फोहोर नउठ्दा झाडापखालाका बिरामी बढे

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण
फोहोर नउठ्दा झाडापखालाका बिरामी बढे

काठमाडौंको कालोपुलमा थुपारिएको फोहोर । टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पतालमा बुधबार ३० जना बिरामी भर्ना भएकोमा आठजना झाडापखालाका छन् । ‘अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन्,’ उनले भने ।

दैनिक १० जना झाडापखालाका बिरामी अस्पताल भर्ना

दुई साताभन्दा बढी समयदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठ्न नसक्दा झाडापखालाका बिरामी बढेका छन् । बर्खाको समयमा सडकपेटीमा जम्मा भएको फोहोर बिग्रिएर दूषित हुँदा झाडापखालाको प्रकोप सुरु भएको छ । सरुवा रोग अस्पताल टेकुका अनुसार दैनिक औसतमा १० जना झाडापखालाका बिरामी अस्पताल पुग्ने गरेका छन् । 

अस्पतालका सूचना अधिकारी नवराज गौतमले दिनप्रतिदिन बिरामी बढ्न थालेको जानकारी दिए । अहिले अस्पतालमा उपचार गर्न भर्ना भएका बिरामीमध्ये अधिकांश झाडापखाला र सर्पले टोकेका भएको उनले बताए । ‘अघिल्ला तीन वर्ष कोरोनाले गर्दा झाडापखालाका बिरामी हेरिएको थिएन । तर, यस वर्ष जेठमै केस ह्वात्तै बढेको छ । अस्पतालको रेकर्डअनुसार जेठमा ८४ जना सर्पले टोकेका र १२९ जना झाडापखालाका बिरामी छन्,’ उनले भने । गौतमका अनुसार अस्पतालमा बुधबार ३० जना बिरामी भर्ना भएकोमा आठजना झाडापखालाका छन् । 

राजधानीमा फोहोर थुप्रिएको केही दिनदेखि झाडापखालाका बिरामी बढ्न थालेका हुन् । सरुवा रोगविज्ञ डा. शेरबहादुर पुनका अनुसार झाडापखालाका बिरामी आउने क्रम बढेको छ । ‘सामान्य अवस्थाका बिरामी बहिरंग विभागमा आउँछन्, सिकिस्त आकस्मिक कक्षमै आएका छन्,’ डा. पुनले भने । झाडापखालाको कारण भने परीक्षणबाट पत्ता लाग्न नसकेको चिकित्सकहरूले बताएका छन् । नयाँ प्रकारको झाडापखाला देखिएकाले लक्षणका आधारमा उपचार गरिएको चिकित्सकहरूको भनाइ छ । सडकमा थुप्रिएको फोहोरबाट निरन्तर दूषित पानी बगिरहेको र उक्त पानी फलफूल वा खानेपानीमा मिसिएका कारण यस्तो समस्या आएको हुन सक्ने उनीहरूको अनुमान छ । 

बाँदरमा देखिएको झाडापखालाको ब्याक्टेरिया मानिसमा पनि
नेपालमा भएको अध्ययनले बाँदर र मानिसमा झाडापखाला लगाउने ब्याक्टेरिया एउटै भएको पत्ता लागेको छ । सन् २०१७ देखि २०१९ सम्म नेपालको पशुपति र स्वयम्भूका बाँदरमा गरिएको अध्ययनले मानिस र बाँदरमा झाडापखाला लगाउने ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पुष्टि भएको थियो । उक्त समयमा झाडापखाला लागेर बाँदर बिरामी परेपछि अध्ययन गरिएको थियो, तर त्यसको नतिजाले हालै पूर्णता पाएको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको अनुसन्धानबाट यस्तो पत्ता लागेको हो । 

राजधानीको सिवेक अस्पतालले स्वयम्भूमा घुम्न आएका विदेशी नागरिकमा पनि अनुसन्धान गरेको थियो । झाडापखाला लागेका केही पर्यटकको दिसाको नमुना परीक्षण गर्दा बाँदरमा देखिएको ‘क्याम्पलो ब्याक्टर’ नै पुष्टि भएको थियो । सिएमडिएनले ११० वटा झाडापखाला लागेका बाँदरको नमुना परीक्षण गरेको थियो । झाडापखाला लागेका बाँदरमध्ये ६४ वटामा ‘क्याम्पलो ब्याक्टर’ नामक ब्याक्टेरिया पुष्टि भएको थियो । ‘क्याम्पलो ब्याक्टर’को डिएनए र जिनोमिक्स परीक्षण गर्दा दुईवटा नयाँ ब्याक्टेरिया पत्ता लागेको अनुसन्धानकर्ता वैज्ञानिक डा. दिवेश कर्माचार्यले बताए । एउटाको नामकरण ‘क्यान्दिदा क्याम्पाइलोबाक्टर इन्फान्ट्रस’ गरिएको छ, जुन नेदरल्यान्डमा नेपालभन्दा अगाडि पुष्टि भएको थियो, तर अर्को नयाँ भने विश्वमा पहिलोपटक भएकाले यसको नामकरण गरिसकिएको छैन,’ कर्मचार्यले भने । सन् २०१८ मा बालबालिका र वृद्धमा झाडापखाला लगाउने मुख्य कारण क्याम्पलो ब्याक्टर बनेको थियो । 

‘स्वयम्भू र पशुपतिका बाँदर र मानिसहरूको सम्पर्क निकै नजिक छ । खान दिने र खेलाउने हुँदा यस्तो ब्याक्टेरिया सर्न सक्ने सम्भावना धेरै छ,’ उनले भने । अझ केही हप्तादेखि राजधानीको फोहोर उठेको छैन । यस्ता ब्याक्टेरिया यी फोहोरमा व्यापक हुन सक्ने चिकित्सकहरू बताउँछन् । फोहोरबाट निस्किएको दूषित पानी खानेपानीमा मिसिएर यस्तो ब्याक्टेरिया शरीरमा प्रवेश गरी झाडापखाला लगाउँछ । 

रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले राजधानीको फोहोरले झाडापखालाका बिरामी बढ्न थालेको बताए । अझ अहिले निरन्तर पानी परेकाले फोहोर तितरबितर भएको छ । खानेपानीमा यसको फोहोर मिसिने भएकाले झाडापखालाको प्रकोप बढाएको उनको भनाइ छ । ‘समयमा यसको व्यवस्थापन गर्न नसकेमा हैजाको महामारी निम्त्याउनेछ,’ मरासिनीले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको पूर्वतयारी अझै थालेको छैन । फोहोरले जनस्वास्थ्यमा पार्ने गम्भीर असर र यसबाट जोगिने उपायबारे मन्त्रालय मौन छ । स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले सरकारले कुनै तयारी नगरेको बताए ।
 

See More On

सुझावित समाचार