पिउने पानीमा पनि पहुँचवालाकै पहुँच : भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकहाँ कहिले आउँछ, कहिले आउँदैन

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण
पिउने पानीमा पनि पहुँचवालाकै पहुँच : भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकहाँ कहिले आउँछ, कहिले आउँदैन

अनामनगरमा खानेपानी भर्दै स्थानीय । फाइल तस्बिर

पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल आउँछ तर पहुँच नहुनेका टोलमा डेढ सातासम्म पनि आउँदैन पानी

राज्यले उपत्यकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेका धारामा डेढ सातासम्म पनि पानी आउँदैन । 

बुढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यसवरिपरिका घरमा केयुकेएलले सातामा ६ दिन पानी दिन्छ । अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवाले बुढानीलकण्ठमा घर बनाएदेखि नै प्रशस्त पानी पाउन थालेका हुन् । 

तर, कतिपय सर्वसाधारणको धारोमा पानी नझरेको वर्षौँ बितिसकेको छ । मध्यपुर ठिमी नगरपालिका– १ का वासुदेव आचार्य तिनैमध्येका एक हुन् । उनको धारामा ६ वर्षदेखि पानी नदिए पनि केयुकेएलले बिल भने नियमित पठाइरहेको छ । ‘केयुकेएलले धारामा पानी नदिएको ६ वर्ष भयो । पानी नआए पनि बिल आउन छाडेको छैन, ०७२ देखि नियमित बिल तिर्दै आएको छु । पैसा तिर्न जाँदा पटक–पटक खानेपानी नआएको गुनासो गर्दा पनि केयुकेएलका कर्मचारीले वास्तै गर्दैनन्,’ उनले भने । 

देउवानिवास बुढानीलकण्ठ क्षेत्रकै अरू सर्वसाधारणको घरमा पनि पानीको समस्या छ । उनीहरूले ट्यांकर, डिप बोरिङ तथा इनारको पानी प्रयोग गर्दै आइरहेका छन् । ‘पानी कहिलेकाहीँ मात्रै आउँछ, त्यो पनि नियमित तालिकाअनुसार आउँदैन,’ बुढानीलकण्ठ स्कुलनजिकै बस्दै आएका घनश्याम दाहालले भने, ‘पिउनका लागि जारको पानी प्रयोग गर्दै आइरहेका छौँ, अन्य प्रयोजनका लागि इनारको पानी छ ।’ 

प्रकाश राई, प्रवक्ता, केयुकेएल

सामान्यतया तालिका अनुसार नै पानी वितरण हुन्छ, तर कहिलेकाहीँ भिआइपी क्षेत्रमा तालिका नभएको दिन पनि पानी पठाउनुपर्ने हुन्छ

पूर्वमन्त्री तथा एमाले नेता नेता प्रदीप ज्ञवालीको घर भएको शंखमूल मूल सडक पूर्वपट्टिको श्रीनगर टोलमा पनि नियमित पानी आउँछ । ‘हाम्रो टोलमा दुईवटा पाइप लाइनबाट पानी आउँछ,’ ज्ञवालीको टोलकी बासिन्दा केशरी श्रेष्ठले भनिन्, ‘केयुकेएलको पुरानो पाइपलाइन र मेलम्चीको नयाँ पाइपलाइनबाट पनि खानेपानी आइरहेको छ ।’ 

तर, शंखमूलकै अरू टोलमा भने सातामा एकपटक मात्रै पानी आउँछ । बाटोवारि र पारि खानेपानी वितरणमा समानता छैन । ‘उपल्लो टोलमा पानी आइरहन्छ, त्यहाँ नेताहरू बस्ने भएर होला,’ स्थानीय हर्षराम श्रेष्ठले भने, ‘हामीकहाँ त साताको एकपटक मात्र पानी आउँछ, त्यही पनि पिउनै नमिल्ने, धमिलो हुन्छ ।’

