क्षयरोगले बाँकेमा ६ महिनामा २५ जनाको मृत्यु

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

क्षयरोगका कारण बाँकेमा ६ महिनामा २५ जनाले ज्यान गुमाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन मानव नेपालीले चालू आर्थिक वर्षको ६ महिनामा क्षयरोगबाट २५ जनाको मृत्यु भएको जानकारी दिए ।

गत आर्थिक वर्षमा यो रोगबाट ३७ जनाको मृत्यु भएको उनले बताए । नेपालीका अनुसार चालू आवकोे ६ महिनामा चार सय ९४ जना क्षयरोगका बिरामी फेला परेका थिए । ‘एक वर्षमा एक हजार तीन सय ९६ जना क्षयरोगका बिरामी पत्ता लगाउनुपर्ने थियो, तर ६ महिनामा करिब पाँच सय बिरामी मात्र फेला पार्न सकियो,’ उनले भने । गत वर्ष बाँकेमा आठ सय ३५ जना क्षयरोगका बिरामी फेला परेका थिए ।

नेपालीका अनुसार नेपालगन्जमा दुई सय ३८, कोहलपुरमा एक सय ४५ र खजुरामा एक सय सातजना क्षयरोगी फेला परेको जानकारी दिए । यस्तै, राप्तीसोनारीमा ७८, बैजनाथमा ९५, जानकीमा ५७, डुडुवामा ६२ र नरैनापुर गाउँपालिकामा ५३ जना क्षयरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार