‘हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज’को उपाधि लक्ष्मण र हुमीलाई

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण

‘हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज’को उपाधि लक्ष्मण मल्ल र हुमी बुढामगरले हात पारेका छन्। शनिबार रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा सञ्चालन भएको प्रतियोगिताको पुरुषतर्फको उपाधि एपिएफका मल्ल र महिलातर्फको उपाधि प्युठानकी बुढामगरले हात पारेकी हुन्। मल्लले एक घन्टा २९ मिनेट १९ सेकेन्डमा दूरी पार गरे भने बुढामगरले एक घन्टा ५३ मिनेट १३ सेकेन्डमा दूरी पार गरिन् । उपाधिसँगै मल्लले नगद ४० हजार  र बुढामगरले १५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्।

पुरुषतर्फको प्रतियोगितामा एपिएफकै सुरज रानामगर दोस्रो भएका छन्।  उनले एक घन्टा २९ मिनेट ४२ सेकेन्डमा दूरी पार गरे। त्यसैगरी, गोरखाका प्रकाश थापामगर एक घन्टा २९ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए। महिलातर्फ नुवाकोटकी लक्ष्मी मगर दोस्रो भइन्। उनले एक घन्टा ५३ मिनेट १५ सेकेन्डमा दूरी पार गरिन्। तेस्रो भएकी धरानकी इन्द्रकला नेम्वाङले दुई घन्टा दुई  मिनेट ४८ सेकेन्डमा दूरी पार गरिन्।

द्वितीय र तृतीय भएकाहरूले क्रमशः १० हजार र सात हजार नगद प्राप्त गरेका छन्। त्यसैगरी, चौथोदेखि दशौँ स्थानसम्म आउनेलाई क्रमशः सात हजार, ६ हजार, पाँच हजार, चार हजार, तीन हजार, दुई हजार, एक हजार ७ सय नगद पुरस्कार प्रदान गरिएको छ। यसैगरी, मास्टर्स र जुनियरका शीर्ष तीन स्थानमा आउनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार नगद प्रदान गरिएको छ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको आयोजनामा रसुवामा पहिलोपटक हाई अल्टिच्युट माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगिता कालिकास्थानको सहिदगेटबाट सुरु भई घुम्ती बजार, लामा टोल, गुम्बा डाँडा, स्याउबारी, नौकुण्ड गाउँपालिकाको लोकिल, आरुखर्क, घोर्मु, सरस्यु, किमार्जाेङ, खाल्चेत, जीवजिबे हुँदै पुनः कालिका हिमालयन क्याम्पसमा आएर अन्त्य भएको थियो। प्रतियोगिताको दूरी ३०.६ किलोमिटर रहेको रसुवा जिल्ला खेलकुद विकास समिति तथा रसुवा जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले जानकारी दिए।

सुझावित समाचार