नेपालले हवाई रुट फेरि माग्यो तर भारत बोलेन

आइतबार, २० चैत, २०७८
डिजिटल संस्करण

छिमेकी मुलुक भारत भ्रमणमा रहेका नेपाली प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि नयाँ हवाई प्रवेश बिन्दु खुला गरिदिन भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् । २ जेठदेखि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भइरहेको समयमा प्रधानमन्त्री देउवाले पश्चिम क्षेत्रमा प्रवेश बिन्दु दिन माग गरेका हुन् । महेन्द्रनगर, नेपालगन्ज र जनकपुर सीमा क्षेत्रबाट हवाई प्रवेश बिन्दु दिन देउवाले आग्रह गरे पनि नयाँ हवाई रुटको विषयमा भारत केही बोलेको छैन । 

नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा जहिल्यै नयाँ प्रवेश बिन्दुको विषय उठान हुने गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओलीको भारत भ्रमणमा पनि नयाँ हवाई प्रवेश बिन्दुको विषय उठान भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि यो विषय उठेको थियो । प्रधानमन्त्रीका भ्रमणहरूमा नयाँ प्रवेश बिन्दुको विषय उठ्ने र दुई देशका सम्बन्धित निकायले छलफल गरेर टुंगो लगाउने भनिन्छ, तर सहमति भने हुन सकेको छैन । भारतीय पक्षले महेन्द्रनगर, नेपालगन्ज र भैरहवाबाट हवाई प्रवेश बिन्दु दिन आलटाल गर्दै आइरहेको छ ।

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध विमानस्थलका लागि पश्चिम प्रवेश बिन्दु अत्यन्तै आवश्यक छ । पश्चिमका मुलुकबाट काठमाडौं आउने जहाजका लागि पनि पश्चिम प्रवेश बिन्दु अत्यन्त महत्वपूर्ण रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले बताए । भारतले महेन्द्रनगर र नेपालगन्ज रुट दिन सुरक्षाको विषय उठाएको छ । नेपालगन्ज प्रवेश बिन्दु दिन त्यस क्षेत्रमा आर्मीको ब्यारेक रहेको भारतीय पक्षको भनाइ छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि ०७५ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको नागरिक उड्डयन महानिर्देशनालयबीच भएको छलफलमा महेन्द्रनगर र नेपालगन्जबाट नयाँ प्रवेश रुट दिने सहमति भएको थियो । तर, केही महिना नबित्दै पश्चिम क्षेत्रबाट प्रवेश रुट दिन नसकिने भन्दै नागरिक उड्डयन प्राधिकरणलाई भारतले जानकारी गराएको थियो । भैरहवाबाट प्रवेश बिन्दु दिन पनि २१ हजार फिटबाट मात्र जहाज नेपाल प्रवेश गर्नुपर्ने सर्त तेस्र्याइएको छ । २१ हजार फिटबाट प्रवेश गरेको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्नका लागि उचाइ घटाउन धेरै फन्को मार्नुपर्छ, जसले लागत बढाउँछ । सिमरा हुँदै भैरहवामा जहाज अवतरण गर्न दूरी लामो हुन्छ । प्राधिकरणले २ जेठदेखि सिमराबाटै जहाज प्रवेश गराई भैरहवा अवतरण गराउने प्रक्रिया अगाडि बढाएको छ ।

किन पश्चिम रुट ?
महेन्द्रनगर, नेपालगन्ज प्रवेश बिन्दु त्रिभुवन विमानस्थलसँगै भैरहवाको गौतम बुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण मानिन्छ । पश्चिम क्षेत्रबाट जहाज प्रवेश हुँदा बिस्तारै उचाइ घटाउँदै विमानस्थलमा जहाज अवतरण गराउन सहज हुने सहसचिव लामिछाने बताउँछन् । उनले भने, ‘यो प्रवेश बिन्दु पश्चिमबाट आउने जहाजका लागि सीधा रुट हुन्छ ।’ पश्चिम मुलुकबाट आएका जहाजहरू सिमराबाट प्रवेश गरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न ‘यू टर्न’ गर्नुपर्छ । पश्चिमबाट जहाजलाई काठमाडौं अवतरण गर्न पनि महेन्द्रनगर र नेपालगन्ज प्रवेश बिन्दु नै उपयुक्त हुन्छ । अहिले दोहा, दुबईलगायत मुलुकबाट आउने जहाजहरू भारतीय भूमि फन्को मार्दै सिमरा पुगेर नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ । तर, फर्किंदा महेन्द्रनगरको रुट प्रयोग गर्न पाउँछन् । 

पश्चिमी देशका जहाजहरू महेन्द्रनगरबाटै नेपाल भित्रिँदा १० देखि १५ मिनेटसम्म दूरी छोटिने लामिछानेको भनाइ छ । ‘जहाजको करिब एकतिहाइ सञ्चालन खर्च इन्धनकै हुन्छ, दूरी छोटिनेबित्तिकै इन्धन र समयको बचत हुन्छ,’ उनले भने, ‘यो रुटले जहाजको सञ्चालन खर्च कम हुन्छ ।’ अझ पश्चिम क्षेत्रबाट आएका जहाज सिमरा पुगेर भैरहवा अवतरण गर्दा अर्को १० मिनेट बढी समय लाग्छ ।

पोखरा–दिल्ली उडानमा पनि महेन्द्रनगर–नेपालगन्ज प्रवेश बिन्दु सहज हुने लामिछानेको भनाइ छ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि पश्चिम प्रवेश बिन्दु सहज हुने बताइन्छ । महेन्द्रनगर, नेपालगन्ज, भैरहवालगायत प्रवेश बिन्दु काठमाडौं, भैरहवा र पोखरा तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण रहेको छ । भारतले नयाँ हवाई बिन्दु नदिँदासम्म पूर्व र पश्चिम सबैतिरबाट आएका जहाज सिमराबाटै प्रवेश गर्नुपर्ने हुन्छ । जसले सिमरामा हवाई ट्राफिकसमेत बढिरहेको लामिछानेले बताए ।

सुझावित समाचार