एमसिसीपछिको राजनीति

एमसिसीले गति लिन लागेको अहिलेको अवस्थामा अब देउवाको ध्यान पार्टी संगठनलाई बलियो बनाउनतिर केन्द्रित हुनुपर्छ

शुक्रबार, २० फागुन, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा अड्किरहेको अमेरिकी सहयोग एमसिसीको टुंगो लगाएका छन् । प्रधानमन्त्री देउवाको राजनीतिक जीवनको यो सानो उपलब्धि होइन । विशेषगरी, आपूmले नेतृत्व गरेको पाँचदलीय गठबन्धनलाई द्विविधाहरूबाट बाहिर ल्याएर विवादास्पद एमसिसीको पक्षमा उभ्याउनु त्यति सजिलो थिएन । संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेको निस्पट्ट मौनताको कुनै अर्थ थिएन । आफैँले छलफलका लागि सदनमा दर्ता गराएको विधेयकको पक्ष वा विपक्षमा एक शब्द नबोलेर सदनमा असान्दर्भिक नाराबाजी गर्नु एमालेको अहंकार थियो । तर, त्यसको कुनै तुक थिएन । बहस ‘सकिएर’ सदनले एमसिसी अनुुमोदन गरिसकेपछि एमालेका वरिष्ठ नेता प्रदीप ज्ञवालीले ‘सरकारले एमालेलाई एमसिसीको पक्षमा मतदान गर्ने अवसर नदिएको’ प्रतिक्रिया व्यक्त गर्नु अनौठो विडम्बना हो । एमसिसी सदनबाट अनुमोदन भएपछि आएको नेता ज्ञवालीको यस्तो प्रतिक्रिया अमेरिकालाई ‘रिझाउने’ मृगतृष्णा थियो । एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले बाहेक अरू कसैले नेता ज्ञवालीलाई यस्तो वाक्य बोल्न प्रेरित गरेको पक्कै होइन ।

नेपालका कम्युनिस्ट पार्टीहरूका सचिवालयमा एमसिसी अनुमोदनको प्रस्तावले कडा परकम्प ल्याएकै हो । एमसिसीको पक्षमा न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, न त एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नै सहमत थिए । कुरा गठबन्धनको अन्त्यसम्म चलिसकेको थियो । तर, नेताहरू जब गठबन्धन सरकारको अन्त्यपछिका राजनीतिक दृश्यहरूको परिकल्पनामा डुबे, त्यसपछि उनीहरूलाई यथार्थले चिमोट्यो । कम्युनिस्ट नेताहरूले कुरा मिलाए । एमसिसीलाई अमेरिकी सरकारले आफ्नो रणनीति बताइसकेको स्थितिमा यसको पुनव्र्याख्याको आवश्यकता थिएन । तर, नेपालका मूर्धन्य कम्युनिस्ट नेताहरूको सुविधाका लागि एमसिसीको नयाँ व्याख्यात्मक ‘न्यारेटिभ’ तयार भयो । प्रचण्ड र माधव एमसिसीको पक्षमा चट्टानझैँ उभिएको देखिएपछि वरिष्ठ कम्युनिस्ट नेता चित्रबहादुर केसी गठबन्धन छाड्ने पहिलो नेता भए । उनको अध्यक्षताको राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनबाट बाहिरियो । एकीकृत समाजवादीले एमसिसी स्विकारेपछि पनि यस पार्टीका ‘सम्मानित’ नेता झलनाथ खनाल एमसिसीविरुद्ध गर्जिएका गर्जियै छन् । माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलगायत थुप्रै कमरेडहरू केन्द्रबाट निस्किने मनस्थितिमा पुगेका छन् । स्वयं प्रचण्डले श्रेष्ठलाई ‘असहमति छ भने पार्टी छाडे हुन्छ’ भनेको समाचार बाहिर आयो । आफ्नो गल्तीको बोध भएपछि प्रचण्ड भोलिपल्ट बिहानै नारायणकाजीलाई फकाउन उनको घरैमा पुगे । तर, जे हुनु भइसकेको थियो । उनीहरूलाई विद्रोही माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो आलिंगनमा ‘सुरक्षित राख्ने’ योजना बनिसकेको थियो । नारायणकाजी घर फर्किन्छन् कि डेरामै बस्छन् ? यसको टुंगो लागिसकेको छैन सायद ।

यस्तो लाग्छ, एउटै एमसिसी सम्झौताले विभिन्न टुक्रामा विभाजित कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने सम्भावना बढ्न थालेको देखिन्छ । अहिलेको परिस्थितिमा कम्युनिस्टबीचको एकता त्यति सम्भव देखिँदैन र पनि राजनीतिक आवश्यकताले उनीहरूलाई एकै ठाउँमा ल्याउन पनि सक्छ । एकातिर, माओवादी पार्टी छ र अर्कातिर एमाले । ओलीको प्रधानमन्त्री पदमा ‘उत्थान’पछि सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतालाई निरस्त गरिदियो । त्यसपछिको परिवेशमा तेस्रो धारमा देखिएको छ, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी । माओवादी अध्यक्ष प्रचण्ड उपस्थित सबै कम्युनिस्ट नेताका तुलनामा अब्बल छन् । दशक लामो हिंसात्मक संघर्षपछि उनैले युद्धलाई शान्तिको बाटोमा अवतरण गराए । उनैले गणतन्त्रको जग बसाले । उनै गणतन्त्रका प्रथम कार्यकारी प्रधानमन्त्री भए । उनले आफ्नो पार्टीभित्रको विसंगत र विरोधाभाषी स्थिति सम्हाल्न सकेको भए अहिले कम्युनिस्ट राज स्थापनाको डेढ दशक भइसक्ने थियो । तर, त्यसो हुन सकेन । 

यता, कांग्रेस सभापति तथा गठबन्धन सरकारका प्रधानमन्त्री देउवा पनि कम अप्ठेरोमा छैनन् । कांग्रेसको चौधौँ अधिवेशनमा उनी चुनावको दोस्रो चक्रमा सभापति चुनिएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाको रणनीति असफल भयो । शेखरले आफूलाई कांग्रेस सभापतिका रूपमा विजयी गराउन देशभरिका कांग्रेस समुदायसँग निकै ठूलो अनुरोध गरेका थिए । कांग्रेसीहरू उनको व्यक्तित्वबाट प्रभावित पनि थिए । तर, प्रभावित हुनु एउटा कुरा हो भने चुनावमा भोट दिनु अर्कै कुरा हो । कांग्रेसको बनोट नै यस्तै छ । स्वर्गीय गिरिजाप्रसाद कोइराला सभापति चुनिएको समयमा यो बनोट भत्कियो । स्वर्गीय कोइराला आजीवन सभापति हुनुभयो । अहिले देउवाको पालामा त्यो बनोट भत्किएको छ । उमेरले दिने हो भने देउवा एकपटक फेरि सभापति हुन चाहन्छन् होला । तर, रिंगमा धेरै छन् सभापति बन्ने चाहनासाथ उभिएका । अपेक्षाकृत नयाँ पुस्ताका विमलेन्द्र निधि र प्रकाशमान सिंह जुन उत्साहसाथ सभापतिको चुनावमा उठेका थिए, त्यत्तिकै आकस्मिकतासाथ पराजित भए । उनीहरूको पुस्ताको सभापति बन्ने पालो सम्भवतः अब सकियो । 

एमसिसीमाथि सदनमा छलफल हुँदै गर्दा प्रतिपक्षी एमालेको निस्पट्ट मौनताको अर्थ थिएन । आफैँले दर्ता गराएको विधेयकको पक्ष वा विपक्षमा एक शब्द नबोलेर सदनमा असान्दर्भिक नाराबाजी गर्नु एमालेको अहंकार थियो ।

यतिखेर, प्रधानमन्त्री देउवाले आफ्नो ध्यान विकासतिर मोडेको देखिन्छ । एमसिसीमा उनको बढेको चाख यसैको परिणाम हो । भियतनाम युद्धका कारण थाइल्यान्ड विकासको अग्रपंक्तिमा देखा परेको थियो । अमेरिका र भियतनामबीच युद्धकालमा थाइल्यान्डको राजधानी बैंकक र अन्य सहर अमेरिकी सैनिकको क्रिडास्थल थिए । चरम गरिबीमा डुबेका थाई जनताले त्यतिवेला अत्यन्त कठिन तवरले, आफ्नो आत्मसम्मानसमेत गुमाएर जीवन गुजारा चलाएका थिए । अहिले अतीतका डरलाग्दा घटनाका बाबजुद थाई जनताले ठूलो विकास गरेका छन् । विकासको त्यो चक्र बंगलादेशबाट नेपालमा प्रवेश गर्ने सम्भावना मुखरित भएका छन् । बंगलादेश विकासको बाटामा धेरै अगाडि लम्किइसकेको छ ।

बंगलादेशको विकासपछि अब नेपालकै पालो हो । एमसिसी त्यसैको पहिलो चरण पनि हुन सक्छ । एमसिसीले नेपालको विकासको ढोका खोल्न सक्छ । तर, एमसिसीलाई नेपालको उत्तरी छिमेकी र विश्वको नयाँ सुपर पावर चीनले यथास्थितिमा स्वीकार गर्नेछ कि किचोलो निकाल्नेछ ? यसै भन्न सकिँदैन । 

छिमेकी भारत र अमेरिकाको प्रभावका कारण पनि नेपालप्रति चीनको व्यवहार सहज नहुन सक्छ । आजको दुनियाँमा असंलग्न परराष्ट्र नीतिको सक्रियता छैन । अहिलेको विश्व परिस्थितिमा संसारलाई हेर्ने दृष्टिकोण बदलिँदै गएका छन् । यी तथ्यलाई नबुझेसम्म कसैले पनि सोचेकोजस्तो परिवर्तन आउन सक्दैन । जहाँसम्म नेपालको कुरा छ, यो देश राजनीतिक असंगतिहरूको सिकार भएको छ । २०६२–६३ मा त्यति ठूलो परिवर्तन भएर पनि देशमा त्यसको अनुभूति हुन सकेको छैन । नेपाली समाजको माथिल्लो तह र तल्लो तहबीच एउटा यस्तो वर्गको प्रभुत्व रहेको छ, जसका हातमा देशका सम्पूर्ण स्रोत र संशाधन रहेका छन् । यसविरुद्ध कांग्रेस र कम्युनिस्ट शक्तिहरूले सधैँ संघर्ष गर्दै आए पनि देशको स्रोत र साधनमाथि यही वर्गको कब्जा यथावत् रहेको छ । यस वर्गलाई बिपी कोइरालाले भुइँफुट्टा वर्गको संज्ञा दिनुभएको थियो । 

एमसिसीले गति लिन लागेको अहिलेको अवस्थामा कांग्रेस सभापति देउवाको ध्यान पार्टी संगठनलाई बलियो बनाउन केन्द्रित रहनुपर्ने देखिएको छ । देशमा स्थानीय, प्रादेशिक र संघीय चुनावको प्रारम्भ हुँदै छ । कांग्रेसको अवस्था त्यति मजबुत छैन, जति देखिएको छ । कार्यकर्तामा लोकतान्त्रिक आचरण छैन । समाजप्रति प्रतिबद्धता छैन । स्वतन्त्रताको नाममा राजनीतिक छिना–झपटी, गुटबन्दी, भ्रष्ट आचरण र बेइमानी राजनीतिक संस्कारका रूपमा फैलिन थालेको छ । अहिलेको परिवेशमा कांग्रेस वा कम्युनिस्ट कसैले पनि स्वाभाविक रूपमा चुनाव जित्न सक्दैनन् । राज्य संयन्त्रहरू बिचौलियाको हातमा परेका छन् । भ्रष्टाचारको त कुरै गर्न परेन । प्रधानमन्त्री देउवाले यी विकृति अन्त्य गर्ने प्रयत्न मात्रै गरे भने पनि देशको ठूलो भलो हुन्थ्यो । के कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवालाई घचघच्याउलान् ?

सुझावित समाचार