संस्कृत विश्वविद्यालयमा अब वास्तु इन्जिनियरिङको पनि पढाइ

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण

आधुनिक आर्किटेक्ट इन्जिनियरिङका विषयलाई समेटेर चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम तयार

नेपाल संस्कृत विश्वविद्यालयले अब प्राच्य इन्जिनियरिङ (वास्तुशास्त्र र स्थापत्यशास्त्र) कार्यक्रममा पठनपाठन सुरु गर्ने भएको छ । संस्कृत विश्वविद्यालयको सभाले वास्तु इन्जिनियरिङको नियमावली पारित गरेसँगै पठनपाठनको बाटो खुलेको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले स्नातक (शास्त्री) र स्नातकोत्तर तहमा वास्तु इन्जिनियरिङको पठनपाठन हुने बताए । बिई चारवर्षे र एमई दुईवर्षे हुने उनको भनाइ छ । ‘संस्कृतको प्राचीन विद्या र आधुनिक इन्जिनियरिङको ज्ञानबाट बनेको वास्तु इन्जिनियरिङ अध्ययन गरेर पूर्ण इन्जिनियरिङ बन्ने गरी कोर्स तयार भएको छ,’ उपकुलपति लामिछानेले भने ।

प्रा.डा. यादवप्रकाश लामिछाने, उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय

संस्कृतको प्राचीन विद्या र आधुनिक इन्जिनियरिङको ज्ञानबाट बनेको वास्तु इन्जिनियरिङ अध्ययन गरेर पूर्ण इन्जिनियरिङ बन्ने गरी कोर्स तयार भएको छ । विश्वविद्यालयको विभिन्न तहको पाठ्यक्रममा परिष्कार, परिमार्जन र अद्यावधिकीकरण गर्ने काम भइरहेको छ, पठनपाठन एवं अनुसन्धानमा नवीनतम विधाहरू समायोजित गर्दै जान आवश्यक छ ।

उनका अनुसार चारवर्षे स्नातक इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम आधुनिक आर्किटेक्ट इन्जिनियरिङका विषयलाई समेटेर तयार गरिएको छ । विश्वविद्यालय सभाबाट नियमावली पारित भएपछि नेपाल इन्जिनियरिङ परिषद्बाट स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने विश्वविद्यालयको तयारी छ । उपकुलपति लामिछानेले अहिले आधुनिक इन्जिनियर भवन निर्माणमा जोडिए पनि वास्तु हेर्नसमेत छुट्टै जनशक्ति प्रयोग हुने गरेकामा अब एकजनाबाटै सबै काम हुने विश्वास लिएको बताए । भौतिक पूर्वाधार निर्माणसँगै आगामी वर्षको शैक्षिक सत्रमा बिई कक्षा सुरु गर्ने विश्वविद्यालयको योजना छ । नेपालमा यस किसिमको इन्जिनियरिङको आवश्यकता महसुस भएको उपकुलपति लामिछानेले बताए । 

विद्यार्थी आकर्षण गर्न नयाँ कार्यक्रम
संस्कृत विश्वविद्यालयले विद्यार्थीलाई आकर्षित गर्न परम्परागत ज्ञानलाई आधुनिकतासँग जोडेर वैदिक कृषि, योग तथा प्राकृतिक चिकित्सामा स्नातक तह कार्यक्रम सञ्चालनको तयारी गरेको छ । जुनसुकै विधाबाट आएका विद्यार्थीलाई पनि उपयुक्त हुने गरी जीवनशैली व्यवस्थापन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । वेदमा उल्लेख भएका विषयवस्तुका आधारमा आधुनिक कृषिलाई जोडेर कार्यक्रम सञ्चालन गर्ने तयारी छ । अहिले विद्यार्थी घट्दै गएको विश्वविद्यालयले नयाँ कार्यक्रमबाट विद्यार्थी आकर्षण गर्न खोजेको छ । नयाँ कार्यक्रम सञ्चालनका लागि केही विषयको ड्राफ्ट बनिसकेको छ । नेपाल संस्कृत विश्वविद्यालयमा स्नातक तहमा २२ वर्षपछि पाठ्यक्रम परिमार्जन भइरहेका छन् । 

संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा दुई सय शड्ढयाको एकीकृत अस्पताल बन्ने भएको छ । प्राकृतिक र आधुनिक पद्धति सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल बनाउने निर्णय भएको हो । एकीकृत अस्पतालमा आयुर्वेद, युनानी, प्राकृतिक चिकित्सा, एलोपेथी गरी चार पद्धतिबाट उपचार हुने गरी अस्पताल निर्माण हुन लागेको हो । 

नयाँ शैलीले अघि बढ्न प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बिहीबार बसेको संस्कृत विश्वविद्यालय सभामा संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्ने बताए । अहिले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 

देउवाले ऋषिमुनिहरूले नासोका रूपमा सुम्पेका आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, पौरस्त्य विधिशास्त्र (प्राच्य कानुन), वैदिक कृषि, वास्तुशास्त्र र स्थापत्यशास्त्र (प्राच्य इन्जिनियरिङ)जस्ता प्राचीन प्रयोगपरक विधालाई आधुनिक तरिकाले पठनपाठन गराउने दिशामा नेपाल संस्कृत विश्वविद्यालय अग्रसर रहेको र यस्ता विधा अनुसन्धानमूलक बनाएर राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने बताए । ‘अचल सम्पत्तिका दृष्टिले अत्यन्त समृद्ध नेपालका केही संस्थामध्ये नेपाल संस्कृत विश्वविद्यालय पनि एक हो । तर, बितेका केही वर्षयता उक्त सम्पत्तिलाई विश्वविद्यालयको विकास र विस्तारमा सदुपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘चल–अचल सम्पत्तिको संरक्षण र संवद्र्धन गर्दै त्यसको अधिकतम परिचालन गरी विश्वविद्यालय आर्थिक रूपमा आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्दछ । यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त हुनेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताए । ‘शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ,’ उनले भने, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनर्संरचित गर्नुपर्ने साथै अध्ययन–अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ ।’ उनले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित, तर लुप्त हुन लागेका अनेकौँ अन्तर्ज्ञानहरूको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताए ।

विश्वविद्यालय सभामा उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले अहिलेको अर्थप्रधान प्रतिस्पर्धात्मक विज्ञान र प्रविधिको युगमा संस्कृत वाङमयको संरक्षण र संवद्र्धन चुनौतीपूर्ण रहे पनि संस्कृत विश्वविद्यालयले मौलिकताको रक्षाका साथसाथै यसको आधुनिकीकरणका लागि पनि यथोचित प्रयास गर्दै आएको बताए । उनले विश्वविद्यालयको विभिन्न तहको पाठ्यक्रममा परिष्कार, परिमार्जन र अद्यावधिकीकरण गर्ने काम भइरहेको उल्लेख गर्दै पठनपाठन एवं अनुसन्धानमा नवीनतम विधाहरू समायोजित गर्दै जान आवश्यक भएको उल्लेख गरे । शास्त्री तहलाई चारवर्षे बनाउन सम्बद्ध विषय समितिका अध्यक्षहरूको संयोजकत्वमा विज्ञहरूसहितको पाठ्यक्रम निर्माण समिति गठन गरी नवीन पाठ्यक्रम निर्माण भइसकेको लामिछानेले जानकारी दिए ।
 

सुझावित समाचार