संक्रमितलाई नेगेटिभ रिपोर्ट दिएर सामाजिक अपराध

मंगलबार, १८ माघ, २०७८
डिजिटल संस्करण

सरकारबाट पिसिआर परीक्षण गर्न अनुमति पाएका केही निजी ल्याबले कोरोना संक्रमितलाई नेगेटिभ रिपोर्ट दिएर सामाजिक अपराध गरेका छन् । पजिटिभ रिपोर्ट आए पनि पैसाका लागि व्यक्तिको चाहनाअनुसार नेगेटिभ रिपोर्ट बनाइदिएर बदमासी गरेका घटना दोहोरिँदै आएका छन् । ल्याबका यस्ता बदमासीले संक्रमण फैलाउन भूमिका खेलेको र यो सामाजिक अपराध भएको स्वास्थ्यविद्हरू बताउँछन् । 

छानबिन भइरहेको छ डा. रुणा झा निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

कोभिडका बिरामीको उपचारमा सय बेड दिने अस्पतालले पिसिआर ल्याब राख्न सक्ने प्रावधानअनुसार नागरिक कम्युनिटी अस्पताललाई पनि अनुमति दिएको हो । तर, पजिटिभ रिपोर्टलाई नेगेटिभ बनाएर दिनु अपराध हो । त्यसबारे छानबिन भइरहेको छ र अस्पतालको जवाफ आएपछि कारबाही प्रक्रिया अघि बढ्छ ।

गत बिहीबार मात्रै भक्तपुरको नागरिक कम्युनिटी अस्पतालले धनुषाका शिवकुमार मण्डललाई संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट दिएको पुष्टि भएको छ । वैदेशिक रोजगारीमा जान नेगेटिभ रिपोर्ट चाहिएपछि मण्डललाई अस्पतालको ल्याबले नेगेटिभ नै रिपोर्ट बनाइदिएको हो । त्यसो त सुरुमा ल्याबले मण्डललाई पजिटिभ रिपोर्ट नै दिएको थियो, त्यही रिपोर्ट लिएर उनी विमानस्थल पुगेका थिए । पजिटिभ रिपोर्ट देखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले आइसोलेसन सेन्टर पठाउन खोज्दा उनी भागे । केही समयपछि नै ल्याबले उनको नेगेटिभ रिपोर्ट बनाइदियो र सिस्टममा पनि राखिदियो । दुवै रिपोर्टमा मिति, समयलगायत सबै एउटै छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा पजिटिभलाई नेगेटिभ रिपोर्ट दिनु गम्भीर अपराध भएको बताउँछिन् । तर, उक्त अस्पतालमाथि कारबाही भने गरिएको छैन । 

नक्कली पिसिआर रिपोर्ट बनाइएका यी उदाहरण 
- १३ माघमा भक्तपुरको नागरिक कम्युनिटी अस्पतालले धनुषाका शिवकुमार मण्डललाई संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट दिएको पुष्टि भएको छ । सुरुमा ल्याबले मण्डललाई पजिटिभ रिपोर्ट नै दिएको थियो, त्यही रिपोर्ट लिएर उनी विदेश यात्राका लागि विमानस्थल पुगेका थिए । पजिटिभ रिपोर्ट देखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले आइसोलेसन सेन्टर पठाउन खोज्दा उनी भागे । केही समयपछि नै ल्याबले उनको नेगेटिभ रिपोर्ट बनाइदियो र सिस्टममा पनि राखिदियो ।

- पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा सहिद गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवलाई गत मंसिरमा सेवाबाटै हटाइएको थियो । यादवले पिसिआरको नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याड दुरुपयोग गर्ने, विनापरीक्षण रिपोर्ट निकाल्ने गरेको भेटिएको थियो । उनले विदेश जाने व्यक्तिको परीक्षणमा संक्रमण देखिए रकम लिएर नेगेटिभ रिपोर्ट बनाइदिने गरेका थिए । 

- सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालिले भाइरस जाँच नै नगरी संक्रमण नभएको भनेर रिपोर्ट दिने गरेको भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गत ८ वैशाखमा ल्याब सञ्चालन अनुमति नै निलम्बन गरेको थियो । विदेश जाँदा नेगेटिभ रिपोर्ट देखाउनुपर्नेसँग ल्याबले पैसा लिएर यस्तो धन्दा गरेको भेटिएको थियो । ल्याबको बदमासी बाहिरिएपछि त्यतिवेला विदेश जान लागेका कैयौँ यात्रु विमानस्थल हेल्थ डेस्कबाट फिर्ता हुनुपरेको थियो । 

सुझावित समाचार