विमानस्थल अध्यागमनकै कर्मचारी सुन तस्करीमा संलग्न

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ 

एकपछि अर्काे सुरक्षा त्रुटि बाहिरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी नै सुन तस्करीमा संलग्न भएको खुलेको छ । एक किलो एक सय ६५ ग्राम सुन तस्करी गराउँदै गर्दा प्रहरीले अध्यागमन कार्यालयका नासु लक्ष्मण गुरागाईंलाई शुक्रबार पक्राउ गरेको हो । 

दुबईबाट शुक्रबार बेलुका आएका सुनसरीका कमल घिमिरेले ल्याएको सुन नासु गुरागाईंले विमानस्थलबाट पास गराइदिएका थिए । उनले विमानस्थलको आगमनतर्फको अध्यागमन काउन्टरको छेउमा रहेको शौचालयमा सो सुन लिएर बाहिर ल्याई घिमिरेलाई दिएका थिए । सुराकीका आधारमा प्रहरीले विमानस्थलकै आगमनतर्फको टनेलमा घिमिरेलाई नियन्त्रणमा लिई सुन बरामद गरेको हो । 

नासु गुरागाईंले धेरैपटक विमानस्थलबाट सुन पास गराउँदै आएको खुलेको छ । सुरुमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको थियो । लगत्तै भागेका गुरागाईंलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरी स्रोत बताउँछ । घिमिरेले सुनका १० वटा बाला ल्याएका थिए । जसको मूल्य ९८ लाख ८७ हजार हुन्छ । पक्राउ परेका अध्यागमन कर्मचारीसहित दुवैजनालाई थप अनुसन्धानका लागि विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरी प्रवक्ता एसपी हिमालय श्रेष्ठले बताए । 

भिजिट भिसादेखि सुन तस्करीसम्म सेटिङ 
प्रारम्भिक अनुसन्धानमा भिजिट भिसादेखि सुन तस्करीमा एउटै समूहको सेटिङ देखिएको छ । सुनसहित पक्राउ परेका घिमिरे पटक–पटक भिजिट भिसामा दुबई जाने र सुन तस्करी गर्दै आएको प्रहरी स्रोत बताउँछ । अध्यागमन कर्मचारीसँगैको मिलेमतोमा उनी त्यसरी सहजै विदेश जाने गरेका थिए । एकजना कर्मचारीको मात्र मिलेमतोमा यसरी भिजिट भिसामा सेटिङ सम्भव नभएकाले यसमा अन्य कर्मचारीसमेत संलग्न भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । 

अध्यागमन कर्मचारीको मिलेमतोमा हजारौँ व्यक्ति खाडी तथा मलेसिया गएर त्यहाँ अलपत्र परेको विषयमा पनि हाल गृह मन्त्रालयले छानबिन गरिरहेको छ । २०२१ मा एक लाखभन्दा धेरै नेपाली भिजिट भिसामा खाडी तथा मलेसिया गएका थिए । 

यसअघि प्रहरी तथा भन्सार कर्मचारीको मिलेमतोमा विमानस्थलबाट पटक–पटक सुन तस्करी भएको पुष्टि भइसकेको छ । ०७३ मा त्यसरी विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पिंगलास्थानमा सिआइबीले बरामद गरेको थियो । जसमा भन्सार कर्मचारी तथा प्रहरी अधिकारीको संलग्नता देखिएको थियो । त्यस्तै, ०७४ मा त्यसैगरी भित्रिएको सुन हराएको घटनामा थप छानबिन हुँदा पाँच वर्षदेखि विमानस्थलमार्फत सेटिङमा सुन तस्करी हुँदै आएको खुलेको थियो ।

विगतमा भन्सारका कर्मचारीसँगको सेटिङ हुनेमा हाल अध्यागमन कर्मचारीसँग तस्करहरूले साँठगाँठ गरेको खुलेको छ । प्रहरीका कर्मचारी मिल्ने आशंकामा उनीहरूलाई ड्युउटीको समयमा मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । अध्यागमन कर्मचारीलाई पनि ड्युउटीमा निजी मोबाइल बोक्न रोकिएपछि नासु गुरागाईंले कसरी सेटिङ मिलाए खुल्न सकेको छैन । 

बारम्बार सुरक्षा त्रुटि 
९ फागुनमा एक युवक सुरक्षा जाँचलाई चुनौती दिँदै विमानस्थलको पश्चिमतर्फको कम्पाउन्डबाट छिरेर विमानभित्रै पुगेका थिए । रौतहटका अस्फाम आलम नेपाल एयरलाइन्सको बिजनेस क्लासमा पुगेपछि मात्र पत्ता लागेको थियो । सो विषयमा गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । 

घटनामा पेरिमिटरको सुरक्षाको जिम्मेवारी बोकेको नेपाली सेना तथा विमानस्थलभित्रको सुरक्षा हेर्ने नेपाल प्रहरीको प्रत्यक्ष कमजोरी देखिएको छ । बोर्डिङ पासविना नै ती व्यक्ति विमानभित्र प्रवेश गर्नुमा नेपाल एयरलाइन्सको पनि कमजोरी प्रस्ट भइसकेको छ । 

त्यस्तै, १८ भदौमा बुद्ध एयरलाइन्सका दुई यात्रु चार किलो सुनसहित नेपालगन्ज जाँदा काठमाडौंको विमानस्थलको चेकिङमा पत्ता लागेको थिएन । नेपालगन्ज विमानस्थलमा पत्ता लागेको थियो । त्यसपछि त्रिभुवन विमानस्थलमा यात्रुलाई जुत्तासमेत खोल्न लगाएर चेकिङ हुने गरेको छ । तर, विमानस्थलभित्र सुरक्षा सुधारका काम भने हुन सकेको छैन ।

सुझावित समाचार