दूधले फेरेको जीवन

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

रुकुम पश्चिमको मुसिकोट नगरपालिका- २ कालच्युरीका तिलकबहादुर खत्रीको दैनिकी बिहान ४ बजेदेखि सुरु हुन्छ । राति १० बजे सकिन्छ। भैँसीको स्याहारसुसार र दुग्धजन्य पदार्थ बेच्दाबेच्दै दिन बित्छ। यो क्रम ०५० सालदेखि आजसम्म पनि चलिरहेको छ। त्यति वेला उनको गोठमा तीनवटा भैँसी मात्र थिए। ती भैँसीले दिने दूधमा दिनकै १६ माना बिक्री हुन्थ्यो। दूध बेच्न खत्री परिवारको एक सदस्य बिहान झिसमिसेमै पौने घन्टाको दूरी तय गरेर सदरमुकाम मुसिकोट पुग्थे।

‘प्रतिमाना पाँच रुपैयाँमा दूध बेचेर पनि मनग्य आम्दानी गरिएको थियो,’ खत्रीले भने।

अहिले भने खत्री परिवारको भैँसीपालनमा धेरै परिवर्तन आएको छ। बुबा तिलकबहादुरले सम्हालेको भैँसीपालनको मोर्चा अहिले उनका दुई छोराले जिम्मा लिएका छन्। निजामती कर्मचारी कान्छा छोराले पनि वेलावेला सघाउँछन्। परम्परागत रूपमा भैँसी पाल्ने खत्री परिवार अहिले व्यावसायिक बने। घरको मात्र होइन, छिमेकीको दूधसमेत संकलन गरेर बिक्री गर्छन् । खत्री परिवार आत्मनिर्भर छ। अन्य केहीलाई रोजगारी पनि दिएको छ। पाँच रुपैयाँ माना दूध बेच्ने यो परिवारले अहिले अरूको दूध खरिद गर्ने र ७५ रुपैयाँ प्रतिलिटर बेचिरहेको छ। 

खत्री परिवारले सञ्चालन गरेको शिद्धबाबा कृषि फर्ममा अहिले उन्नत जातका १७ वटा माउ भैँसी छन्। आठवटा त दुहुना नै। तीनवटा दूध दिने गाई पनि गोठमा छन्। गाभिनो पाँचवटा भैँसी छन्। एउटा राँगा छ। ११ वटा पाडापाडी र बाच्छाबाच्छी। खत्री परिवारका ६ जना पूरै यसैमा खटिन्छन्। तीनजनालाई रोजगारी दिइएको छ। 

गाडीमा दूध सररर

दुई दशकसम्म पैदल हिँडेरै दूध बेच्ने खत्री परिवारले अहिले गाडीमा बोक्छ। दूध व्यवसायकै लागि ३२ लाख खर्चेर गाडी किने। सो रकममा २४ लाखको ३० प्रतिशत अनुदान पाएको थियो। पशु अस्पताल तथा पशु सेवा कार्यालयले गाडीका लागि ३० प्रतिशत अनुदान दिएको शिद्धबाबा कृषि फर्मका प्रोपराइटर रमेशले बताए। उनी तिलकका माइला छोरा हुन्। यो फर्म खत्री परिवारको निजी हो। यही फर्मबाट उनीहरू दैनिक ८० देखि ९० लिटर दूध उत्पादन गर्छन्।

घरमै उत्पादित र गाउँबाट संकलित दूध गाडीमा लोड गरेर रुकुम पश्चिम र पूर्वमा लगेर बिक्री गरिन्छ। गाडीले धेरै सजिलो बनाएको रमेशले बताए। दैनिक एक सय ७० लिटरभन्दा बढी दूध लिएर गाडी रुकुम पश्चिमको मुसिकोट खलंगा र रुकुम पूर्व सदरमुकाम रुकुमकोटसम्म पुग्छ। खत्री परिवारले मुसिकोट खलंगा र रुकुमकोटमा डेरीसमेत सञ्चालन गरेको छ। यी दुई ठाउँबाट दैनिक दुई सय ५० लिटरभन्दा बढी दूध बिक्री भइरहेको छ। यसका अलावा दही, खुवा, पनिरलगायत दुग्ध जन्य पदार्थको पनि राम्रै व्यापार हुन्छ। 

अनुदानले हौस्यायो

०७३ सालदेखि व्यावसायिक भैँसीपालनमा होमिएकाे खत्री परिवारले विभिन्न ठाउँबाट अनुदान पाएकाे छ। ०७५ मा भैँसी राख्ने ट्रस्ट बनाउँदा तत्कालीन भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ६ लाख, ०७७ मा गाडी किन्दा ३० प्रतिशत अनुदान पायाे। नगरपालिकाकै उत्कृष्ट कृषकका रूपमा २५ हजारको पुरस्कारले पनि उनीहरूलाई झनै उत्साहित बनायो। नगरपालिकाले दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिने कार्यक्रमअन्तर्गत खत्री परिवारले ०७७ मा २४ हजार प्रोत्साहनसमेत पायो। घाँस काट्ने इलेक्ट्रोनिक्स च्यापकटरमा पनि ५० प्रतिशत अनुदान पाएको छ। अनुदान, प्रोत्साहन, पुरस्कार जस्ताले थप हौसला मिलेको रमेश बताउँछन्।

