यसकारण आयोगको काम प्रभावकारी भएन
- आयोगले चलाउँदै आएको दश वर्ष पुरानो सफ्टवेयर (आइइआइएमएस)मा धेरै समस्या छन्, सफ्टवेयर ह्यान्डलका लागि कर्मचारीलाई तालिमको अभाव
- कतिपय ठाउँमा इन्टरनेटको पहुँच राम्रो नभएकाले समयमै सूचना प्रणालीमा विवरण प्रविष्ट गर्ने प्रक्रियामा असर
- दलहरूको आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले पनि आयोगको कार्यसम्पादन प्रभावित
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्–
कतिपय जिल्लामा निर्वाचन अधिकृतको कार्यालय भएको स्थानमा इन्टरनेटको समस्या भएकाले सदरमुकाम आएर सूचना अपडेट गर्नुपर्ने अवस्था छ । त्यसका अलावा हामीले दश वर्ष पुरानो सफ्टवेयरमा काम गर्नुपरेको छ, त्यसमा पनि धेरै समस्या छ । सफ्टवेयर परिवर्तन गर्ने प्रयास निरन्तर गर्दै आएका हौँ, तर यसपालि गर्न सकिएन । अर्को, सफ्टवेयर ह्यान्डलका लागि कर्मचारीलाई दिएको तालिम पनि कम भयो कि भन्ने महसुस भएको छ ।
निर्वाचन आयोगको स्थानीय तहको निर्वाचन कार्यतालिकाअनुसार वैशाख ११ र १२ मा उम्मेदवारी मनोनयन दर्ता थियो । तर, आयोगको प्रणालीमा चार दिनसम्म पनि अर्थात् १६ वैशाख (शुक्रबार)सम्म कुल उम्मेदवारीको अन्तिम विवरण प्रविष्ट भइसकेको थिएन । तथ्यांक हेरफेर भइरहेको थियो ।
यति मात्र होइन, आयोगको कार्यतालिकामा शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको समयसीमा थियो । तर, राति ११ बजेसम्म पनि यकिन रूपमा कति उम्मेदवारी फिर्ता भए भन्ने आयोगसँग विवरण थिएन । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार राति १० बजेसम्म चार हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएको र यसमा घटबढ हुन सक्ने प्रतिक्रिया दिएका थिए ।
शुक्रबार साँझ ७ बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा एक लाख ५३ हजार दुई सय २० उम्मेदवार प्रविष्ट थिए । केन्द्र, प्रदेश र जिल्ला हुँदै सात सय ५३ वटै पालिकामा संयन्त्र बनाएर काम गरेको आयोगको कामकारबाही सुस्त छ ।
आयोग समन्वय कि प्रविधिमा चुक्यो ? निर्वाचन सूचना व्यवस्थापनमा आयोगको ढिलाइ किन ? हामीले निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ र आयोग प्रवक्ता पौडेलसँग जान्न चाह्यौँ । निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख श्रेष्ठले इन्टरनेटको पहुँच र दलहरूको आन्तरिक व्यवस्थापनमा समस्या हुँदा सूचना व्यवस्थापनमा प्रभाव परेको बताए ।
‘निर्वाचन अधिकृतको कार्यालयबाट आउने सबै सूचना ‘आइइआइएमएस’ नामक सूचना प्रणालीमार्फत आयोगमा आउँछ । देशका कतिपय ठाउँमा इन्टरनेटको पहुँच राम्रो नभएकाले समयमै सूचना प्रणालीमा तथ्यांक इन्ट्री गर्ने प्रक्रियामा असर गर्यो । त्यसैले फाइनल अपडेट नआएको हो । त्यो छिट्टै आउँछ, हामीले निरन्तर प्रयास गरिरहेका छौँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘समस्या उम्मेदवारी दर्ता गर्दादेखि नै देखियो । दलहरूको आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले पनि आयोगको व्यवस्थापनमा समस्या भयो । दाबी–विरोधपछि जाँचबुझ गर्दा द्विविधा भएका सबै केस क्लियर भइसकेको छ । दलहरूको आन्तरिक व्यवस्थापनमा देखिएको समस्याले पनि आयोगको व्यवस्थापनमा प्रभाव पारेको हो ।’
आयोग प्रवक्ता पौडेलले इन्टरनेटका समस्या, दश वर्ष पुरानो सफ्टवेयर र योग्य जनशक्तिको अभाव हुँदा समस्या आएको बताए । ‘कतिपय जिल्लामा निर्वाचन अधिकृतको कार्यालय भएको स्थानमा इन्टरनेटको समस्या भएकाले जिल्ला सदरमुकाम आएर सूचना अपडेट गर्नुपर्ने अवस्था छ । त्यसैले प्रमुख समस्याका रूपमा इन्टरनेटको समस्या त छँदै छ,’ प्रवक्ता पौडेलले भने, ‘त्यसका अलावा हाम्रो सफ्टवेयर पनि पुरानो भयो । दश वर्ष पुरानो सफ्टवेयरमा काम गर्नुपरेको छ, त्यसमा पनि धेरै समस्या छ । सफ्टवेयर परिवर्तन गर्ने प्रयास निरन्तर गर्दै आएका हौँ । तर, यसपालि गर्न सकिएन । अर्को, सफ्टवेयर ह्यान्डलका लागि कर्मचारीलाई दिएको तालिम पनि कम भयो कि भन्ने महसुस भएको छ ।’
