अफगान महिलामाथि अत्याचार र अमेरिकी आँसु

बिहिबार, ३१ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकाका प्रायः सबै राजनीतिक तप्काले अफगानिस्तानमा तालिबानको पुनः नियन्त्रणपछि त्यहाँका महिलाको भाग्यका लागि आँसु चुहाइरहेका छन् । उसो त यो रुवाइ विगत २० वर्षदेखि अफगान महिलालाई तालिबानबाट मुक्त गराउनुपर्छ भनेर जारी नै रहेको छ । स्मरण रहोस्, अफगानिस्तानमा छेडिएको युद्धको मुख्य कारण अल–कायदाको ११ सेप्टेम्बर २००१ को हमलाको बदला थियो । त्यसबाहेक युद्धलाई अफगान महिला मुक्तिका लागि भनेर पनि पुष्टि गर्ने गरिन्छ । तर, यस रुवाइलाई पाखण्डबाहेक अर्को नाम दिन सकिँदैन । यो पाखण्डपन शीतयुद्धको समयमा अफगान महिलाविरुद्ध अमेरिकाले पितृसत्तावादी धार्मिक अतिवादीलाई समर्थन गर्दा सबैभन्दा बढी मुखरित भएको थियो ।    

 गरिब अफगानिस्तानमाथि १० वर्षे सोभियत कब्जा महिला मुक्तिका लागि गरिएको थियो भन्ने दाबी अमेरिकाभन्दा सहज ढंगले गर्न सकिन्थ्यो । किनभने सोभियत प्रायोजित पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तान (पिडिपिए) ले अफगान महिलालाई परम्परागत पितृसत्तात्मक सांग्लोबाट मुक्त गराउन महत्वपूर्ण भूमिका निभाएको थियो । नेटोकै सहयोगी संस्था इन्टरनेसनल क्राइसिस ग्रुप (आइसिजी) को सन् २००३ को प्रतिवेदनले पिडिपिए सत्ताले महिला मुक्तिका लागि गरेका काम सोभियत पतनसँगै निष्क्रिय भएपछि महिलामाथि चरम रुढीवाद लागू गरिएको देखाएको छ । आइसिजीको २०१३ को प्रतिवेदनले २००३ को सो प्रतिवेदनलाई यसरी संक्षेपीकरण गरेको छ :

‘दाउद खानको सत्तालाई अपदस्थ गरेपछि पिडिपिएले महिलालाई समान अधिकार प्रात्याभूत गर्ने, अनिवार्य शिक्षा लागू गर्ने र बाध्यकारी तथा बालविवाहमा प्रतिबन्ध लगाउने वाचा गरेको गरेको थियो । पिडिपिए सत्ताले महिला रोजगारीको पनि प्रत्याभूति गराएको थियो । तालिबानले सन् १९९० को मध्यमा अफगानिस्तानमा कब्जा जमाउँदा ७० प्रतिशत शिक्षक, करिब आधा निजामती कर्मचारी र ४० प्रतिशत डाक्टर महिला थिए ।’ 

अमेरिकी राजनीतिक तप्काले अफगान महिला मुक्तिका लागि चुहाएको आँसुलाई गोहीको आँसु भन्दा अतिशयोक्ति हुँदैन

यति लेख्दै गर्दा आइसिजीले पिडिपिए सत्ता एवं सोभियत अतिक्रमणकारीले विद्यालयको लैंगिक पृथकीकरण अन्त्य गर्न लादिएका दमन एवं क्रूरतापूर्ण उपायलाई भने छुटाएका छैनन् । क्रूरतापूर्वक विद्यालयको लैंगिक पृथकीकरण अन्त्य गरिए पनि पिडिपिए सत्तामा भएको विशेषतः सहरी क्षेत्रका महिलाको उत्थानलाई अस्वीकार गर्न सकिँदैन । अर्कोतर्फ पिडिपिए सत्ताका विपक्षी चरमपन्थी थिए, जो मूलतः महिलाविरोधी थिए अर्थात् १९८० का मुजाहिद्दिन र १९९० का तालिबानमा तात्विक भिन्नता थिएन । आइसिजी २०१३ का अनुसार तत्कालीन मुजाहिद्दिनले आफ्नो महिलाविरोधी रबैया जनरल जिया उल हकको रुढीवादी पाकिस्तानमा रहेका अफगान शरणार्थी शिविरमा लागू गर्थे । पाकिस्तानी सैन्य तानाशाह अतिरिक्त मुजाहिद्दिनलाई चरम महिलाविरोधी पुरातनपन्थी तथा अमेरिकी साझेदार साउदी अरबले समेत सहयोग गरेको थियो । 

