विशाल फौजले अमेरिकाको हित गरेको छैन

विशाल सैन्य फौजका कारण समग्र अमेरिकी समाज नै सैन्यकृत हुँदै गएको छ । प्रहरी प्रशासनले समेत सेनालाई धेरै भएका उपकरण तथा हतियार प्रयोग गर्न थालेका छन् ।

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

इतिहासको अधिकांश समय अमेरिका ठूलो भूगोल भएको र सानो सेना भएको देश थियो । यो स्थिति दोस्रो विश्वयुद्धपछि सधैँका लागि बदलियो । विश्वयुद्धपछि अमेरिकी नेतृत्व देशका सामु आएको विश्वव्यापी जिम्मेवारीका कारण शान्तिकालमा पनि विशाल सेना आवश्यक रहेको निचोडमा पुग्यो । विशाल सेनासँगै आणविक हातहतियार तथा विश्वव्यापी सैन्य आधारको सञ्जाल पनि निर्माण गरियो । अमेरिकी नेतृत्वले विशाल सैन्य क्षमताले अर्को विश्वयुद्ध रोकिने, शत्रुलाई निरुत्साहित गर्न सकिने र विदेशी मुलुकलाई आफ्नो इच्छामा पछ्याउन सक्ने आशामा थियो । यद्यपि, अमेरिकी सैन्य आधिपत्यले बिरलै अपेक्षित लाभ दिएको छ । 
२० वर्ष लामो प्रयास र अर्बौं डलर खर्च गरेपछि अमेरिकासमर्थित अफगान सरकारको विघटन असफलताको लामो भाष्यमा पछिल्लो धक्का बनेको छ । अफगानिस्तानको युद्ध एउटा असफल हस्तक्षेप मात्र नभएर विश्वव्यापी सैन्य आधिपत्य कसरी अमेरिकी स्वार्थको प्रतिकूल छ भन्ने प्रमाण हो । अमेरिकाको सैन्य आधिपत्यका कारण उसले जितभन्दा धेरै हार भोगेको छ । साथै, यसले अमेरिकाभित्र र बाहिरको लोकतान्त्रिक मूल्यलाई पनि कमजोर बनाएको छ । 

इतिहासको पाठ भने स्पष्ट छ : ठिक्कको, सीमित सेना र निश्चित रणनीतिक उद्देश्य अमेरिकाको हितमा हुन्छ । अमेरिकी मतदाताको धारणा पनि यही दिशामा गइरहेको छ । अमेरिकाका सामु सैन्य आधिपत्यको मूल्य पुनर्मूल्यांकन गर्नुपर्ने वेला आएको छ । सैन्य शक्तिमाथिको निर्भरताले अमेरिका सुदूर देशको खर्चिलो र लामो युद्धको दलदलमा फस्दै आएको छ । भियतनाम, लेबनान, इराक, अफगानिस्तान र अन्य क्षेत्रको अमेरिकी संलग्नताले अमेरिकालाई घाटा मात्र ग¥यो । अमेरिकी नेतृत्व वर्गले सैन्य सर्वोच्चताले कूटनीतिक र राजनीतिक सीमिततालाई पूर्ति गर्ने सोच्दै आएको छ । विभिन्न समयमा युद्धमैदानमा सफलता हासिल नभएको होइन, तर धेरै युद्ध उसका लागि भार बनेर निस्कियो । 

अमेरिकी सैन्य शक्तिमा उच्च आत्मविश्वासको कारण तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानले कोरियाली युद्धमा आफ्नो सेनालाई उत्तर कोरिया प्रवेश गरेर चीनको सीमासम्म पुग्ने अनुमति दिए । यसले विभाजित कोरियाली प्रायद्वीप पुनः एकीकरण हुन सक्ने ट्रुम्यानको आशा थियो । तर, यो निर्णयका कारण चीन पनि युद्धमा तानियो र कोरियाली युद्ध थप जेलिँदै गयो । आज कोरियाली प्रायद्वीपमा अमेरिकी सैनिक तैनाथ भएको सात दशकपछि पनि उत्तर कोरियाको कम्युनिस्ट शासन विगतको जत्तिकै बलियो देखिन्छ । पछिल्लो समय उसले आफ्नै आणविक अस्त्र क्षमता वृद्धि गरिरहेको छ ।

भियतनामको सन्दर्भमा राष्ट्रपति लिन्डन जोनसनका ‘उत्कृष्ट तथा तीक्ष्ण’ सल्लाहकारले अमेरिकाको विशाल शक्तिले त्यहाँका विद्रोहलाई कुल्चिएर कम्युनिस्टविरोधी प्रतिरोधलाई सबल बनाउन सक्ने सुझाब दिए । तर, त्यसको उल्टो सही थियो । अमेरिकी सेनाको आगमन तथा वृद्धिसँगै विद्रोही झन् लोकप्रिय भए । अमेरिकासमर्थित दक्षिण भियतनामको अमेरिकामाथिको निर्भरता बढ्दै जान थाल्यो । आज अफगानिस्तानमा जस्तै सन् १९७५ मा उत्तर भियतनामको आक्रमणपछि अमेरिकाले तालिम दिएको सेना धराशायी भयो । 

