आचारसंहिता उल्लंघन गरेको विषयमा तीन दिनभित्र जवाफ दिन एकीकृत समाजवादीलाई पनि निर्देशन
निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालालाई चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । कोइरालाले गत शनिबार एक कार्यक्रममा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए, जसलाई लिएर आयोगले ‘नोटिस’ लिएको हो ।आइतबारदेखिको मितिले सात दिनभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कोइरालाले भनेका थिए–
मैले तपाईंहरूलाई प्रश्न राखेँ, राजनीति किन गर्नुहुन्छ ? पैसा कमाउनका लागि ? यदि हो भने बिजनेस गर्नुस्, अरू काम गर्नुस् । देश, भावना र सामाजिक चिन्तन बोकेको मान्छेले पैसाको आकर्षणमा राजनीति गर्नुहुँदैन । मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो ०७४ चुनावमा ६ करोड पुग्यो । ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।
‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के–कसो भएको हो ? सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ,’ आयोगबाट सोमबार जारी विज्ञप्तिमा छ । उनी नवलपरासी– १ बाट निर्वाचित भएका थिए ।
०७४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने प्रावधान थियो । आयोगका अनुसार कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो २१ लाख ७५ हजार खर्च भएको विवरण आयोगमा बुझाएका थिए । आयोग प्रवक्ता पौडेलले कोइरालाको जवाफका आधारमा आयोगले निर्णय गर्ने बताए ।
कोइरालाको सोही अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस विषयमा आयोगले जवाफ मागेको हो । कार्यक्रममा डा. कोइरालाले भनेका थिए, ‘मैले तपाईंहरूलाई प्रश्न राखेँ, राजनीति किन गर्नुहुन्छ ? पैसा कमाउनका लागि ? यदि हो भने बिजनेस गर्नुस्, अरू काम गर्नुस् । देश, भावना र सामाजिक चिन्तन बोकेको मान्छेले पैसाको आकर्षणमा राजनीति गर्नुहुँदैन । मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो (०७४) चुनावमा ६ करोड पुग्यो । ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।’
‘चित्तबुझ्दो जवाफ’ दिन एकीकृत समाजवादीलाई निर्देशन
त्यसैगरी आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै एकीकृत समाजवादीलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । निर्वाचन आयोगका अनुसार २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरिएको भन्ने गुनासो आएको भन्दै एकीकृत समाजवादीलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन निर्देशन दिएको हो ।
‘नेकपा (एकीकृत समाजवादी) ले २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन भएको गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो सम्बन्धमा के–कसो भएको हो ? तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरेको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा छ ।
प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमन गर्ने
आयोगले सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता कार्यान्वयन भए–नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिलसँग सम्झौता गरेको छ । आयोगका अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यममा आउने समाचारले आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्नेछ ।
२८ जिल्लाको मतपत्र छापियो
स्थानीय तह निर्वाचनका लागि हालसम्म २८ जिल्लाको मतपत्र छापिएको आयोगले जनाएको छ । आयोगका अनुसार २८ जिल्लाका लागि आवश्यक ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सकिएको हो । आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको छ । आयोगका अनुसार पहिले दुर्गम जिल्ला र त्यसपछि क्रमशः सुगम जिल्लाका मतपत्र छपाइ कार्य जारी छ ।
आजदेखि निर्वाचन अधिकृतले कार्यभार सम्हाल्दै
स्थानीय तह निर्वाचनका लागि सात सय ५३ निर्वाचन अधिकृतले आजदेखि निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्दै छन् । आजदेखि ३ वैशाखसम्म आयोगले निर्वाचनमा खटिने सात सय ५३ निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालय प्रमुखका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्दै छ । सोही तालिमपश्चात् तालिम दिइएको स्थानबाटै निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराउने आयोगले जनाएको छ ।
२५ माघदेखि २९ वैशाखसम्म १८ वर्ष पुग्नेको संख्या २३ हजार आठ सय
नेपालको निर्वाचन इतिहासमा पहिलोपटक निर्वाचन आयोगले मतदानको अघिल्लो दिनलाई ‘कट अफ डेट’ मानेर मतदाता नामावली टुंग्याएको थियो । यसअघि सरकारले निर्वाचनको मिति घोषणा गरेको मितिसम्ममा १८ वर्ष उमेर पुगेकाहरूको नाम मतदाता नामावलीमा समावेश गर्ने प्रचलन थियो । तर, यसपालि आयोगले निर्वाचन हुनुभन्दा अघिल्लो दिन अर्थात् २९ वैशाखसम्म १८ वर्ष पुग्ने नागरिकको नाम मतदाता नामावलीमा समावेश गरेको छ । जसअनुसार माघ २५ देखि २९ वैशाखसम्ममा १८ वर्ष पुग्नेको संख्या जम्मा २३ हजार आठ सय रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।
मैले तपाईंहरूलाई प्रश्न राखेँ, राजनीति किन गर्नुहुन्छ ? पैसा कमाउनका लागि ? यदि हो भने बिजनेस गर्नुस्, अरू काम गर्नुस् । देश, भावना र सामाजिक चिन्तन बोकेको मान्छेले पैसाको आकर्षणमा राजनीति गर्नुहुँदैन । मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो ०७४ चुनावमा ६ करोड पुग्यो । ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।