सर्वसाधारण बिल मात्रै तिर्छन्
ललितपुर सातदोबाटोस्थित भेल्पा टोलका देवकी कार्कीको घरको धारोमा केयुकेएलले पानी नपठाएको एक वर्ष भयो । पानी नआए पनि केयुकेएलले मासिक रूपमा बिल भने पठाइरहेको छ । ‘खानेपानी आएको छैन, बिल नियमित आउँछ । महिनामा ढेड सय रुपैयाँ त्यसै बुझाउनुपरेको छ,’ उनले भनिन्, ‘धारो जोडेको १० वर्ष भयो, एक वर्षदेखि खानेपानी आएको छैन ।’ 

एमाले नेता टोपबहादुर रायमाझी बस्ने खुमलटार क्षेत्रमा पनि नियमित पानी आउँछ । यस क्षेत्रमा केयुकेएलको हरिसिद्धि र भैँसपाटी केन्द्रले पानी वितरण गर्छ । ‘केयुकेएलले हामीलाई महिनामा एकपटक पनि खानेपानी दिँदैन,’ सातदोबाटोका हिमकुमार दाहालले भने, ‘पहिले–पहिले धमिलो भए पनि आउँथ्यो, धेरै भयो धमिलो पानीसमेत आएको छैन ।’

केयुकेएलको तालिका छ, पानी छैन
केयुकेएलले उपत्यकाभित्र पानी वितरण गर्ने तालिका सार्वजनिक गरेको छ, तर तालिकाअनुसार सर्वसाधारणको घरमा पानी आउँदैन । उपभोक्ताको धारामा पानी पठाउने कार्य केयुकेएलको पानी वितरण शाखामा कार्यरत ‘भल्ब अपरेटर’ र चाबी चालकको हो । उनीहरूले खानेपानीको ‘गेटबल’ खोलेपछि मात्रै उपभोक्ताको घरको धारामा पानी पुग्छ । तर, भल्ब अपरेटर र चाबी चालकले ‘गेटबल’ आफूखुसी खोलेर पानी वितरण गर्ने गरेका छन् ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले केही समयअघि कर्मचारीले आफूखुसी पानी वितरण गरेको भेटेपछि कारबाही गरेको बताए । ‘भल्ब अपरेटर र चाबी चालकबाट पानी वितरण गर्दा बेथिति भएको भेटाएका थियौँ,’ उनले भने, ‘अहिले त्यस्तो छैन ।’ कहिलेकाहीँ आवश्यकता हेरेर कुनै ठाउँमा पानी वितरण गर्दा तालिका नमिलेको हुन सक्ने उनको भनाइ छ । ‘सामान्यतया तालिकाअनुसार नै पानी वितरण हुन्छ, तर कहिलेकाहीँ भिआइपी क्षेत्रमा तालिका नभएको दिन पनि पानी पठाउनुपर्ने हुन्छ,’ प्रवक्ता राईले भने । 

ललितपुरको सानेपा, मंगलबजार, कुपन्डोललगायत क्षेत्रमा १२ दिनको फरकमा पानी आउँछ । यी क्षेत्रका बासिन्दाले ट्यांकरको पानी प्रयोग गर्न बाध्य छन् । यस क्षेत्रमा सैँबु पानीट्यांकीबाट उपभोक्ताको धारामा खानेपानी आउँछ । त्यस्तै, काठमाडौंको बालाजु क्षेत्रमा पनि नौ दिनमा एकपटक पानी आउँछ । बानेश्वर, बुद्धनगर, शंखमूल, थापागाउँ क्षेत्रका उपभोक्ताको धारामा हप्ताको एकपटक पानी वितरण हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड बस्दै आएको खुमलटार क्षेत्रमा भने हरेक दिन पानी वितरण हुन्छ । 

केयुकेएलका अनुसार सबै ठाउँमा एउटै तालिकाअनुसार पानी वितरण हुँदैन । कतिपय ठाउँमा हप्तामा तीनपटक पनि वितरण हुन्छ भने कतिपय ठाउँमा महिनामा दुईपटक वितरण हुने गर्छ । यसो गर्दा कतिपय क्षेत्रका उपभोक्ता मारमा परेका छन् । ‘चाहिने वेलामा धारामा आउँदैन, कहिलेकसो आयो भने पनि धमिलो हुन्छ,’ ललितपुर मंगलबजारका अमरराज ताम्राकारले भने, ‘यस क्षेत्रमा केयुकेएलको पानी आउँदैन ।’ 