सेना परिचालन सहज विकल्प भएपछि त्योभन्दा उत्कृष्ट विकल्पहरू प्राथमिकतामै पर्दैनन् । विदेशी भूमिमा स्थानीय सरकारी प्रशासनलाई तालिम दिने गैरसैनिक कार्यमा समेत अमेरिकी सेनालाई जिम्मा दिने गरिएको छ ।
 

दोष सेनामा होइन, सैन्य मिसनमा छ । प्रभावकारी शासन संस्थान तथा प्रतिनिधित्व निर्माणको विकल्प कहिल्यै पनि सैन्य फौज हुन सक्दैन । स्थिर समाजका लागि व्यापार, शिक्षा तथा नागरिक सहभागिताको आधार निर्माण गर्नुपर्छ । तथ्यांकले ठूलो सैन्य उपस्थितिले राजनीति विकासलाई अवरोध पु¥याएको देखाउँछ, जसका कारण प्राथमिकतामा सामाजिक विकासभन्दा लडाइँ र सैन्य निरीक्षण पर्छ । अमेरिकी सैन्य उपस्थिति त्यही मुलुकमा सफल भएका छन्, जहाँको शासन–निकाय विदेशी सेना आउनुअगावै सबल थिए । यसको उदाहरण दोस्रो विश्वयुद्धपछि जापान र जर्मनी हुन् । 

अमेरिकी नेताहरू सहजै सैन्य फौजलाई परिचालनको अनुमति दिन्छन् । ठूलो फौज भएकाले यस्तो मानसिकता विकास भएको हो । सैन्य मानसिकताका कारण अमेरिकाको वार्षिक सैन्य बजेट बढेर सात सय अर्ब डलर पुगिसक्यो । सेना परिचालन सहज विकल्प भएपछि त्योभन्दा उत्कृष्ट विकल्पहरू प्राथमिकतामै पर्दैन । विदेशी भूमिमा स्थानीय सरकारी प्रशासनलाई तालिम दिने गैरसैनिक कार्यमा समेत अमेरिकी सेनालाई जिम्मा दिने गरिएको छ । नागरिक आवश्यक भएका स्थानमा समेत अमेरिकाले सेना पठाउने गरेको छ, किन त ? किनकि, अमेरिकामा सेनाले प्रशस्त स्रोत पाइरहेको छ । समस्या तब झन् जटिल बन्छ, जब सेनाले आफूसँग भएको स्रोतलाई लबीमा उपयोग गरेर कंग्रेसबाट थप रकम निकासा गर्न खोज्छ ।

सैन्य फौजको वृद्धिले अमेरिकाभित्र पनि नकारात्मक असर परेको छ । विशाल सैन्य फौजका कारण समग्र अमेरिकी समाज नै थप सैन्यकृत हुँदै गएको छ । प्रहरी प्रशासनले समेत सेनालाई धेरै भएका युद्धक्षेत्रमा उपकरण तथा हतियार प्रयोग गर्न थालेका छन् । अवकाशप्राप्त सैनिकहरू अतिवादी समूहमा संलग्न हुने क्रम पछिल्लो दशकमा उल्लेख्य बढेको छ । 

निश्चित रूपमा अमेरिकी सेना समाजको सबैभन्दा व्यावसायिक र देशभक्त हिस्सा हो । यसका बर्दीधारी नेतृत्वले निर्वाचनलाई नै कमजोर बनाउने प्रयास गर्ने पूर्वराष्ट्रपतिको प्रयासका बाबजुद कानुनको शासनको प्रतिरक्षा गरिरहे । खास समस्या सेनाको भीमकाय आकार र तिनको दुरुपयोगले निम्त्याएको छ । सेनाले गर्न नसक्ने कामबारेमा इमानदार बहस हुन आवश्यक छ । अमेरिकाले स्रोतसाधनलाई अन्य निकाय तथा संस्थानलाई पनि विनियोजित गर्न आवश्यक छ, जसले देशलार्ई थप सबल, समृद्ध र सुरक्षित बनाउन सघाउँछन् । अमेरिका इतिहासमा जस्तै विशाल मुलुक र सानो शान्तिकालीन सेनामा फर्कियो भने उसलाई नै फाइदा हुन्छ । 

आधुनिक राजनीतिक र विदेश नीतिका विज्ञ जेरेमी सुरी युनिभर्सिटी अफ टेक्सास–अस्टिनका इतिहासका प्राध्यापक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार