीको मुहानसमेत प्रदूषित बन्ने गर्छ । ‘वर्षात्को पानी खानेपानीका स्रोतमा मिसिन्छ, त्यसकारण पनि खानेपानीका स्रोत फोहोर र प्रदूषित बन्छन्,’ उनले भने, ‘हामीले केयुकेएल र खानेपानी सप्लायर्स कम्पनीहरूलाई पानी शुद्धीकरणमा ध्यान दिन भनेका छौँ ।’ 

स्वास्थ्य कार्यालय काठमाडौंले कागेश्वरी–मनोहरा क्षेत्रमा पानीको नमुना परीक्षण गर्दा सबैतिर कोलिफर्म भेटिएको जानकारी दिएको छ । हालसम्म त्यस क्षेत्रका आठजनामा हैजा भेटिएको छ । खानेपानीकै कारण हैजा फैलने भएपछि जारको पानी उमालेर मात्रै पिउन स्वास्थ्य कार्यालयले स्थानीयलाई आग्रह गरेको छ । त्यस क्षेत्रमा वितरण हुने जारको पानीको यसअघि परीक्षण गर्दा कोलिफर्म भेटिए पनि अहिले भने जारको पानी शुद्धीकरण भएको छ । तर, अन्य इनार, बोरिङ तथा केयुकेएलले वितरण गर्ने पानीमा कोलिफर्म भेटिएको छ । 

कहाँ–कहाँ गरियो पानी परीक्षण ?
हाल काठमाडौं उपत्यकामा दुई सयभन्दा बढी स्थानमा स्वास्थ्य कार्यालय काठमाडौं र ललितपुरले पानीको शुद्धता मापन गरेका छन् । त्यसमध्ये टेकु, बालाजु, चन्द्रागिरी, बुढानीलकण्ठ, बागबजार, सुन्धारा, चाबहिल, गौशाला, नयाँ बानेश्वर, शंखमूल, कलंकी, ललितपुरको महालक्ष्मी, गोदावरीलगायत क्षेत्रमा कोलिफर्म भेटिएको छ । त्यहाँका स्थानीयलाई जारको पानी पिउन र सतर्क रहन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । त्यस क्षेत्रमा केही दिनमा पुनः पानी परीक्षण गरेपछि मात्रै पिउने प्रयोजनमा प्रयोग गर्न सूचना जारी गरिनेछ ।

क्लोरिन प्रयोग गर्न कन्जुस्याइँ गर्दा हैजा फैलने डर
स्वास्थ्य कार्यालय काठमाडौंले पहिलो चरणमा असारको पहिलो साता काठमाडौं उपत्यकामा वितरण गरिने पानीको शुद्धताबारे नमुना परीक्षण गर्‍यो । त्यतिवेला काठमाडौंको बागबजार, टेकु, चाबहिल, ललितपुरको बंगलामुखीलगायत क्षेत्रको पानीमा कोलिफर्म भेटियो । त्यसलगत्तै स्वास्थ्य कार्यालय ललितपुर र काठमाडौंले संयुक्त रूपमा केयुकेएल र निजी पानी वितरण कम्पनीलाई पानी प्रशोधनमा ध्यान दिन निर्देशन दिए । तर, स्वास्थ्य कार्यालयले पानीको शुद्धता जाँच गरेर कोलिफर्म भेटिएको जानकारी गराए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र अन्य केही निजी पानी वितरण कम्पनीले पानी प्रशोधनमा चासो नदिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले पनि पानीमा कोलिफर्मको मात्रा भेटिएपछि पानी शुद्धीकरण गर्न प्रयोग गरिने क्लोरिन पाउडरको मात्रा बढाउन निर्देशन दिएको थियो । तर, एकैठाउँमा दोहोर्‍याएर जाँच गर्दा कोलिफर्म भेटिएपछि क्लोरिनको मात्रा बढाउन आग्रह गरिए पनि त्यसबारे निजी खानेपानी वितरण कम्पनी र केयुकेएलले चासो नदिएको स्वास्थ्य कार्यालय ललितपुरका महामारी रोकथाम शाखा प्रमुख गीता आचार्यले बताइन् । 

उनका अनुसार ललितपुरका दुईजनामा हैजा देखिएको छ । त्यसपछि दुईपटक खानेपानीको मुहान र केयुकेएलले पानी वितरण गर्ने ट्यांकीमा परीक्षण गर्दा पुनः कोलिफर्म भेटिएको छ । ‘हामीले पानीको नमुना परीक्षण गरिरहेका छौँ, हामीसँग पानी शुद्धीकरण गर्ने यन्त्र र क्लोरिन पनि छैन,’ उनले भनिन्, ‘पानी शुद्ध पार्ने काम सम्बन्धित निकायमै हो, तर उहाँहरूले त्यति ध्यान नदिएझैँ देखिएको छ ।’ 

उनका अनुसार ललितपुरमा केयुकेएल र अन्य स्रोतबाट वितरण गरिने पानीमा कोलिफर्म भेटिएको छ । गोदावरी क्षेत्र, इमाडोल, सानागाउँ, बंगलामुखी, जावलाखेल, भैँसीपाटी, पुल्चोकलगायत क्षेत्रमा वितरण हुने खानेपानीमा कोलिफर्र्म देखिएको छ ।

एक महिनामा ३० जनामा हैजा 

असारको पहिलो सातादेखि काठमाडौं उपत्यकामा फैलिएको हैजाबाट एक महिनामै ३० जना प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धा पनि प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ जना १५ वर्षमुनिका बालबालिका र एकजना ६५ वर्षमाथिका वृद्धमा पनि हैजा पुष्टि भएको छ । त्यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका नौजना, २५ देखि ३४ वर्षका चार जना, ३५ देखि ४४ वर्षका तीनजना, ४५ देखि ५४ वर्ष उमेर समूहका तीन र ५५ देखि ६४ वर्ष उमेर समूहका चारजना हैजाबाट प्रभावित भएका छन् । काठमाडौं उपत्यकामा २ असारमा हैजाको पहिलो बिरामी देखिएका थिए । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर झाडापखालाको समस्या लिएर अस्पताल पुग्ने दर बढे पनि काठमाडौं उपत्यकाबाहिर भने अहिलेसम्म हैजा पुष्टि भएको छैन । तर, अत्यधिक वर्षा र अधिकांश स्थानमा खानेपानीका स्रोतमा ढल मिसिएर आउने भएकाले हैजाको उच्च जोखिम रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । उनले भने, ‘झाडापखालाका केसहरू बढ्नुको मुख्य कारण हैजा पनि हो । अहिले देशभरि नै झाडापखालाका केसहरू बढेका छन् । तर, काठमाडौं उपत्यकाबाहिरबाट अहिलेसम्म हैजा पुष्टि भने भएको छैन ।’

See More On

सुझावित समाचार