- एउटै पाइपबाट तीनैथरी पेट्रोलियम ल्याउन निगमका कर्मचारीले आइओसीको प्राविधिकबाट लिए तालिम
- पाइपबाट पेट्रोल आयात गर्नुअघि २३ हजार किलोलिटर अटाउने भण्डारणगृह आवश्यक, १३ हजार किलोलिटर अटाउने स्टोरेज तत्काल तयार हुँदै
- पाइपलाइनबाट एकपटक मट्टीतेल ल्याउँदा महिनाभर पुग्ने, मुलुकको ९० प्रतिशत पेट्रोलको माग पाइपले धान्ने
नेपाल आयल निगमले डिजेल आयात गरिरहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयातको समेत गृहकार्य अघि बढाएको छ । यसका लागि निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जका प्रमुख प्रदीप यादवको नेतृत्वमा इन्जिनियर र प्रयोगशालाको प्राविधिक सम्मिलित सात सदस्यीय टोलीले इन्डियन आयल कर्पोरेसन (आइओसी) को मोतीहारी र पटना डिपो तथा बरौनी रिफाइनरीमा तालिम लिएका छन् ।
अमलेखगन्ज डिपो प्रमुख इन्जिनियर यादवले गत बिहीबारदेखि शनिबारसम्म आइओसीको प्राविधिकबाट एउटै पाइपलाइनबाट तीनथरी पेट्रोलियम (डिजेल, पेट्रोल र मट्टीतेल) आयातको विषयमा तालिम लिएको बताए । मोतीहारी–अमलेखगन्ज पाइपलाइन तीनवटै पेट्रोलियम आयात गर्न मिल्ने गरी निर्माण गरिए पनि दुई वर्षअघिदेखि डिजेल मात्रै आयात भइरहेको छ ।
‘बिहीबार दिउँसो मोतीहारी डिपो अवलोकन गरेका थियौँ । अहिले सोही ठाउँदेखि अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पाइप बिछ्याएर डिजेल आइरहेको छ,’ यादवले भने, ‘मोतीहारी डिपो निर्माणको अन्तिम चरणमा पुगेको रहेछ । त्यहाँबाट नेपालमा पाइपबाट इन्धन पठाउन निर्माण गरेको पम्पिङ सेड, हामीलाई पठाउने तेल भण्डारणका लागि बनाइएको नयाँ स्टोरेज ट्यांक, टिएलएफ सेडलगायतको अवलोकन गर्यौँ ।’
आइओसीले सात महिनापछि (२२ मार्च, २०२२) मोतीहारी डिपो सञ्चालन गर्ने तयारी गरेको छ । उक्त डिपो सञ्चालनमा आएपछि त्यहीँको भर्टिकल ट्यांकको तेल पाइपबाट अमलेखगन्ज पठाइनेछ । मोतीहारीमा आइओसीले ठूला भर्टिकल ट्यांक निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । ठूला क्षमताको भर्टिकल ट्यांक बनाउने प्रविधि अवलोकन गरेका यादवले भने, ‘आयल निगमले अमलेखगन्जमा पनि चार नयाँ भर्टिकल ट्यांक बनाउन लागेको छ । त्यसैले मोतीहारीको नयाँ भर्टिकल ट्यांक निर्माणको बारेमा बुझ्न पाउँदा धेरै कुरा जानियो । यसले अमलेखगन्जमा निगमले बनाउन लागेको भर्टिकल ट्यांक निर्माणका लागि धेरै सहयोग मिल्नेछ ।’
यादव नेतृत्वको टोली शुक्रबार आइओसीको पटना टर्मिनल पुगेको थियो । हाल त्यहीँबाट पम्पिङ भई दुई सय ६८ किलोमिटर दूरी पार गरी अमलेखगन्जमा डिजेल आउने गरेको छ । निगमको टोलीलाई एउटै पाइपबाट पेट्रोल, डिजेल र मट्टीतेल कसरी पठाउने र ह्यान्डलिङ गर्दा के–कस्ता सावधानी अपनाउने भन्ने विषयमा तालिम दिइएको थियो । पटना पुगेर तालिम लिएका अमलेखगन्ज पाइपलाइन परियोजनामा कार्यरत इन्जिनियर चिन्तन कोइरालाले आइओसीको बिहार रिफाइनरीले पटनामा एउटै पाइपलाइनमा पेट्रोल, डिजेल र मट्टीतेल पठाएर धेरै कुरा सिकाएको बताए ।
‘पाइपलाइन नियमनका लागि बनाइएको पटनाको कन्ट्रोल रुममै दुई–तीन घन्टा बसेर हामीले आइओसी प्राविधिकले गरेको काम हेर्यौँ, त्यसपछि एउटै पाइपबाट पेट्रोल, डिजेल, मट्टीतेल पठाउने, एउटामा अर्को पेट्रोलियम मिसिन नदिई स्टोरेज ट्यांकमा खसाल्ने काम पनि हामीले गर्यौँ,’ उनले भने, ‘एक हिसाबमा हामीले प्राक्टिकल्ली नै एउटै पाइपबाट तीनथरी पेट्रोलियम ल्याउन सक्ने अभ्यास गरिसकेका छौँ र अब अमलेखगन्जमा पनि बसेर काम गर्न सक्ने अवस्थामा पुगेका छौँ ।’
