ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण
ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

वर्षाका कारण डुबानमा परेको साओ पाउलो राज्यको फ्रांको दा रोचा नगर ।

ब्राजिलमा बाढीका कारण मृत्यु हुनेहरूको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरूले जनाएका छन्। अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका हुन्।

उनीहरूका अनुसार ब्राजिलमा पछिल्ला केही दिनदेखि वर्षा कायमै छ। वर्षापछि आएको बाढीका कारण हराइरहेका तीनजनाको बुधबार शव भेटिएको थियो। प्राप्त समाचारअनुसार  यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरू बढीका कारण विस्थापित भएका बताइएको छ।

बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ। यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने ६ दिनयता जनजीवन प्रभावित बन्दै गएको छ। यहाँका अधिकारीहरूले केही स्थानमा सैनिक हेलिकोप्टरहरूले उद्धार गरिरहेको बताएका छन्। केही सहायता सामग्री पनि हेलिकोप्टरहरूले पुर्याइरहेका बताइएको छ। उद्धारमा खटिएका अधिकारीहरूले अन्य सातजना हराइरहेका बताएका छन्।

यहाँका मौसमविद्हरूले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन आग्रह गरेका छन्। उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन्। ब्राजिलको साओ पाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। रासस/सिन्ह्वा

सुझावित समाचार