भुजुङ–भोर्लेटार सबस्टेसन प्रसारण लाइन निर्माण हुने

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

लमजुङको क्व्होलासोथार गाउँपालिका (साबिकको भुजुङ गाविस)को वडा नम्बर ४ मा अवस्थित माथिल्लो मिदिम जलविद्युत् आयोजनाको स्विचार्टदेखि मध्यनेपाल नगरपालिका–६ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनसम्म सिंगल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ । 

७ दशमलव ५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक भुजुङ हाइड्रोपावरले २६.१३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको हो । कम्पनीले आयोजनाको विद्युत् प्रवाह गर्न ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरबारे सम्बन्धित सरोकारवालासँग राय–सुझाव मागेको छ । प्रसारण लाइनमा पाँच सय पाँचवटा पोल हुनेछ । जमिनको सतहबाट पोलको औसत उचाइ १० मिटर तथा पोलहरूको दूरी २०.९ देखि ३७३.८६ मिटर हुनेछ । 

आयोजना निर्माणका लागि कुल १८.१५९ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ०.४५५ हेक्टर पोल जग तथा स्टे–वाइरका लागि, १७.१०४ हेक्टर जग्गा विद्युत्मार्गको आधिकारिक क्षेत्रका लागि र ०.६ हेक्टर आयोजनाको सहायक सुविधाका लागि प्रयोग गरिनेछ । लाइनको निर्माण आठ महिनाभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ । 

सुझावित समाचार