उपत्यकाको विभिन्न ठाउँमा थुप्रिएको सबै फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । स्थानीयले बन्चरेडाँडालाई केन्द्रबिन्दु मानेर तीन किलोमिटर वरपरका जग्गा पनि अधिग्रहण गरेर मुआब्जा दिनुपर्ने माग राख्दै २५ फागुनदेखि सिसडोलमा फोहोर लैजान अवरोध गरेका थिए । जसकारण एक साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन । पासाङ ल्हामु राजमार्ग निर्माणको ढिलाइका कारण त्यहाँका स्थानीयले सडक अवरोध गर्दा नउठेको फोहोर पनि सडकमै जम्मा भएकाले उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने भएको हो ।
काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ वटै स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तर, वर्षौंदेखि सिसडोलको विकल्प नखोजिँदा बर्सेनि पटक–पटक समस्या दोहोरिने गरेको छ । निजी र महानगरपालिकाका गरी दैनिक दुई सयभन्दा बढी टिपर–ट्रकले नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलमा फोहोर लैजाने गर्छन् । दैनिक दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजार टनभन्दा बढी फोहोर फालिरहेका छन् ।
मुआब्जाको समस्या समाधानका लागि बनाइयो समिति

काठमाडौं महानगरका अनुसार उपत्यकाको घर, चोक, गल्ली र सडकमा थुप्रिएका फोहोर उठ्न अझै हप्ता दिन लाग्ने भएको हो । महानगरका सहायक प्रवक्ता महेश काफ्लेले मुख्य लाइनका फोहोरलाई प्राथमिकतामा राखेर मंगलबारबाट फोहोर उठाउन थालेको जानकारी दिए । ‘बन्चरेडाँडावासीसँग मंगलबार भएको सहमति भएपछि फोहोर उठाउन सुरु भएको छ । हामीले हिजोेदेखि नै मुख्य लाइनका फोहोर उठाउन थालेका छौँ,’ काफ्लेले भने, ‘मुख्य लाइनको फोहोर उठेपछि अन्य भित्री सडक र घरका फोहोर उठाउँछौँ ।’
बन्चरेडाँडावरपरको जग्गा अधिग्रहण गर्न मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा एउटा टोली गठन भएको छ । मुख्य लाइनमा बानेश्वर, राष्ट्रपति भवन र मुख्य सडक पहिलो प्राथमिकतामा छन् । मंगलबार दुई–तीन गाडी मात्र सिसडोल ल्यान्डफिल साइट फोहोर पुगे पनि बुधबार दिउँसोसम्म करिब ६० ट्रक फोहोर व्यवस्थापन केन्द्रमा पुगेका थिए । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ ।
फागुनको पहिलो र दोस्रो साता पनि ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि स्थानीयले सडक ठप्प पार्दा उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको थियो । शैलुङ कन्स्ट्रक्सनले समयमै पासाङ ल्हामु राजमार्ग निर्माण नसकेको भन्दै स्थानीयले सडक अवरोध गर्दा ११ दिनसम्म काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको थियो । उपत्यकाको फोहोर सिसडोल पुर्याउन यही राजमार्ग प्रयोग गर्नुपर्छ । तर, शैलुङले दुई वर्षभित्र निर्माण सक्ने गरी ५ जेठ ०७१ मा सम्झौता गरेकोमा अहिलेसम्म ५० प्रतिशत मात्र काम सकेको थियो । समयमै फोहोर उठाउने प्रतिबद्धतापछि फोहोर उठ्न थालेको थियो ।
२६ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकको बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनका लागि देखिएको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिसकेकाले फोहोर व्यवस्थापन छिट्टै हुने सम्भावना भने देखिएको छ ।