गुल्मीको रेसुंगा नगरपालिका– १४ की ४८ वर्षीया पुनिकला आचार्यले नागरिकता पाएकी छिन्। गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे र वडाध्यक्ष धनबहादुर पुनसहितको टोलीले आइतबार घरमै पुगेर उनलाई नागरिकता प्रदान गरेका हुन्।
नागरिकता पाउने उमेरले ३२ वर्षपछि आचार्यले नागरिकता पाएकी हुन्। ०६७/६८ सालदेखि बिस्तरामै जिन्दगी काट्दै आएकी उनी बोल्न सक्दिनन्। जन्मजात अशक्त भए पनि उनी ०६८ सालसम्म हिँडडुल भने गर्थिन्। पछि अरू शारीरिक समस्या थपिएपछि बिस्तरामा ढलेकी पुनिकला फेरि उठ्न सकिनन्।
अहिलेसम्म नागरिकता नहुँदा सरकारले दिने सामाजिक सुरक्षाबाट उनी बन्चित थिइन्। ७० वर्षीया आमा ठिमा पुनले उनको हेरचाह गर्दै आएकी छिन्। आमाछोरी मात्रै रहेका यो परिवारमा माइतीले बनाइदिएको ओतबाहेक एक माना फल्ने जमिनसमेत छैन।

विपन्न परिवार, आमाको ढल्कँदो उमेर र छोरीको शारीरिक अशक्तताका कारण उनीहरू निकै समस्यामा परेका थिए। छोरीले नागरिकता पाउने आस मारिसकेकी आमा ठिमाले सिडिओले घरमै पुगेर छोरीलाई नागरिकता दिने सोचेकी पनि थिइनन्। नागरिकता पाएपछि खुसी भएकी पुनले अब आफू मरे पनि छोरीले राज्यबाट सुविधा पाउने बताइन्।
वडाध्यक्ष धनबहादुर पुनले नागरिकमा सरकारप्रतिको आशा र विश्वास थपिएको बताए। ३२ वर्ष शारीरिक अशक्तताबीच अनागरिकजस्तो भएर बाँचेकी पुनिकलालाई बल्ल गणतन्त्रको महसुस भएको उनको बुझाइ छ। उनले प्रजिअ पुन्यविक्रम पौडेलले दिवसमा नामजस्तै काम गरेको प्रतिक्रिया दिए।
प्रजिअ पौडेलले विकट र अशक्तसम्म सरकारको महसुस दिलाउन सकिएकोमा खुसी व्यक्त गरे। पुनिकलालाई घरमै पुगेर नागरिकता दिँदै पौडेलले अझै पनि सरकारको पहुँच र सीमितताका कारण यस्ता समस्या रहेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए।