मदन भण्डारी राजमार्ग : ‘साइड क्लियर’मा वन क्षेत्रको अवरोध

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण
मदन भण्डारी राजमार्ग : ‘साइड क्लियर’मा वन क्षेत्रको अवरोध

मोरङको उर्लाबारी र मिक्लाजुङ सिमानामा रहेको हरियाली सामुदायिक वन क्षेत्र । तस्बिर : नयाँ पत्रिका

मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी खण्डको ‘साइड क्लियर’मा वन क्षेत्र अवरोध बनेको छ । राजमार्गमा पर्ने रुख समयमा नहटाउँदा राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ‘ट्र्याक ओपन’ गर्ने काम पूरा गर्न सकेको छैन । झापाको मेचीनगरस्थित मेचीडाँगी हुँदै मोरङदेखि सुनसरीको चतरासम्म तीन खण्डमा ठेक्का लगाएर काम भइरहेको छ । तीनवटै खण्ड श्रेष्ठ–मोतिदान जेभीले ठेक्का लिएको छ । 

पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव ८ किलोमिटर सडक ९३ करोड ३३ लाखमा ठेक्का लागेको छ । २९ असार ०७८ मा ठेक्का सम्झौता भएको यो सडक ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । यस्तै, दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक एक अर्ब चार करोडमा ठेक्का लागेको छ । २९ असार ०७८ मा ठेक्का सम्झौता भएको यो सडक ३० महिनाभित्र सम्पन्न गर्नुपर्नेछ । तेस्रो खण्ड मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक ३७ करोड ९५ लाखमा ठेक्का लागेको छ । यो सडक भने सम्झौताको दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । 

ठेक्का लागेको तीनवटा खण्डमध्ये करिब १७ किलोमिटर वन क्षेत्र पर्छ । पहिलो सर्दु–भलुवा खोला खण्डमा ६ किलोमिटर वन क्षेत्र पर्छ । यस्तै, दोस्रो भलुवा खोला–बेलडाँगीसम्मको २८ किलोमिटर खण्डमा सात किलोमिटर वन क्षेत्र रहेको छ भने तेस्रो मेचीडाँगी–शान्तिपुर खण्डको १० किलोमिटरमा चार किलोमिटर वन क्षेत्र रहेको श्रेष्ठ–मोतिदान जेभीका प्रोजेक्ट म्यानेजर प्रह्लाद ढुंगानाले बताए । वन क्षेत्रबाहेकको करिब १७ किलोमिटरबाहेकको क्षेत्रमा ‘साइड क्लियर’ भएको उनले बताए । बाँकी ठाउँमा वन क्षेत्र भएका कारण काम गर्न मुस्किल भएको उनले बताए । ‘वन क्षेत्रबाहेकको ठाउँमा साइड क्लियर गरेर ड्रेन, कल्भर्टको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘वन क्षेत्रमा विनास्वीकृति रुख हामीले छुन मिल्दैन । रुखलाई अवरोध नहुने ठाउँमा कल्भर्ट र ड्रेनको काम गरिरहेका छौँ ।’ मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सडकको डिपिआर तयार गर्दा पहिलो खण्डमा १२१५, दोस्रो खण्डमा ६१३ र तेस्रो खण्डमा १७५३ वटा रुख काट्नुपर्ने तथ्यांक निकालेको थियो । सडक ठेक्का लागेर निर्माण सुरु भएको ६ महिनासम्म पनि रुख काट्ने प्रक्रिया पूरा नहुँदा वन क्षेत्रमा काम गर्न अवरोध भएको छ । 

एक महिनाभित्र रुख कटानको काम नसकिए सडक निर्माणको काम सक्न निकै मुस्किल हुने ढुंगानाले बताए । ‘रुख कटानका लागि प्रक्रियामा त छ । तर, एक महिनामा सकिएन भने हामीलाई समयमा काम सक्न निकै मुस्किल हुन्छ,’ उनी भन्छन्, ‘अब काम गर्ने समय चार महिना छ । त्यसपछि बर्खा लाग्छ । बर्खाअगावै साइड क्लियर गर्न पाए काम गर्न सकिन्थ्यो । नभए त बर्खामा काम गर्न सक्ने अवस्था छैन ।’ साइड क्लियर नहुँदा सडक निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा समेत समस्या भएको ढुंगानाले बताए । यस्तै, सडकमा भएका बिजुलीका पोलले पनि समस्या भएको उनले बताए । रुख कटान र बिजुलीको पोल हटाउन समन्वय भइरहेको प्रोजेक्ट म्यानेजर ढुंगानाले जानकारी दिए । 

तीन जिल्लाका डिभिजन वनसँगको समन्वयमा वन क्षेत्रका रुख हटाउन प्रक्रिया अघि बढेको मदन भण्डारी राजमार्ग आयोजना दमकले जनाएको छ । आयोजनाका प्रमुख सुबोधकुमार देवकोटाले वन क्षेत्रमा पर्ने रुखको लगत संकलन गर्ने काम अन्तिम चरणमा रहेको बताए । यद्यपि, बर्खाअगावै रुख हटाउने काम सम्पन्न नहुने उनले बताए । ‘वन क्षेत्रमा काम गर्ने प्रक्रिया छन् । हामीले आइइई तयार गरेका छौँ । त्यसको आधारमा सम्बन्धित वनका डिभिजनलाई अनुरोध गरेपछि अलाइनमेन्टमा कति वन पर्छ भनेर लगत संकलन गर्छन् । लगत संकलनको काम अन्तिम चरणमा छ,’ देवकोटाले भने, ‘प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद्मा जान्छ । मन्त्रिपरिषद्ले सहमति दिएपछि मात्र रुख काटेर काम गर्न मिल्छ । यो वर्ष वन क्षेत्रमा काम हुँदैन । यो वर्ष पक्रिया मात्र पूरा हुन्छ ।’ 
 

सुझावित समाचार