तालिबानले अफगानिस्तान कब्जा गरेको दुई वर्षपछि सन् १९९८ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरका राष्ट्रिय सुरक्षा सल्लाहकार रहेका एज्बिग्निउ ब्रजजेन्स्कीको एक फ्रेन्च पत्रिकामा छापिएको अन्तर्वार्ता निकै चर्चित हुन पुग्यो । ब्रजजेन्स्कीका अनुसार अमेरिकाले सोभियत संघलाई पनि अमेरिका भियतनाममा फसेजस्तै दलदलमा फसाएर पाठ सिकाउन चाहेको थियो ।

भविष्यमा आतंकवादलाई जन्म दिने गरी इस्लामिक चरमपन्थीलाई हतियार एवं सुझाब दिएकोमा कुनै पछुतो छ भनेर प्रश्न गर्दा ब्रजजेन्स्कीले ‘विश्व इतिहासमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? तालिबान वा सोभियत साम्राज्यको पतन ? केही उत्तेजित मुसलमान वा मध्य युरोपको मुक्ति एवं शीतयुद्धको अन्त्य ?’ भनेर सनकी जवाफ फर्काएका थिए । जलमेय खलिल्जाद झैँ ब्रजजेन्स्कीले तालिबानलाई चोख्याउने प्रयत्न भने गरेनन् ।

स्मरण रहोस्, खलिल्जादले रेगन एवं सिनियर बुस रक्षा प्रशासनमा काम गरेका थिए भने जुनियर बुसका पालामा इराक र अफगानिस्तानका लागि अमेरिकी राजदूत भएका थिए । एक वर्षअगाडि तालिबानसँग वार्ता गर्न राष्ट्रपति ट्रम्पले उनलाई जिम्मेवारी दिएका थिए । तिनै खलिल्जादले १९९६ को वासिंगटन पोस्टको अन्तर्वार्तामा तालिबानको इस्लामिक उग्रवाद इरानमा झैँ अमेरिकी विरोधी छैन र अफगानिस्तानमा अमेरिकी पुनः संलग्नतालाई अस्वीकार गर्नेछैनन् भनेर अभिव्यक्ति दिएका थिए ।

खलिल्जादको महिला अधिकारप्रतिको उच्च चासोलाई केही नारीवादीले रुचाए पनि खलिल्जाद इरानको इस्लामिक अतिवादको निन्दा गर्ने, तर साउदीको अतिवादलाई प्रश्रय दिने वासिंगटनको पाखण्डका प्रतीक हुन् । रोचक के छ भने, तुलनात्मक रूपमा इरान साउदीभन्दा लोकतान्त्रिक एवं उदार छ । अफगान महिलाका लागि खलिल्जादले भनेझैँ अफगानिस्तानमा अमेरिकी पुनः संलग्नता पनि हुन सकेन । यसको कारण ९० को दशक अन्त्यताका अमेरिकामा अल–कायदा हमला थियो र बदलामा सन् १९९७ मा अफगानिस्तानमा बिन लादेनका सैन्य अखाडामा राष्ट्रपति क्लिन्टनले हमला गरे । नतिजा ९/११ भयो, त्यसबारे संसारलाई अवगत नै छ ।   

महिलाको स्थिति अमेरिका प्रायोजित इस्लामिक गणतन्त्र अफगानिस्तान (सन् २००४ देखि २०२१) मा उन्नत थियो वा पिडिपिए सत्ताको अफगानिस्तानमा थियो, त्यसबारे बहस गर्न सकिन्छ । तथापि पिडिपिए सत्ताले पितृसत्तात्मक चलन बोक्ने समूहलाई कुनै पनि किसिमको प्रोत्साहन गरेको थिएन । त्यसबाहेक अधिकांश महिला, जो ग्रामीण क्षेत्रमा बस्थे, ती अमेरिकी युद्धको चरम मारमा परेका थिए । यस सन्दर्भमा हालका दिनमा भएका घटनाले तालिबान नरम भएको वासिंगटनको दाबी एक प्रहसन मात्रै देखिन्छ । तसर्थ, अमेरिकी राजनीतिक तप्काले महिला मुक्तिका लागि चुहाएको आँसुलाई गोहीको आँसु भन्दा अतिशयोक्ति नहोला ।   
ज्याकोबिनबाट (अचर स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिज युनिभर्सिटी अफ लन्डनका प्राध्यापक हुन्) 
 

सुझावित समाचार