०५२ सालमा प्रतिमाना पाँच रुपैयाँमा दूध बेच्दा महिनामा ३० हजारजतिको दूध बिक्री हुन्थ्यो। त्यसैबाट बचाएर परिवारको गर्जो टर्थ्याे। आज त्यही परिवार वार्षिक ६० लाखको दूधको कारोबार गर्छ। कुनै वेला वर्षमा गर्ने कारोबार अहिले दिनमै हुन्छ। सबै खर्च कटाएर वर्षमा ६ लाखभन्दा बढी बच्ने रमेश बताउँछन्। पढेर–लेखेर पनि केको भैँसी पालेको होला भनेर आफूहरूको खिसिट्युरी गर्ने छिमेकीले नै अहिले भैंसी पाल्न थालेको उनले सुनाए। माउ भैँसी र गाईको संख्या ५० पुर्‍याउने र वर्षमा एक करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने लक्ष्य परिवारको छ। फर्ममा जेनेरेटर, चिलिङ भ्याट, खोर वृद्धि गर्ने र ट्याक्टरजस्ता औजारसमेत आवश्यकता रहेको रमेशको भनाइ छ। 

दूधमा आत्मनिर्भर

रुकुम पश्चिम दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनेको छ। गत आव ०७७/७८ मा जिल्लाभरमा २ लाख ७५ हजार चार सय ४५ लिटर दूधको कारोवार भएको थियो। जिल्लामा कारोबार भएको दूधको आधा नेपालगञ्ज, सल्यान, जाजरकोट र रुकुम पूर्वसम्म पुगेको छ। एक वर्षमा दुई करोड दुई लाख ४२ हजार १४ रुपैयाँको दूध तथा दुग्धजन्य पदार्थको कारोबार भएको पशु सेवा कार्यालयले जनाएको छ। सरकारबाट पशु फर्म, डेरी उद्योग, चिस्यान केन्द्र स्थापना, भैँसी स्रोत केन्द्र स्थापनालगायतमा अनुदान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ। गत वर्ष मात्र जिल्लाभरमा ७० लाख खर्चेर चार सय १६ वटा भैंसी वितरण गरिएको पशु सेवाका कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले बताए।

उता दूधबाटै नगरवासीको आयस्रोतमा वृद्धि गराउने भन्दै मुसिकोट नगरपालिकाले उद्घोष नै गरेको छ। नगर प्रमुख देवीलाल गौतम भन्छन्, ‘भैंसीमा अनुदान, दूधमा अनुदानदेखि विभिन्न उपकरणमा समेत नगरले सहयोग गर्नु यसको उदाहरण हो। नगरपालिकाको ४ नम्बर वडामा अहिले दुग्ध संकलन केन्द्र छ। उक्त डेरीले मात्र गत वर्ष ७४ हजार लिटर दूध नेपालगन्ज पठाएको थियो। अहिले सोही वडामा दैनिक ४० हजार लिटर क्षमताको अर्को डेरीको काम भइरहेको छ। नगरपालिकाले यो वर्ष कृषकलाई एक सय २० वटा गाई बाँढ्दै छ।

नगरको ४५ लाख, प्रदेशको ४५ लाख र कृषकको ९० लाखमा गाई वितरण हुन लागेको नगर पशु सेवाको भनाइ छ। पशु प्रवर्द्धनका लागि नगरले यो वर्ष ७० लाख विनियोजन गरेको छ। घाँस वितरण, औषधि, कृषक तालिम, कृत्रिम गर्भधारणलगायत कार्यक्रम यो वर्ष हुने नगर पशुसेवा शाखा प्रमुख सरस्वती सापकोटा बताउँछिन्। दुई लाख रुपैयाँ सहुलियत कर्जाका लागि नगरपालिकाले पहल गरिरहेको छ। निःशुल्क पशु बिमा कार्यक्रम पनि छ। गत वर्ष भैँसी वितरण भएका छन्। नगरपालिकाले कृषकलाई दूधमा प्रतिलिटर तीन रुपैयाँ प्रोत्साहन दिएको छ। यो वर्ष भने पाँच रुपैयाँ पुर्‍याउने योजना छ। यसका लागि १५ लाख बजेट चालू वर्षका लागि विनियोजन भएको नगरपालिकाले जनायो।

See More On

सुझावित समाचार