नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसिएलले हाल सामाजिक सञ्जालमा यौन हिंसामा परेको सार्वजनिक गरेकी एक महिलाको घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । संगठनको काठमाडौं महानगर समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै पीडित महिलामाथि भएको ‘निर्मम शारीरिक तथा मानसिक यातना’प्रति ध्यानकर्षण भएको बताएको छ । साथै उक्त घटनाका दोषीलाई यथाशीघ्र कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही अघि बढाउन प्रहरी प्रशासन तथा सरकारी संयन्त्रहरूलाई संगठनले आग्रह गरेको छ ।
‘दोषीलाई यथाशीघ्र कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही अघि बढाउन हामी सम्पूर्ण प्रहरी प्रशासन र सरकारी संयन्त्रहरूलाई आग्रह गर्दछौँ,’ वाइसिएल काठमाडौं महानगर समितिका संयोजक दिलीप सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
वाइसिएलले घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरामा आई अनुसन्धानलाई सहयोग गर्न दबाबसमेत दिएको छ । यसका साथै पीडित महिलालाई आफ्नो स्वास्थ्यको ख्याल गरी यस लडाइँलाई निष्कर्षमा पुर्याउन पनि पीडित महिलालाई वाइसिएलले आग्रह गरेको छ ।