तीन लाख जनसंख्या भएको विराटनगरमा दक्ष अग्निनियन्त्रक दुई, दमकल तीन

सोमबार, ९ फागुन, २०७८
डिजिटल संस्करण
तीन लाख जनसंख्या भएको विराटनगरमा दक्ष अग्निनियन्त्रक दुई, दमकल तीन

विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा राखिएका दमकल

प्रदेश १ को राजधानी विराटनगर आगलागीको उच्च जोखिममा छ । बढ्दो जनसंख्या र अव्यवस्थित सहर विस्तारका कारण विराटनगरमा आगलागी भए ठूलो क्षति हुने सम्भावना छ ।  करिब तीन लाख जनसंख्या भएको विराटनगर महानगरपालिकाको बारुणयन्त्र शाखामा जम्मा पाँचवटा दमकल छन् । पाँचमध्ये सबैभन्दा ठूलो एउटा दमकल वर्षौंदेखि बिग्रिएर थन्किएको छ । अर्को एउटा दमकल धेरै पुरानो भएकाले विराटनगरबाहेक अन्त जान सक्दैन । चालू अवस्थाका तीनवटा दमकल तीन हजार लिटर मात्रै पानी बोक्ने क्षमताका छन् । प्रदेश सरकारले महानगरलाई दिएको यी दमकलले मात्र आगलागी नियन्त्रण गर्न सक्ने अवस्था नरहेको शाखाले जनाएको छ । 

पोखरीबाट पानी भर्नुपर्ने बाध्यता 
डा. चन्द्र उपाध्याय, समाजशास्त्री

महानगर भइसक्दा पनि विराटनगरमा पानीले निभाउने खालको परम्परागत बारुणयन्त्र मात्रै प्रयोगमा छ । यो विधि आगलागी नियन्त्रणका लागि पर्याप्त हुँदैन । हावाहुरीको समयमा मात्र आगलागी हुन्छ भन्ने सोच त्यागेर बारुणयन्त्रलाई उपकरण, स्रोत र जनशक्तिले दक्ष बनाउनुपर्छ । विराटनगरमा निर्माण भएका र भइरहेका भवनहरू कुनै पनि अग्निनियन्त्रक तरिकाले बनाइएका छैनन् । पानीले निभाउन नसक्ने आगोको जोखिम पनि बढ्दो छ । सूचना प्रणालीलाई पनि व्यवस्थित गर्नुपर्छ । दमकलका लागि पानी भर्ने स्थान पनि निर्माण गरिएका छैनन् । अझै पनि विराटनगरको दमकलले प्राकृतिक स्रोत नदी र पोखरीबाट पानी भर्नुपर्ने बाध्यता छ । 

बारुणयन्त्र शाखामा आगो निभाउन चाहिने हेभी क्रेन एउटा पनि छैन । आगो निभाउँदा चाहिने अरू आवश्यक सुरक्षा उपकरणको पनि अभाव छ । महानगरको बारुणयन्त्र शाखामा जम्मा दुईजना मात्रै तालिमप्राप्त जनशक्ति छन् । बाँकी १२ जनाले अह्राए–सुनेकै भरमा काम गरिरहेका छन् । बारुणयन्त्र शाखाका कर्मचारीहरूका अनुसार ठूला अग्ला होटेल र मलहरूमा आगलागी भए माथिसम्म जान सक्ने क्रेनसहितको दमकल अभाव छ । अर्कोतिर, ठूला स्थानमा आगलागी भए भित्र कसरी पस्ने र पानी कसरी पु¥याएर फर्केने भन्ने न त योजना छ, न त कर्मचारीलाई तालिम र अभिमुखीकरण नै दिइएको छ । 

बारुणयन्त्र शाखामा तीन सिफ्टमा १४ ले काम गर्छन् । शाखा इन्चार्ज भीमबहादुर विष्टका अनुसार बारुणयन्त्रको नियमअनुसार एउटा दमकलमा चालकसहित कम्तीमा पाँचदेखि ६ जना जनशक्ति आवश्यक पर्छ । विष्टका अनुसार विराटनगरमा बढ्दो भौतिक संरचना र जनघनत्वअनुसार अग्ला ठाउँहरूमा जोखिम मोलेर आगो निभाउन जानेको पनि उत्तिकै आवश्यकता छ । 

 अग्निनियन्त्रक यन्त्र प्रयोगविहीन
आगलागीको जोखिम बढे पनि  विराटनगरका सार्वजनिक स्थलहरूमा अग्निनियन्त्रक यन्त्रहरूको प्रयोग गर्न छाडिएको छ । प्रशासनले अनुगमन नगर्दा व्यस्त बजार, मल, सपिङ सेन्टर, सिनेमा हल, होटेल, सभा केन्द्र र पसलहरूमा अनिवार्य राख्नुपर्ने अग्निनियन्त्रण यन्त्रहरू राखिएका छैनन् । केहीले राखे पनि देखावटीजस्ता मात्रै छन् । यसैले पनि विराटनगर आगलागीको झन् धेरै जोखिममा छ ।

 सूचना प्रणाली पनि परम्परागत 
विराटनगर महानगरको आगलागीबारे सूचना संकलन र बुझ्ने प्रणाली पनि परम्परागत छ । अहिले पनि आगलागी भए प्रहरी वा जनप्रतिनिधिमार्फत सर्वसाधारणले ल्यान्डलाइन फोनमा सूचना दिनुपर्ने बाध्यता छ । जसले गर्दा दमकल शाखालाई समयमै आगलागीको सूचना पाउन गाह्रो हुने गरेको छ । र, सूचना पाएपछि पनि समयमा पुग्न नसक्दा धेरै धनजनको क्षति भइसकेको हुन्छ । महानगरपालिकाले सूचना संकलन र विश्लेषणका लागि मोबाइल एप र पोर्टल बनाएर सूचनाको अभिलेखीकरणलाई सहज बनाएको छैन । बारुणयन्त्र शाखाको रेखदेखको जिम्मा पाएका विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेल विराटनगरका लागि तुरुन्तै दुईवटा आधुनिक उपकरणसहितको दमकल अति नै आवश्यक भएको बताउँछन् । तर, हेभी क्रेनसहितको आधुनिक दमकल खरिदबारे महानगरपालिकाले चासो देखाएको छैन । विराटनगर महानगरपालिकाले १५ वर्षदेखि दमकल थप गरेको छैन ।

See More On

सुझावित समाचार