आइओसीका अधिकारीले निगमको टोलीलाई सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएको कोइरालाले बताए । त्यसक्रममा एउटा पेट्रोलियम पठाएपछि अर्को पेट्रोलियम पठाउनुअघि पाइप सफा गर्न तथा एउटामा अर्को पेट्रोलिमय नमिसियोस् भन्नका लागि ‘पाइपलाइन कम्प्याटिबल किरोसिन’ (पिसिके) पठाउने र त्यसलाई छुट्याएर राख्ने प्रविधिसमेत सिकेको उनले बताए ।
निगमको टोली शनिबार बरौनी रिफाइनरी पुगेको थियो । पाइपलाइनमा तेल कसरी खसाल्ने, पाइपको तेल भण्डारण ट्यांकमा कसरी प्राप्त गर्ने, पाइपको कुनै भागमा तेलको गुणस्तर वा चापमा कुनै असर परेको भए कसरी थाहा पाउनेलगायतका विषयमा निगमको टोलीले बरौनी रिफाइनरीस्थित आइओसीका अधिकारीबाट थप जानकारी लिएको टोली प्रमुख यादवले बताए ।
‘बरौनी धेरै ठूलो रिफाइनरी हो । यहाँका प्राविधिकबाट पाइपलाइनको सम्पूर्ण नियमनबारे जानकारी लिन पाउँदा हाम्रा इन्जिनियर र प्रयोगशालाका कर्मचारीहरू उत्साहित छन्,’ उनले भने, ‘अब हाम्रा प्राविधिक कर्मचारीहरूमा मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोल र मट्टीतेल पनि ल्याउन सकिन्छ भन्ने कन्फिडेन्स बढेको छ ।’
भण्डारणगृह विस्तार गरेपछि मात्रै आउँछ पेट्रोल र मट्टीतेल
दुई वर्षअघि नै सञ्चालनमा आएको पाइपलाइनबाट अहिले नै पेट्रोल र मट्टीतेल पनि ल्याउन सकिन्छ । तर, पाइपबाट ठूलो मात्रामा पेट्रोल, मट्टीतेल आउने भएकाले भण्डारण गर्न स्टोरेज ट्यांकको अभाव छ । त्यसैले जतिसक्दो छिटो स्टोरेज ट्यांक बनाउनुपर्ने यादवको भनाइ छ । ‘आइओसी अधिकारीले हामीलाई तालिमका क्रममा दिएको जानकारीअनुसार हप्तामा तीनपटक गरेर कुल २१ हजार किलोलिटर पेट्रोल आउँछ । यो परिमाणको पेट्रोल भण्डारण गर्न हामीसँग पूर्वाधार छैन,’ उनले भने ।

आइओसीको बरौनी रिफाइनरीस्थित पाइपलाइन परियोजना अवलोकन गर्दै निगमका टोली । तस्बिर : नयाँ पत्रिका
पेट्रोल भण्डारणका लागि निगमको अमलेखगन्ज डिपोमा १९ सय ३० किलोलिटर र काठमाडौंको थानकोटमा ६ हजार ७० किलोलिटरको स्टोरेज ट्यांक छ । अन्यत्र साना ट्यांक छन् । अमलेखगन्जमा पाइपलाइन निर्माणकै चरणमा प्रतिबद्धता जनाएअनुसार आइओसीले चार हजार एक सय किलोलिटर क्षमताको दुई गरेर कुल आठ हजार दुई सय किलोलिटरको स्टोरेज ट्यांक बनाउने प्रक्रिया अहिले अगाडि बढाएको छ । त्यस्तै, निगमले चालू आर्थिक वर्ष ०७८/७९ मा बजेट विनियोजन गरी अमलेखगन्जमा पाँच हजार किलोलिटर अटाउने पेट्रोल र पाँच हजार किलोलिटर अटाउने डिजेलको नयाँ भर्टिकल ट्यांक बनाउन लागेको छ ।
यसरी पेट्रोलका लागि हालसम्म १३ हजार किलोलिटर अटाउने स्टोरेज ट्यांकको व्यवस्था भएको छ । निगमले थानकोट डिपोमा पाँच–पाँच हजार किलोलिटर क्षमताका दुईवटा स्टोरेज ट्यांक गरी कुल १० हजार किलोलिटर अटाउने पेट्रोल भण्डारणगृह बनाउने योजना थाती राखेको छ । यी सबै परियोजना सकिने हो भने २३ हजार किलोलिटर पेट्रोल भण्डारण गर्ने पूर्वाधार तयार हुनेछ । यी परियोजनालाई पनि अघि बढाइहाल्ने र निर्माण सक्ने हो भने पाइपलाइनबाट पेट्रोल ल्याउन सम्भव हुनेछ ।
किनभने, प्रत्येक महिना औसतमा कम्तीमा पाइपबाट ८० हजारदेखि ८४ हजार किलोलिटर पेट्रोल आउने देखिन्छ । अमलेखगन्जले हाल पाइपको तेल वितरण गर्दै आएको भैरहवा, पोखरा, अलेखगन्ज, वीरगन्ज, जनकपुर, विराटनगरसम्मको मासिक पेट्रोल खपत पनि ६० हजारदेखि ८० हजार किलोलिटरआसपास हो । पूर्वाधार तयार गरेर पाइपबाट पेट्रोल ढुवानी सुरु गर्ने हो भने मुलुकभरको ९० प्रतिशत पेट्रोलको माग पाइपलाइनले नै धान्न सकिने देखिन्छ ।
गुणस्तर के हुन्छ ?
