भारतमा आतंक, नेपालमा बेफिक्री

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण
भारतमा आतंक, नेपालमा बेफिक्री

भारतबाट घर फर्किँदै गरेका नागरिक बुधबार पश्चिमी नाका गड्डाचौकीमा । तस्बिर : मोहन विष्ट

छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ, तर नेपाली नाकामा परीक्षण नगन्य छ, दैनिक भित्रिने हजारौँ नागरिक बेफिक्री गाउँगाउँ पुगिरहेका छन् 

छिमेकी भारतमा एक सातामा कोरोना संक्रमण पाँच गुणाले बढेको छ । नेपालमा पनि एक सातामा संक्रमण दर दोब्बरले बढेको छ । यस्तो जोखिमपूर्ण अवस्थामा खुला सिमानाबाट दैनिक हजारौँ नागरिक ओहोरदोहोर गरिरहेका छन् । सरकारले नाकामा परीक्षण दर बढाउनुपर्नेमा आउने संख्याको तुलनामा झन् घटाएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भन्छन्

भारतीय नाका हुँदै स्थलमार्ग र हवाईमार्गबाट आउनेहरू संक्रमित भेटिएका छन् । उनीहरूमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ ओमिक्रोन नै हो भन्ने हो । अहिलेको अवस्था हेर्दा जनवरीको अन्तिमतिर  नेपालमा संक्रमण बढ्ने अनुमान छ ।

नेपालमा १४ पुसमा दुई सय २० नयाँ संक्रमित पुष्टि भएकामा २१ पुसमा चार सय ३५ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या मात्रै होइन, संक्रमणदर पनि झन्डै दोब्बरले नै बढेको छ । दुई सय २० जनाको पजिटिभ रिपोर्ट आएको अघिल्लो बुधबार सात हजार ६ सय आठको नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर २.८९ प्रतिशत हुन्छ । बुधबार चार सय ३५ मा संक्रमण पुष्टि हुँदा भने १० हजार दुई सय ६९ नमुना परीक्षण भएको थियो, जुन संक्रमणदर ४.२३ प्रतिशत हुन्छ । 

दुई साताअघिको तथ्यांकसँग तुलना गर्दा नेपालमा संक्रमण थोरै–थोरै गर्दै निरन्तर बढेको देखिन्छ । ४ पुसमा नौ हजार आठ सय ७२ नमुना परीक्षण गर्दा एक सय ८१ मात्रै पजिटिभ देखिएका थिए, जुन संक्रमणदर १.८३ प्रतिशत मात्रै हुन्छ । 

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला दिन संक्रमित हुनेहरू भारतसँगका खुला नाका र हवाईमार्ग हुँदै आएका व्यक्ति धेरै छन् । नाकामा गरिएको एन्टिजेन परीक्षणमा आएका नतिजाले पनि यसलाई पुष्टि गर्छ । छिमेकी भारतमा नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिरहेको छ । युरोपमा त ओमिक्रोनसँगै आइएचयू भेरियन्ट पनि पुष्टि भएको छ । 

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए । ७ पुसमा ५८ वर्षीय अर्का व्यक्तिमा पनि ओमिक्रोन पुष्टि भएको थियो । अहिले बढिरहेको संक्रमण ओमिक्रोन हो वा होइन पुष्टि गर्न सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न सकेको छैन । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झा जिन सिक्वेन्सिङमा ‘एस जिन’ नेगेटिभ देखिने संख्या बढ्दो क्रममा रहेकाले नेपालमा ओमिक्रोन नै फैलिएको बताउँछिन् । 

‘अहिले विश्वव्यापी रूपमै अल्फा भेरियन्ट (पुरानो) कम देखिएको छ । यही वेला ओमिक्रोन देखा पर्नु र एस जिन नेगेटिभको संख्या पनि बढ्नुले ओमिक्रोन संक्रमित नै बढेको पुष्टि गर्छ,’ उनले भनिन् । हाल ओमिक्रोन आशंकामा २४ नमुनाको जिन सिक्वेन्सिङ सुरु गरिएको र दुई दिनपछि नतिजा आउने झाले बताइन् ।
अल्फा भेरियन्ट नदेखिएकाले सरकारले ‘एस जिन’ नेगेटिभ आएका सबैलाई सीधै ओमिक्रोन नै पुष्टि गर्ने तयारी पनि गरेको छ । यस विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत निकायबीच छलफल भइसकेको छ । अहिले जिन सिक्वेन्सिङका लागि घानमा हालिएका २४ नमुनाको नतिजा आउन्जेलसम्म कुरिएको स्रोतले बतायो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक रुणा झा भन्छिन्–

ओमिक्रोन पुष्टि गर्न आवश्यक जिन सिक्वेन्सिङका लागि रिएजेन्ट अभाव छ । पाँच सय रिएजेन्ट ल्याइएकामा अब एकपटकलाई मात्रै पुग्छ । एकपटकमा २४ वटासम्म नमुना परीक्षण गर्न सकिन्छ । थप पाँच सय मगाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले पनि नेपालमा ‘ओमिक्रोन’ बढ्न थालेको अनुमान लगाएका छन् । नेपाल–भारत सीमानाकामा शून्यमा झरेको केस फेरि दैनिक रूपमा बढ्न थालेको र ती नमुनामा ‘एस जिन’ नदेखिएको उनले बताए । 

