देशको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन जिम्मेवारी र अधिकार स्थानीय तहलाई दिएको छ । आधारभूत र माध्यमिक तहको शिक्षा स्थानीय तहहरूले नै सञ्चालन गरेका छन् । संविधानले दिएको अधिकारलाई यहाँका स्थानीय तहले आत्मसात गर्दै स्थानीय शिक्षा ऐन बनाएका छन् । शिक्षा ऐनसँगै जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन थालेका छन् ।
जिल्लाका केही स्थानीय तहहरूले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका हुन् । जिल्लाको तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले गत वर्ष नै पाठ्क्रम निर्माण गरी चालू शैक्षिक सत्रमा कार्यान्वयन गरेका छन् । त्यस्तै ताराखोला गाउँपालिकाले पनि पाठ्क्रम सार्वजनिक गरेर आगामी शैक्षिक सत्रदेखि लागू गर्ने जनाएको छ । त्यसैगरी गलकोट, बडिगाड, बाग्लुङले पनि आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने गरी पाठ्यक्रम निर्माणलाई तीव्रता दिएको बताएका छन्। जिल्लाका दश स्थानीय तहमध्ये जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले भने पाठ्यक्रम निर्माणको योजना नै नबनाएको बताएका छन् ।
पाठ्यक्रममा स्थानीयतालाई नै प्राथमिकता
स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा स्थानीयतालाई नै प्राथमिकता दिएको शिक्षा विकास तथा समन्वय इकाइ बाग्लुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । उपाध्यायका अनुसार स्थानीयस्तरमा रहेको भौगोलिक, सांस्कृतिक, उत्पादन, रीतिरिवाज, कृषि, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रलाई समेटेको पाइएको छ। ‘शिक्षाको विकासमा स्थानीय तहहरूले ठूलो योगदान गरेका छन,’ उपाध्यायले भने, ‘स्थानीय तहले संघीयताको मर्मअनुसारको काम गरेका छन् । अब प्रत्येक गाउँ नगरपालिकाका विद्यार्थीले आफ्नो गाउँठाउँको बारेमा राम्रोसँग पढ्न पाउनेछन् ।’