भैरहवा र सिमरा सेजमा १० अर्ब लगानीका २४ उद्योग खुल्दै

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण
भैरहवा र सिमरा सेजमा १० अर्ब लगानीका २४ उद्योग खुल्दै

सिमरा सेज कार्यालय

सिमरा सेजको बाँकी ४३ प्लटमा उद्योग खोल्न प्रस्ताव आह्वान, १५ दिनभित्र पेस गर्नुपर्ने

भैरहवा र सिमरा विशेष आर्थिक क्षेत्र(सेज)मा १० अर्ब लगानीका २४ नयाँ उद्योग खुल्ने भएका छन् । १५ फागुनमा सेज प्राधिकरणले सूचना प्रकाशन गर्दै सिमरा र भैरहवा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव आह्वान गरेको थियो । सिमराका ६८ मध्ये २५ प्लटमा नौ उद्योग स्थापनाको प्रस्ताव परेको छ । बाँकी ४३ प्लटका लागि पनि प्रस्ताव आह्वान गरिएको सेज प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए । ‘यसअघि आह्वान गर्दा प्राप्त प्रस्ताव २५ प्लटका लागि मात्रै योग्य भए, बाँकी प्लटमा उद्योग स्थापनाका लागि धेरै उद्योगी तथा लगानीकर्ताहरूले चासो राख्नुभयो,’ उनले भने, ‘त्यसैले हामीले बाँकी प्लटका लागि प्रस्ताव माग गरेका हौँ ।’

चण्डिका भट्ट,  कार्यकारी निर्देशक, सेज प्राधिकरण

उद्योगी व्यवसायीले चुरोट–सुर्ती, मदिरा एवं हातहतियारलगायत सेजमा बन्देज लगाइएका बाहेकका उद्योग स्थापनाका लागि प्रस्ताव गर्न सक्नेछन् । गार्मेन्ट, किचन वेयर, कार्पेट, हर्बल प्रोसेसिङ, मिनरललगायत उद्योग स्थापनाका लागि उद्योगीहरूले इच्छा देखाउनुभएको छ । यसअघि आह्वान गर्दा प्राप्त प्रस्ताव २५ प्लटका लागि मात्रै योग्य भए, बाँकी प्लटमा उद्योग स्थापनाका लागि धेरै उद्योगी तथा लगानीकर्ताहरूले चासो राख्नुभएको छ ।

प्राधिकरणले सिमरा सेजको ब्लक ‘ए’का ४३ प्लटमा उद्योग सञ्चालन गर्न चाहने उद्योगीहरूका लागि १५ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान गरेको हो । सिमरा सेजमा रहेका पाँचवटा ब्लकमध्ये चारवटा ब्लक निर्माणाधीन अवस्थामा छन् । निर्माण सम्पन्न भएको ब्लक ‘ए’मा उद्योग स्थापना तथा सञ्चालनको प्रक्रिया अघि बढाएको हो । सिमरा सेजको ब्लक ‘ए’मा कुल ६८ वटा प्लट रहेका छन् । 

उद्योगी व्यवसायीले चुरोट सुर्ती, मदिरा एवं हातहतियारलगायत सेजमा बन्देज लगाइएका बाहेकका उद्योग स्थापनाका लागि प्रस्ताव गर्न सक्ने उनले बताए । ‘गार्मेन्ट, किचन वेयर, कार्पेट, हर्बल प्रोसेसिङ, मिनरललगायत उद्योग स्थापनाका लागि उद्योगीहरूले इच्छा देखाउनुभएको छ,’ उनले भने, ‘बाँकी प्लटमा दर्जन हाराहारी उद्योग आउनेछन्, जसले मुलुकको उत्पादन, रोजगारी र निर्यातमा योगदान दिनेछ ।’

सेजमा आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोलपम्प, धर्मकाटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बिमालगायत सुविधा रहेका छन् । सिमरा सेजको भाडादर मासिक २० रुपैयाँ प्रतिवर्गमिटर तोकिएको छ । त्यस्तै, भाडा अवधि बढीमा ३० वर्षको हुनेछ । प्राप्त प्रस्तावमध्येबाट उद्योगहरूको क्लस्टरिङ गरी प्लट उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । 

भैरहवामा सात अर्ब लगानीका १५ उद्योग थपिँदै
भैरहवामा पनि ६८ वटा प्लट रहेका छन् । त्यसमध्ये २३ वटा प्लटमा सात उद्योग स्थापना भइसकेका छन् । बाँकी ४५ प्लटका लागि हालै १५ उद्योगले प्रस्ताव गरेका छन् । ती १५ उद्योगले सात अर्ब लगानी गर्ने र करिब दुई हजार पाँच सयलाई रोजगारी दिने कार्यकारी निर्देशक भट्टले बताए । 

भैरहवामा हर्बल प्रोसेसिङ, मिनरल, विद्युतीय उपकरण, गार्मेन्टलगायत उद्योग खुल्ने उनले जानकारी दिए । ‘भैरहवा सेजमा आएका प्रस्ताव स्वीकृत भइसकेका छन्,’ उनले भने, ‘अब उनीहरूलाई पनि उद्योग स्थापनाको स्वीकृति दिनेछौँ र सम्झौता गर्नेछौँ ।’

नौ उद्योगको तीन अर्ब लगानी
यसअघि प्राधिकरणले गरेको आह्वानउपर नौवटा उद्योगले २५ वटा प्लटका लागि प्रस्ताव पेस गरेका छन् । ती उद्योगको प्रस्ताव स्वीकृत गरिएका छन् । अब छिट्टै अनुमति पत्र दिने र उद्योग स्थापना तथा सञ्चालनको सम्झौता गर्ने उनले जानकारी दिए । प्रस्तावित उद्योगमा गार्मेन्ट, कार्पेट, किचन वेयर, होम अप्लाइन्सेस, हर्बल प्रोसेसिङलगायत रहेका छन् । ती उद्योगले तीन अर्ब रुपैयाँ लगानी गर्ने तथा करिब दुई हजारजनालाई प्रत्यक्ष रोजगारी दिने प्रस्ताव गरेका छन् । 

See More On

सुझावित समाचार