साहित्यकार एवं लेखक प्राध्यापक डा. अभि सुवेदी र नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन्। पोखरा महानगरपालिका– ३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रतिभा वर्ष सम्मान’अन्तर्गत यस वर्षको ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान २०७८’ बाट सुवेदी र ‘प्रतिभा वर्ष सम्मान २०७८’बाट मल्ललाई सम्मान गरिएको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए।
सम्मानित सुवेदी र मल्ललाई नगद र ताम्रपत्रसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले सम्मान गरेका थिए। दुवै सम्मानको राशि जनही एक लाख रुपैयाँ रहेको छ।
सुवेदीले झन्डै ६० वर्षदेखि नेपाली तथा अंग्रेजी भाषामा कवितासँगै कला, साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको र मल्लले क्रिकेट खेलमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको विद्यालयका अध्यक्ष पौडेलले जानकारी दिए।