‘भारतसँगको सीमानाका र हवाईमार्गबाट आउनेहरू संक्रमित भेटिएका छन् । यो संख्या दिनदिनै बढिरहेको छ । र, उनीहरूको नमुना परीक्षणमा एस जिन नेगेटिभ देखिएको छ । यसको अर्थ ओमिक्रोन नै हो भन्ने हो,’ डा. पौडेलले भने, ‘अहिलेको अवस्था हेर्दा जनवरीको अन्तिमतिर  नेपालमा संक्रमण बढ्ने अनुमान छ । 

स्वास्थ्य मन्त्रालयले गरायो ‘अलर्ट’
कोरोनाको सम्भावित तेस्रो लहरसँग जुध्न तीनै तहका सरकारले प्रभावकारी कदम चालेका छैनन् । यसअघि बनाइएका आइसोलेसन, क्वारेन्टिनलगायत संरचना पनि कायम छैनन् । जोखिमबाट जोगिन स्वास्थ्य मन्त्रालयले ‘अलर्ट’ भने गराएको छ । 

मन्त्रालयले कोरोनाको नयाँ लहर रोक्न र क्षति कम गराउन विगतमा सम्भव भएका कार्यालय घरबाट चलाउन, भिडभाड नगर्न, मास्क, स्यानिटाइजर नियमित प्रयोग गर्न तथा खोप नलगाएकालाई तुरुन्त लगाउन आग्रह गरेको छ । प्रदेश र स्थानीय सरकारलाई निर्देशन पनि दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो । 

त्यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी क्वारेन्टिन तथा परीक्षण गर्न, सीमानाकामा प्रवेश गर्ने यात्रुहरूको प्रोटोकलअनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरूको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टिनमा रहेका व्यक्तिहरूको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

थप मात्रा खोप रोकियो 
संक्रमण बढ्न थालेपछि सरकारले कोरोनाविरुद्धको थप मात्रा खोप दिने अभियान रोकेको छ । ठूलो संख्यामा नागरिकले खोप नपाएको र नयाँ भेरियन्टको जोखिम बढेको भन्दै खोप नपाउनेलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने नीति मन्त्रालयले लिएको हो । 

सोमबार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले ६० वर्षमाथि र दीर्घरोगीलाई कोरोनाको थप मात्रा खोप दिने निर्णय गरेको थियो । त्यसको २४ घन्टा नबित्दै स्वास्थ्य मन्त्रालयले महाशाखाको निर्णय रद्द गरेको हो । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले सबै नागरिकलाई कोभिडको पूर्ण मात्रा खोप उपलब्ध गराएपछि मात्रै थप मात्राको निर्णय गर्ने बताइन् । 

कतिले लगाए खोप ?
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार बुधबार दिउँसोसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय २७ मात्रा खोप प्राप्त भएको छ । हालसम्म दुई करोड ५५ लाख २१ हजार ६ सय ३९ मात्रा खोप लगाइएको छ । एक करोड ४७ लाख १७ हजार दुई सय २६ जनाले एक मात्रा लगाएको र एक करोड आठ लाख चार हजार चार सय १३ जनाले पूर्ण मात्रा लगाएको उनले बताए ।

सीमा नाकाकाे अवस्था

गड्डाचौकी कञ्चनपुर :  संक्रमित बढ्दै, भारतबाट आउने सीधै घर पुग्छन्

दिल्लीबाट ३८० किलोमिटर दूरीमा रहेको गड्डाचौकी नाकाबाट भित्रिनेमा पजिटिभ रिपोर्ट आउनेको संख्या बढिरहेको छ । सोमबार चारजनामा देखिएकोमा मंगलबार नौजनामा पजिटिभ देखिएको छ ।

जमुनाह बाँके :  रुपैडिहामा संक्रमण तीव्र, सबैको परीक्षण छैन

सीमावर्ती बजार रुपैडिहामा संक्रमण तीव्र छ । दैनिक सयौँ नेपाली र भारतीय नेपालगन्ज–रुपैडिहा आउजाउ गर्छन् । तर, जमुनाह नाकामा लखनउ दक्षिणबाट आउनेको मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

गौरीफन्टा धनगढी :  दुई दिनमै ५७ जनामा संक्रमण

भारतबाट दैनिक करिब चार सय व्यक्ति गौरीफन्टा नाका भएर भित्रिन्छन् । नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन जयराज ढुंगानाका अनुसार मंगलबार र बुधबार मात्रै ५७ जनमा पजिटिभ देखिएको छ । 

बेलहिया भैरहवा :  हरेक दिन दोब्बरले बढ्न थाले संक्रमित

बेलहिया नाकामा केही दिनदेखि संक्रमितको संख्या दोब्बरले बढेको छ । दैनिक २५० भन्दा बढी व्यक्ति भित्रिने गरेको यो नाकामा सोमबार १०, मंगलबार १७ र बुधबार ३५ जनामा संक्रमण देखिएको छ । 

वीरगन्ज पर्सा : नाकामा भिड बढ्यो, परीक्षण अत्यन्त न्यून

वीरगन्ज नाका हुँदै भित्रिनेको संख्या बढेको छ । तर, परीक्षण बढेको छैन । सोमबार पाँच सय, मंगलबार सात सय र बुधबार आठ सयजना भित्रिएकोमा क्रमश: १३८, १४५ र १४८ को मात्रै परीक्षण भयो ।  

जोगबनी विराटनगर :  भित्रिनेको संख्या बढ्दै, परीक्षण झन् घट्दै 

भारतबाट जोगबनी नाका हुँदै दैनिक पाँच सयदेखि सात सयको हाराहारीमा भित्रिने गरेका छन् । यो संख्या दैनिक बढ्दो छ, तर नाकामा रहेको हेल्थ डेस्कमा परीक्षण भने झन्झन् घटाइँदै छ । 

काँकडभिट्टा झापा : दैनिक हजार भित्रिन्छन्, ३० जनाको मात्रै परीक्षण

काँकडभिट्टा नाकाबाट सोमबार ८४१  जना भित्रिएकामा तीनजनाको मात्रै परीक्षण भयो । मंगलबार भित्रिएका ९२९ मध्ये ३० जनाको मात्रै परीक्षण भयो । बुधबार भित्रिनेको संख्या ११०३ पुग्दा परीक्षण भने झन् घटाएर २० जनाको मात्रै भयो । प्रहरीको तथ्यांकअनुसार १ पुसदेखि बुधबारसम्म १३,२५९ जना भित्रिएकोमा ४५८ को मात्रै एन्टिजेन परीक्षण गरिएको छ ।

भारतमा एक सातामा संक्रमण पाँच गुणाले बढ्यो : राजधानी दिल्लीमा सातामा दुई दिन कर्फ्यु
ओमिक्रोन भाइरस भित्रिएसँगै कोरोनाको तेस्रो लहर फैलिएको भारतमा एक सातामै संक्रमणदर झन्डै पाँच गुणाले बढेको छ । अघिल्लो बुधबार नौ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएकोमा बुधबार ४२ हजार एक सय ७४ जनामा कोरोना पजिटिभ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयको रिपोर्ट छ । भारतमा बुधबार पाँच सय ३४ को मृत्यु भएको छ । संक्रमण बढेसँगै निजी कार्यालयमा कर्मचारीको भौतिक उपस्थिति घटाउँदै लगिएको छ । घरबाट काम गर्न निर्देशन गरिएको छ । सातामा दुई दिन राति कफ्र्यु लगाइएको छ । तर, संक्रमण बढ्ने क्रम रोकिएको छैन ।

फ्रान्समा देखिएको नयाँ भेरियन्ट ‘आइएचयू’ भारतमा पनि पुग्यो 
ओमिक्रोनले विश्वमा संक्रमणको अर्को लहर निम्त्याएका वेला फ्रान्समा देखिएको ‘आइएचयू’ भेरियन्टले थप जोखिम बढाएको छ । पहिलोपटक फ्रान्समा देखिएको बि.१.६४० नयाँ भेरियन्ट तीव्र फैलिन थालेको हो । मंगलबार पुष्टि भएको यो भेरियन्ट बुधबारसम्म भारतसहित १९ देशका चार सय व्यक्तिमा देखिएको छ । आइएचयूमा स्पाइक प्रोटिमासहित ४६ भन्दा बढी म्युटेसन भेटिएको छ । 

भारतमा नौ हजार नमुनाको जिन सिक्वेन्सिङ गर्दा एकजनामा आइएचयू देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म सबैभन्दा धेरै फ्रान्समा दुई सय ८७ जनामा आइएचयू पुष्टि भएको छ । कंगोमा ३९, जर्मनीमा १७ र बेलायतमा १६ जनामा देखिएको छ । आइएचयूलाई विश्व स्वास्थ्य संगठनले निगरानीमा रहेको भेरियन्टका रूपमा वर्गीकृत गरेको छ । अत्यधिक म्युटेसन र छोटो समयमा धेरै संक्रमित फेला परे पनि यसलाई कम संक्रामक मानिएको छ । फ्रान्सको इन्स्टिच्युट हस्पिटल युनिभर्सिटीअन्तर्गतको ‘आइएचयू मेडिट्रेनी इन्फेक्सन इन्स्टिच्युट’का विज्ञहरूको प्यानलले गरेको पछिल्लो सर्वेक्षणले भने फ्रान्समा तीन महिनाअघि नै यो भेरियन्ट देखिएको दाबी गरेको छ । सर्वेक्षणले गत नोभेम्बरमा दक्षिण–पूर्वी फ्रान्सको एउटै भौगोलिक क्षेत्रमा बसोवास गर्ने १२ व्यक्तिमा नयाँ भेरियन्ट पत्ता लागेको जनाएको थियो । जसमध्ये पहिलो संक्रमित क्यामरुनको यात्राबाट फर्केका थिए । 

सुझावित समाचार