लाप्राकमा मकैको विवाह !

शुक्रबार, ६ फागुन, २०७८
डिजिटल संस्करण

यतिवेला विवाहको सिजन छ। गाउँघरमा कन्या केटा र कन्या केटीको धमाधम विवाह भइरहेको छ। धार्चे गाउँपालिका– ४ लाप्राकमा पनि गाउँलै नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका छन्। तर, मान्छेको होइन मकैको। मकैको पनि विवाह हुन्छ भनेर कतिपयलाई थाहा नहुन सक्छ, छैन भने आउनुहोस् थाहा पाई राख्नुहोस्। 

उत्तरी गोरखाको अधिकांश गाउँमा परम्परादेखि मकै विवाह गर्ने चलन छ। यहाँको मुख्य खाद्य बालीको रूपमा रहेको मकैको उब्जनी राम्रो होस् तथा असिना, रोग नलागोस् भनेर परम्परादेखि नै यहाँ मकैको बिहे गर्ने प्रचलन छ। बिहे नगरी मकै रोप्नुहुन्न भन्ने धार्मिक, सांस्कृतिक मान्यताअनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन्। 

ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ। विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूला आँगनमा जम्मा हुन्छन्। अति गाउँबाट एउटा बालकलाई डोलीमा राखेर बाजागाजासहित जन्ती जाने गर्छन्। अघिअघि ढ्याङ्ग्रो, मादल र झ्यालीलगायतका बाजागाजासहित पछाडि डोलीसहित जन्ती हुन्छ। ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जंगलमा घरका रूपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ। जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन्। बेलुकी सबै ठूलो आँगनमा जम्मा भई नाचगान गरी भुटेको मकैको भोज खाएपछि मकै विवाह सकिन्छ।  

उक्त बिहे नगरी मकै रोप्दा अशुभ हुने मान्यता रहेको वडा अध्यक्ष राज गुरुङले बताए। बेहुलासहित जन्तीहरू बेहुलीको घर पुगेपछि केहीबेर नाचगान चल्छ। जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँ थुप्राइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। मकै बिहे भनेको गाउँलेहरू सामूहिक भेला भएर गर्ने प्राकृतिक पूजा हो। मकै रोप्नुअघि बिउ चोख्याउन, किराबाट जोगाउन, हिउँ र असिनापानीबाट जोगाउन गरिने पूजा भएको स्थानीयवासीहरू बताउँछन्।  साँझ घाटु नाचसँगै यस वर्षको मकै बिहे सकिन्छ। 

गाउँका जैसी (पुरोहित) तथा झाँक्रीहरूले एक साताअघि नै मकै बिहेको साइत जुराएका थिए। मकै छर्नुअघि सबै अन्नको पूजा गर्ने चलन भएपनि मकै मुख्य बाली भएकाले यसको बिहे गर्ने गरेको स्थानीयहरू बताउँछन्। शुक्रबार साँझपख लाप्राकीहरू बेहुलीको घरबाट आफ्नो घरतिर फर्कँदा एक–एक मुठी मकैको बिउ लिएर गएर उक्त बिउ घरको मकैमा मिसाएका छन्। मकै बिहेलाई उत्सवकै रूपमा मनाउने प्रचलन रहेको स्थानीय बताउँछन्।
 
‘यो पुरानो परम्परा हो, यसरी मकैको बिहे गरेपछि वल्ल मकै लगाउन सुरु हुन्छ। बिहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ,’ स्थानीय धन माया गुरुङले भनिन्। मकै विवाह प्रकृति पूजा भएको उनले बताइन्। उनका अनुसार बर्नेसि माघ १५ देखि फागुन १५ सम्मको बीचको एक दिन साइत जुराएर मकै विवाह गर्दै आएका छन्।  उत्तरी गोरखाको धार्चे गाउँपालिकाभित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापुलगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ। अरू गाउँमा यसअघिका लगनमा मकै बिहे सम्पन्न भइसकेका छन्। 
 

सुझावित समाचार