जंगी अड्डामा कमान्ड सेनापति समन्वयात्मक बैठक
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भू–राजनीतिक अवस्थिति संवेदनशील रहेको उल्लेख गर्दै यसका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र क्षेत्र प्रभावित हुने भन्दै सचेत हुनुपर्नेमा जोड दिएका छन् । बुधबार जंगी अड्डामा सुरु भएको कमान्ड सेनापति समन्वयात्मक बैठकमा देउवाले अन्तर्राष्ट्रिय परिस्थितिको फेरबदलले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने बताए ।
प्रधानमन्त्री देउवाले काठमाडौं–तराई÷मधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले गरेको योगदानको प्रशंसा गर्दै समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । सेनाको पहलमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञहरू उत्पादन हुने उनको विश्वास थियो । उनले सेनाअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनालगायत महŒवपूर्ण आयोजना निर्माणका लागि आवश्यक स्रोतसाधनको अभाव हुन नदिने वचन पनि दिएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताए । जिम्मेवारी पूर्ण रूपमा सम्पन्न नभएसम्म सेना कर्तव्यपथमा अडिग रहने पनि प्रधानसेनापतिको भनाइ थियो । उनले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको निरन्तर अध्ययन, अनुगमन र विश्लेषण हुँदै आएको पनि स्पष्ट पारेका छन् । शर्माले सम्भावित सुरक्षा चुनौतीहरूलाई सामना गर्न सेना तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।
साउनदेखि सेनाले तीन जोड एक कमान्ड सुरु गरेपछि यो पहिलो समन्वयात्मक बैठक हो । सेनाले पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार कमान्डमा पुनर्संरचना गरेको छ । बिहीबारसम्म सञ्चालन हुने बैठकमा प्रधानसेनापति शर्मा, जंगी अड्डाका सबै उपरथी, सबै कमान्ड सेनापति, सेनाका विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरू तथा उपत्यकाभित्र रहेका बाहिनीपतिहरू पनि सहभागी छन् । बैठकमा कमान्ड सेनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्यसमीक्षा एवं सुझावहरूसहितको प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ । सेनाले सेना दिवसको पूर्वसन्ध्यामा हरेक वर्ष समन्वयात्मक बैठक आयोजना गर्दै आएको छ ।