अग्निपीडित त्रिपालमुनि, बर्सातको चिन्ता

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीको धन्कौल गाउँपालिका– ५ हरकठवाका १३ विपन्न पासवान परिवार गत साता आगलागीमा परेर घर खरानी बनेपछि त्रिपालमुनि पुगेका छन् । एक–एक थान त्रिपाल दिएको गाउँपालिकाले थप व्यवस्थापनबारे पहल गरेको छैन । बरु, विभिन्न संघसंस्थाले गरेको सहयोगमा जस लिन अग्रसर छ ।

गाउँपालिका अध्यक्ष रामआश्रय साहले संघसंस्थासँग मिलेर अग्निपीडितलाई प्रतिपरिवार २५ केजी चामल, दाल, चिउरा, तेल, ग्यास, भाँडा, कम्बल र त्रिपाल बाँडेको बताए । तर, घरवास निर्माणका विषयमा भने अहिले केही नसोचेको उनको भनाइ छ ।

जिल्लाका विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अग्निपीडित नागरिकको दीर्घकालीन व्यवस्थापन पालिकाले नै गर्नुपर्ने बताए । जिम्मेवार निकाय पन्छिँदा पीडित परिवारलाई भने आउने बर्सातको चिन्ता छ । ‘ज्यालादारी गरेर जेनतेन छाक टार्नुपर्छ, घर कसरी बनाउनु ?’ आठजनाको परिवार रहेका गगनदेव पासवानलाई चिन्ता छ, ‘बर्सातमा लालाबाला कसरी जोगाउनु ?’

सुझावित समाचार