एमाले परित्याग गर्ने तीन कार्यपालिका सदस्य कारबाहीमा

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)ले तीनजना कार्यपालिका सदस्यलाई कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएर अहिले पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले दाङले तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरू जानका रेग्मी,  डिला परियार र दीपक कुमाललाई कारबाही गरेको हो। 

एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिव  मनोहर बुढाथोकीले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले समेत उनीहरूलाई कारबाही  गरिसकेको जनाएका छन्। एमाले विभाजन हुँदा एमाले नै रोजेका उनीहरू पछि समाजवादीमा गएका थिए। त्यसपछि उनीहरूलाई एमालेले कारबाही गरेको हो। कुमाल भने सुरुदेखि नै माधव नेपालको एकीकृत  समाजवादीमा खुलेका थिए। उनी एकीकृत समाजवादीको तुलसीपुर कमिटी सचिवसमेत छन्।

रेग्मी केही समयअघि मात्रै अधिवेशनबाट एमालेको जिल्ला सदस्य भएकी थिइन्। तर, उनी एमाले परित्याग  गरी समाजवादी प्रवेश गरेकी हुन्। एमाले स्रोतका अनुसार उनी एमालेमा हुँदा मनोहर बुढाथोकीनिकट मानिन्थिन्। तर, पछिल्लो समय उनीहरूबीचको राजनीतिक सम्बन्ध चिसिएको स्रोतले बताएको छ। त्यस्तै परियार पनि  रेग्मीसँगै एकीकृत समाजवादीमा प्रवेश गरेकी हुन्।

माया आचार्यलाई पनि कारबाही !
एमालेले तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख  माया आचार्यलाई पनि कारबाही गरेको थियो। तर, त्यो कारबाही भूलवश भएको एमाले दाङले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा आचार्यको नाम उल्लेख भई  अन्यथा  भएको हुँदा सो भ्रममा नपर्न सबैमा अपिल गर्दछौँ।’
 

सुझावित समाचार