मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्न २५ लाख बजेट विनियोजन

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका निम्ति लमजुङको मर्स्याङ्दी गाउँपालिकाले बजेट बाँडफाँड गरेको छ। गत असारमा सम्पन्न गाउँसभाबाट विनियोजित २५ लाख गाउँ कार्यपालिकाको बैठकले विभिन्न शीर्षकमा बाँडफाँड गरेको हो। गाउँ कार्यपालिकाको बैठकले पाँचवटा होमस्टेसहित विभिन्न पर्यटकीय सम्पदा प्रवर्द्धनका लागि बजेट बाँडफाँड गरेको छ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा पालिकाअन्तर्गतका पाँचवटा होमस्टेका लागि प्रतिगाउँ दुई लाखका दरले उपलब्ध गराउने भएको छ। गाउँपालिकाले मर्स्याङ्दी– १ घनपोखरा होमस्टे, ३ को सिउरुङ होमस्टे, ५ को खानीगाउँ रक गार्डेन होमस्टे, ८ को भुष्मे होमस्टे र वडा नम्बर ९ को भलामचौर होमस्टेका लागि बजेट विनियोजन गरेको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।

होमस्टेहरूले विनियोजित  रकमबाट आवश्यकताअनुसार संरचना निर्माण, पूर्वाधार विकास तथा विविध क्रियाकलाप गर्न सक्नेछन्। गाउँपालिकाले होमस्टेसँगै मर्स्याङ्दी–४, च्याम्चेमा रहेको तारेभिर रक क्लाइम्बिङ प्रवर्द्धनका लागि पाँच लाख विनियोजन गरेको छ। गाउँपालिकाले पालिकाअन्तर्गत पर्यटकीय गन्तव्य हर्सिङ डाँडामा आवश्यक खानेपानी तथा शौचालय निर्माण तथा व्यवस्थापनका लागि समेत दुई लाख रुपैयाँ विनियोजन गरको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए।

विकका अनुसार गाउँपालिकाले मर्स्याङ्दी– ७, ताङ्लीचोकमा रहेको डा. हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख, वडा नं २ घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि दुई लाख, ८ को बान्द्रे भिर रक क्लाइम्बिङ अध्ययनका लागि एक लाख, मर्स्याङ्दी–६ भिरपुस्तुन कालिका मन्दिर निर्माणका लागि दुई लाख र पालिकाअन्तर्गत आवश्यक पर्यटन प्रवर्द्धनका निम्ति एक लाख छुट्याएको छ।

सुझावित समाचार