एउटै पाइपबाट तीनथरी पेट्रोलियम आयात हुँदा मिसिने र गुणस्तरको विषयलाई लिएर उभोक्ताको गुनासो बढ्ने कुरामा सजग भएको निगमको तर्क छ । आइओसीको पटना र बरौनी रिफाइनरीले पाइपबाट तीनथरी तेल पठाउने र नियमन गर्ने गरेको स्थलगत अवलोकन गरेका निगमको अमलेखगन्जस्थित मेकानिकल इन्जिनियर प्रशान्त भट्टराईले तेलमा मिसावटको सम्भावना नरहेको दाबी गरे । ‘एउटा पेट्रोलियम पठाएर अर्को पठाउने वेला बीचमा पाइपलाइन कम्प्याटिबल किरोसिन (पिसिके) पठाइन्छ, हामीले पनि पछि त्यही गर्ने हो,’ भट्टराईले भने, ‘उदाहरणका लागि डिजेल पठाएपछि एकछिन पिसिके पठाइन्छ । यो कति मात्रामा आइरहेको छ, कति बेर आउँछ भन्ने कुरा कन्ट्रोल रुमबाट देखिन्छ । पिसिकेलाई भण्डारण गर्न अलग्गै ट्यांक हुन्छ र त्यहाँ खसालिन्छ ।’
केही क्षण पिसिके आएपछि डिजेल पठाइने र पाइपको अन्तिम बिन्दुमा पिसिके सकिएर डिजेल आउन थालेको सिस्टमले देखाउँछ । त्यसपछि सो डिजेललाई डिजेलको स्टोरेज ट्यांकमा पठाइन्छ । भट्टराईका अनुसार पाइपबाट एकभन्दा बढी पेट्रोलियम पठाउँदा मिसावट हुने सम्भावना नै हुनेछैन । अमलेखगन्ज डिपो प्रमुख यादवले पनि आइओसीको पटना, बिरौनीलगायतका रिफाइनरीले पाइपबाट तेल पठाउँदा मिसावटको घटना नदेखिएकाले नेपालमा त्यही प्रणाली लागू गर्दा समस्या नहुने दाबी गरे । ‘मान्छेले गरेको काममा गल्ती हुन सक्छ टर मेसिनले गर्ने काममा कुनै समस्या हुँदैन,’ उनले भने, ‘त्यसैले पाइपबाट आउने तेलमा मिसावट हुनेबारे उपभोक्ताले गुनासो गर्ने कुनै ठाउँ रहँदैन ।’
एउटै पाइपलाइनले मुलुकको माग धान्ने
दुई वर्षअघि सञ्चालनमा आएको पाइपलाइनलाई पूर्ण क्षमतामा उपयोग गर्ने हो भने मुलुकको पेट्रोलियम माग धान्ने देखिएको छ । हाल डिजेल मात्र आयात भएर बन्द रहने गरेको पाइपलाइनले मुलुकको करिब ८० प्रतिशत डिजेलको माग धानिरहेको छ । पाइपको डिजेल भैरहवा, पोखरा, अमलेखगन्ज, वीरगन्ज, जनकपुर र विराटनगरसम्म पुग्ने गरेको छ ।
अब पेट्रोलसमेत आयात हुने हो भने मुलुकको ९० प्रतिशत पेट्रोलको माग पाइपले धान्ने देखिन्छ । किनभने, हाल मुलुकभर मासिक ४५ हजार किलोलिटर आसपास पेट्रोलको खपत छ । जबकि पाइपबाट ८०–८४ हजार किलोलिटरसम्म पेट्रोल ल्याउन सकिन्छ । मट्टीतेलको माग भने न्यून अर्थात् २३ सय किलोलिटर मात्रै छ । त्यसैले एकपटक पाइपबाट मट्टीतेल ल्याउने हो भने महिनाभरको माग धान्न सकिन्छ । दुई वर्षअघि आइओसीले आफ्नै खर्चमा दुई अर्ब भारुमा ६९ किलोमिटर लामो पाइपलाइन बनाइदिएको थियो ।