पर्सामा पछिल्लो समय बलात्कारसम्बन्धी घटना उजागर हुने क्रम बढेको पाइएको छ। प्रहरीको तथ्यांकअनुसार प्रत्येक महिना ३ देखि ५ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी पर्सा प्रहरीमा दर्ता हुँदै आएका छन्।
मंगलबार वीरगन्जमा सम्यक सञ्चार प्रालिको आयोजना र जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्यमा सम्पन्न भएको बलात्कारविरुद्धको सचेतना कार्यक्रममा बलात्कारसम्बन्धी तथ्य जानकारी गराइएको हो।
पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले पर्सामा पछिल्लो समयमा प्रहरीमा बलात्कारसम्बन्धी घटनामा उजुरी गर्नेहरूको संख्या बढ्दै गएको बताए। उनले नेपालको संविधान र कानुनले दिएका अधिकारअनुसार नै प्रहरी यो घटनामा गम्भीर भएको बताए।