स्वास्थ्य क्षेत्रको समस्या समाधानमा दायित्व नभुल्न कर्मचारीलाई स्वास्थ्य राज्यमन्त्रीको निर्देशन

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको समस्या समाधानमा दायित्वलाई नबिर्सिन कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागद्वारा मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री केसीले यस्तो बताएका हुन् । 

उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘थप बजेट आवश्यक परे पहल गर्छौँ । विभागको स्तरोन्नतिका लागि के गर्नुपर्छ योजना बनाउनुस् । मन्त्रालयको सदैव सकारात्मक सहयोग रहन्छ । तर, आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुस् ।’

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयमातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सबलीकरणका लागि योजना बनाउनुपर्ने बताए। ‘तपाईंहरूले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिले पनि नागरिकहरू स्वास्थ्य सेवा सहज तरिकाले नपाएर भौँतारिनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो,’ उनले भने।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले विभागअन्तर्गतका मुख्य–मुख्य कार्यक्रमबारे जानकारी गराएका थिए ।

सुझावित समाचार