युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषता भएको ‘जीवन आवरण बिमा योजना’ सञ्चालनमा ल्याएको छ । कम्पनीले बिमा समितिबाट योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बिमा योजनामा बिमा गर्नेहरूका लागि विविध सुविधाहरू उपलब्ध रहेको जनाइएको छ ।
यो बिमा योजनामा बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जीवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुने तथा बिमा अवधिभित्र कालगतिले मृत्यु भएमा थप बिमांक रकम अर्थात् दुई गुणा बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसैगरी, दुर्घटनाबाट मृत्यु भएमा बिमांक रकमको दुई गुणा बिमांक रकम, अतिरिक्त दुर्घटना लाभबापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुने जनाइएको छ ।
उक्त योजना लिन चाहनेले न्यूनतम एक लाख रुपैयाँदेखि आयस्रोतका आधारमा चाहेअनुसार बिमांक रकमको बिमा गर्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । साथै, न्यूनतम सात वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बिमा गर्न सक्ने जनाइएको छ । यस बिमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ । उक्त बिमा योजना लिएका बिमितहरूले बिमालेखअन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।