नेपालमा सञ्चालित अधिकांश तारे होटेलहरू अपांगता, अशक्त र सबै उमेर समूहहरूको व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार निर्माण र सेवा प्रवाह नभएको एक अध्ययनले देखाएको छ । अध्ययनमा समेटिएका अधिकांश होटेल व्यवसायीले पहुँचयोग्य पर्यटनको अवधारणबारे जानकारी भए पनि त्यस्तो पूर्वाधार निर्माणमा लगानी नगरेको प्रतिक्रिया दिएका छन् । ‘सबैका लागि खुला : नेपालका होटेलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण’ नामक अध्ययन प्रतिवेदनले होटेल व्यवसायीले अपांगमैत्री पूर्वाधार र सेवामा लगानी नगरेको उल्लेख गरेको छ ।
अपांगमैत्री पूर्वाधार निर्माण भएमा विश्वव्यापी बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन भएर मुलुकको आर्थिक वृद्धिमा ठूलो सहयोग पुर्याउने देखाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपांग महासंघ नेपालसँगको सहकार्य र अन्तर्राष्ट्रिय वित्त निगम (.आइएफसी)को आर्थिक तथा प्राविधिक सहयोगमा तयार पारेको अध्ययन प्रतिवेदन बुधबार भर्चुअल सार्वजनिक गरेको छ ।
अध्ययनका लागि मुलुकका मुख्य–मुख्य सहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी व्यवसायीहरूलाई समावेश गरिएको थियो । अध्ययनमा सहभागी ९५ प्रतिशत होटेल व्यवसायीले पहुँचयोग्य पर्यटन पूर्वाधार निर्माण र बजार विस्तारमा लगानी नगरेको प्रतिक्रिया दिएका छन् । अध्ययनमा समावेश भएका अधिकांश होटेलमा अपांगता भएका व्यक्तिहरूको आवतजावतका लागि लिफ्ट तथा भिराला र्याम्प मात्रै रहेको र १७ प्रतिशत होटेलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि संकेत चिह्न राखेको उल्लेख छ ।
७४ प्रतिशत होटेलले ढोकाबाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिह्नको प्रयोग नगरेको भेटिएको छ । यस्तै, अध्ययनमा समेटिएका ९ प्रतिशत होटेलका कर्मचारीहरू पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटेलमा अपांग अतिथिका लागि अतिरिक्त ह्विलचेयरको व्यवस्था रहेको अध्ययनले देखाएको छ ।
पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आइएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले पर्यटकीय गन्तव्यहरूमा अपांग, अशक्त वा अरू सबै उमेर समूहको पहुँच विस्तार गर्न सके मात्रै पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छिन् ।
होटेल एसोसिएसन नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागिी नयाँ प्रयोग हुने भए पनि पर्यटन व्यवसायीले अपांगमैत्री पूर्वाधार तयार पारेर यसबाट राम्रै लाभ लिन सक्नेमा आफू विश्वस्त रहेको बताइन् ।