विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी

शुक्रबार, १६ बैशाख, २०७९
डिजिटल संस्करण

दुई करोडको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुबईबाट सुन तस्करी भएको छ । बिहीबार करिब दुई करोड मूल्यबराबरको दुई किलो तीन सय ५० ग्राम तस्करीको सुनसहित विमानस्थलका तीन कर्मचारी पक्राउ परेका हुन् । 

दुबईबाट आएको हिमालय एयलाइन्सको शौचालयमा लुकाइएको सुन पास गराउने क्रममा तीन सफाइ कर्मचारी पक्राउ परेका छन् । विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारीद्वय सुमन तामाङ र भीम अवालेलाई प्रहरीले तस्करीको सुनसहित पक्राउ गरेको छ । उनीहरूका सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा पक्राउ गरेको छ । उनीहरूले यसअघिदेखि नै संगठित रूपमा सुन तस्करी गर्दै आएको प्रहरीको आशंका छ । 

तस्करीको सुन उनीहरूले पर्समा लुकाएर विमानस्थलबाट पास गर्ने प्रयास गरेका थिए । सुन तस्करी गर्ने केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको र क–कसको संलग्नता भन्ने खुली नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीम ढकालले बताए । 

दुबईबाट आएका एक यात्रुले सो सुन शौचालयमा राखेका थिए । विमानबाट अन्तिममा झरेका उनले सुन त्यसरी शौचालयमा लुकाएको र विमान सफाइ गर्ने क्रममा कर्मचारीले शौचालयबाट निकालेर आफूसँग राखेको प्रारम्भिक छानबिनमा खुलेको छ । उनीहरू विमानभित्र सफाइपछि आन्तरिक टर्मिनलको गेट हुँदै बाहिरिने क्रममा पक्राउ परेका हुन् । सूचनाका आधारमा नभई उनीहरूको पर्स ठूलो देखेपछि शंका लागेर एक्सरे मेसिनमा राख्दा सुन भएको पत्ता लागेको प्रहरी स्रोत बताउँछ ।

ती सफाइ कर्मचारीलाई नेपाल एयरलाइन्सले सुनगाभा कम्पनीसँग सम्झौता गरी विमानस्थलमा खटाउँदै आएको थियो । यस्ता निजी कम्पनीका कामदारलाई संवेदनशील क्षेत्रमा खटाउने, तर उनीहरूमाथि पर्याप्त सुरक्षा जाँच नहुँदा तस्करीमा पनि संलग्न भएको अनुमान गरिएको छ । विगतमा उनीहरूले सुन तस्करी गरे–नगरेको विषय अनुसन्धानकै क्रममा रहेको एसएसपी ढकाल बताउँछन् । 

विमानस्थलका कर्मचारीको सुन तस्करीमा संलग्नता पटक–पटक खुल्दै आएको छ । गत १२ फागुनमा अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईं सुनसहित पक्राउ परेका थिए । दुबईबाट आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन उनले विमानस्थलबाट पास गराइदिएका थिए । गुरागाईंले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयबाट सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए । तर, भन्सारले गम्भीरताका साथ अनुसन्धान नगर्दा सो गिरोहका नाइकेहरू जोगिएका छन् । 

त्यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो । जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो । त्यसमा एयरलाइन्स कर्मचारी तथा प्रहरीसमेतलाई मुद्दा चले पनि सुन बरामद नहुँदा उनीहरूले सफाइ पाइसकेका छन् । विमानस्थलमा कर्मचारीकै मिलेमतोमा हुने सुन तस्करीका एकपछि अर्काे घटना बाहिरिनुले विमानस्थलभित्रको सुरक्षा संयन्त्रमा समेत प्रश्न उठेको छ ।
 

सुझावित समाचार