भारतको मुस्लिम बाहुल्य कस्मिर उपत्यकामा एक मुस्लिम बाबुछोराले वर्षौँदेखि शिव मन्दिरको रेखदेख र संरक्षण गरेर धार्मिक सदभावको उदाहरण प्रस्तुत गर्दै आएका छन् । कान नसुन्ने र नबोल्ने अवस्थाका उनीहरूले गोपी तीर्थ मन्दिरको संरक्षण गर्दै आएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
निसार अहमद अली र उनका छोराले ६ वर्षभन्दा बढी समयदेखि मन्दिर संरक्षण गर्दै आएका छन् । मन्दिर परिसरमा उनीहरूले सरसफाय गर्ने, बगैँचा रेखदेख गर्ने तथा तरकारी लगाउने काम गर्दै आएका छन् । ‘स्थानीयहरूका अनुसार यो मन्दिर र संरक्षणकर्ताहरू सामाजिक–धार्मिक सदभावका उदाहरण हुन्,’ एएनआईले समाचार लेखेको छ ।
स्थानीय फिरदोसले भनेका छन्, ‘निसार यहाँ सामाजिक सदभावका उदाहरण भएका छन् । उनीहरूले आफ्नो प्रतिकूल स्वास्थ्यका बाबजुत साँच्चै नै सामाजिक कर्तव्य निर्वाह गरेका छन् ।’ उनका अनुसार निसारको परिवार नभएको भए पनि स्थानीय मुस्लिम समुदायले मन्दिरको संरक्षण गर्ने निश्चित थियो । अर्का स्थानीय उमरले भनेका छन्, ‘जम्मु–कस्मिरमा मुस्लिम समुदायले मन्दिरको संरक्षण र रेखदेख गर्दै आएका उदाहरण अनेकौँ छन् । गोपी तीर्थ मन्दिर संरक्षण एउटा प्रतिनिधि उदाहरण मात्रै हो ।’
जम्मु–कस्मिरमा भ्रातृत्व र धार्मिक सदभावका उदाहरण असंख्य भए पनि सञ्चारमाध्यममा नकारात्मक विषय मात्रै आउने गरेको स्थानीयले गुनासो गरेका छन् ।