भारतमा लगानीको आकर्षण बढेको दाबी

बुधबार, २१ पुष, २०७८
डिजिटल संस्करण

भारतका सूचना प्रविधि एवं सीप विकासमन्त्री राजीव चन्द्रशेखरले अहिले विश्वव्यापी चिप फर्महरूले भारतमा लगानीका लागि रुचि लिएको जिकिर गरेका छन् । भारतले सेमिकन्डक्टर तथा उत्पादन इकोसिस्टम विकासका लागि ७६ हजार करोड रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको उल्लेख गर्दै उनले यसलाई विश्वव्यापी फर्महरूले मन पराएको बताएका छन् । 

‘विश्वव्यापी फर्महरूले विश्वास गर्छन् कि यो भारतीय अवसरको अध्ययन गर्ने सही समय हो,’ चन्द्रशेखरले भने, ‘किनभने भारत अहिले विश्वको भरपर्दो प्रविधि साझेदारको रूपमा अघि बढिरहेको छ । हामी यसका लागि अवसरको प्याकेज उपलब्ध गराउँदै छौँ जसले  सेमिकन्डक्टर स्पेसको लागि डिजाइन, नवाचार र निर्माणसम्मको सम्पूर्ण इकोसिस्टम निर्माण गर्न गति दिनेछ ।’ 

उनले विश्वका अग्रणी वैश्विक सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले भारतको अवसर अवलोकन र अध्ययन गर्न गहिरो चासो राख्ने गरेको पनि बताए । आगामी ६ वर्षमा सिलिकन सेमिकन्डक्टर फ्याब्स, डिस्प्ले फ्याब्स, इत्यादि जस्ता सेमिकन्डक्टरहरूको सम्पूर्ण उत्पादन र मूल्य शृंखलामा संलग्न करिब २० कम्पनीहरू स्थापनाका लागि सहजीकरण गर्ने भारत सरकारको लक्ष्य छ । ‘सेमिकन्डक्टर भिजन र बढ्दो इलेक्ट्रोनिक्स अवसर एउटा कथा हो जुन संसारले अहिले धेरै विश्वसनीय रूपमा पाएको छ’ राज्यमन्त्री चन्द्रशेखरको भनाइ थियो । 

उनका अनुसार पछिल्ला दुई वर्षमा भारतले २,००० भन्दा बढी एकीकृत सर्किट र सेमिकन्डक्टरहरू डिजाइन गरेको छ। अब इलेक्ट्रोनिक्स उत्पादनलाई प्रबर्द्धन गर्न सरकारले मेडिकल इलेक्ट्रोनिक्स, टेलिकम, आइटी हार्डवेयर, मोबाइल उपकरणहरूलगायतका विभिन्न क्षेत्रका लागि उत्पादन–लिङ्क्ड इन्सेन्टिभ (पिएलआई) योजनाहरू अघि बढाइसकेको उनको भनाइ थियो । 

उनले आइटी हार्डवेयरको लागि प्रोत्साहन गर्ने पनि बताए । ‘हामी आइटी हार्डवेयरलाई मोबाइल उपकरण क्षेत्र जस्तै सफल बनाउन चाहन्छौँ,’ उनले भने ।

सुझावित समाचार