सामूहिक बलात्कारमा परेकी बालिकाको झुन्डिएको अवस्थामा शव भेटियो

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

सामूहिक बलात्कारको सिकार बनेकी एक बालिकाको झुन्डिएको अवस्थामा शव भेटिएको छ। सिराहाको मिर्चैया नगरपालिका– १ मलहनियाकी करिब १५ वर्षीया पवित्री सदाको शव मंंगलबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो अभिभावकहरू घरमा नभएको अवस्थामा दुई युवकले फकाएर घरनजिकैको बारीमा लगेर बलात्कार गरेकाे साँझ बालिकाले रुँदै सुनाएकी थिइन्। छिमेकीका अनुसार किशोरीले स्थानीय सतिश रजक र नाम नखुलेका अर्का युवकले बलात्कार गरेको सुनाएकी थिइन्। तर, मंगलबार बिहान उनको शव झुन्डिएको अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको जानकारी दिएका छन्। घटना शंकास्पद रहेकाले पोस्टमार्टमाको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिप्रसाद ओलीको भनाइ छ।

प्रहरी नायव उपरीक्षक ओलीका अनुसार प्रहरीले मृतक बालिकाको परिवार र छिमेकीहरूले दिएको सूचनाको आधारमा आरोपितहरूको खोजीसहित घटनाको अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार