मेयरका लागि किनिएको गाडी स्वास्थ्य संस्थालाई हस्तान्तरण

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

निर्वाचित भएदेखि नै निजी गाडी प्रयोग गर्दै आएका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउने सरकारी गाडी नगरका वडाहरूमा विशेषज्ञ क्लिनिक सञ्चालनका लागि प्रदान गरेका छन् । वडामा क्लिनिक चलाउन सहज होस् भनेर उनले मेयरको सरकारी गाडी उपमहानगरको स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका हुन् ।

उक्त गाडी नगरका १९ वटै वडामा हरेक महिना विशेषज्ञ क्लिनिक सञ्चालनमा प्रयोग गरिने हमालले बताएका छन् । नगरका सबै वडामा प्रत्येक महिनामा एक दिन दुईजना विशेषज्ञ डाक्टरसहित क्लिनिक सञ्चालन गर्ने घोषणा उनले यसअघि गरेका थिए । आगामी १ साउनबाट सञ्चालन हुने क्लिनिकमा अल्ट्रासाउन्ड, इसिजी र रगत जाँच निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ । 

आफूले उपमहानगरबाट पाउने सरकारी गाडी नचढ्ने र तलब, भत्तालगायत कुनै सुविधा नलिने घोषणा गरेका हमालले विपन्नलाई घरदैलोमै स्वास्थ्य उपचार सुविधा दिन नियमित रूपमा वडा क्लिनिक सञ्चालन गर्न लागिएको बताए । ग्रामीण क्षेत्रका विपन्न नागरिकले आर्थिक अभावका कारण उपचार नपाउने अवस्था आफूले देखेको बताउँदै हमालले नगरवासी उपचारबाट कोही वञ्चित नहोऊन् भनेर वडामै गएर सेवा दिइने जानकारी दिए । ‘विपन्नले कुखुरा बेचेर उपचार गराउनुपर्ने बाध्यता छ । 

कतिपय घरमा कुखुरा भएन भने उपचार नपाउने अवस्था छ,’ उनले भने, ‘विपन्न नागरिक उपचार सुविधाबाट वञ्चित नहोऊन् भनेर क्लिनिक सञ्चालन गर्न लागेका हौँ ।’ क्लिनिकमा एकजना फिजिसियन र एकजना प्रसूतिरोग विशेषज्ञ डाक्टरले सेवा दिने उनले जानकारी दिए । क्लिनिकका लागि दुईजना चिकित्सकको सेवा–सुविधा धनगढीस्थित भाटभटेनी सुपरमार्केटले पाँच वर्षसम्म व्यहोर्नेछ । 

अल्ट्रासाउन्डलगायत केही उपकरण प्रदेशको सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको उपमहानगरले जनाएको छ । क्लिनिकमा निःशुल्क रूपमा औषधि वितरणका लागि विभिन्न संघसंस्थासँग समन्वय भइरहेको मेयर हमालले बताए । ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ अभियानअन्तर्गत विभिन्न व्यक्ति र संघसंस्थालाई क्लिनिक सञ्चालनमा सहयोग गर्नसमेत उपमहानगरले आग्रह गरेको छ ।

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख कृष्णबहादुर बोहराले क्लिनिक सञ्चालनको कार्यतालिका तयार पारिएको जानकारी दिए । बहुसंख्यक वडावासीलाई पायक पर्ने स्थानमा तोकिएको दिनमा प्रत्येक महिना क्लिनिक सञ्चालन हुने उनले बताए ।

उपमहानगरबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हमालले गत वैशाख महिनाको तलब सुविधा धनगढीको गौशालालाई हस्तान्तरण गरेका छन् । क्लिनिकमा प्रयोग गरिने गाडी तत्कालीन मेयर नृपबहादुर वडका लागि उपमहानगरले गत वर्ष खरिद गरेको थियो ।

सुझावित समाचार