केयुकेएलले सिंहदबार, संसद् भवन, मन्त्रीनिवासलगायत क्षेत्रमा भने पानी नियमित वितरण गर्दै आइरहेको छ । प्रवक्ता राईले यी क्षेत्रहरूमा स्वाभाविकै रूपमा बढी पानी वितरण भइरहने बताए । उपत्यकाभित्र भिआइपी बस्ने क्षेत्रमा आवश्यकता परेको वेला सूचनाका आधारमा पानी वितरण पनि गरिने उनको भनाइ छ ।

माग दैनिक ४३ करोड लिटर, आपूर्ति १३ करोड लिटर मात्रै 
अहिले काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग भए पनि १३ करोड लिटर मात्रै आपूर्ति हुन सकेको छ । केयुकेएलको पानी प्रयोग गर्न नपाउने उपभोक्ताले ट्यांकर, जार र जमिनमुनिको पानी प्रयोग गर्दै आइरहेका छन् । यसबाहेक सिंहदरबार, मन्त्रीनिवास र संसद् भवनभित्र सरकारले नै ‘डिप बोरिङ’ गरेको छ । 

२० प्रतिशत पानी चुहावट
केयुकेएलले वितरण गरेकोमध्ये २० प्रतिशत पानी चुहावट हुन्छ । चुहावट रोक्न सकेमा पानीको अभाव भोगिरहेका उपत्यकावासीलाई ठूलो राहत मिल्न सक्छ । तर, केयुकेएलले प्रयास गरेको छैन । चुहावट रोक्न सके सातामा दुई दिन मात्रै वितरण हुने खानेपानी तीनपटकसम्म वितरण गर्न सकिने केयुकेएलका प्रवक्ता राईले बताए । उनका अनुसार उपभोक्ताले प्रयोग गर्ने पाइपबाट धेरै पानी चुहावट हुन्छ । त्यसैगरी सकेट र ट्यांकी र सडकमा पाइप फुटेर पनि चुहावट हुन्छ । 

तोकिएभन्दा मोटो पाइप प्रयोग गर्छन् घरधनी 
नियमअनुसार कुनै पनि घरधनीले केयुकेएलको पानी तान्न आधा इन्चभन्दा मोटो पाइप र मोटर प्रयोग गर्न पाइँदैन । तर, उपत्यकामा कतिपय घरधनीले तोकिएभन्दा मोटो पाइप मोटरसहित प्रयोग गर्छन् । यसले पानी वितरण असमान भएको छ । ‘अधिकांश घरधनीले खानेपानी तान्नका लागि मोटर र तोकिएभन्दा मोटो पाइप प्रयोग गरेको भेटियो,’ केयुकेएलका प्रवक्ता राईले भने, ‘अनुगमनका क्रममा धेरैजसो घरमा त्यस्तै भेटिएको थियो ।’ उद्योग र कलकारखानालाई फरक व्यवस्था छ । केयुकेएलको तथ्यांकअनुसार अहिलेसम्म उपत्यकाका दुई लाख ८० हजार उपभोक्ताको घरमा केयुकेएलको धारा जडान भएको छ ।

के भन्छन् भिआइपी ?
पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो टोलमा नियमित खानेपानी आइरहेको बताए । ‘यहाँ त नियमित नै आइरहेको छ, तीन वर्षअघिचाहिँ आउँदैनथ्यो,’ उनले भने, ‘अचेल पानीको समस्या छैन ।’  शंखमूलमै बस्ने एमाले नेतृ रामकुमारी झाँक्रीले पनि केही दिनअघिसम्म नियमित पानी आएको बताइन् । 

नेताका धारामा फालाफाल पानी

बुढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास रहेको टोलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सातामा ६ दिन खानेपानी वितरण गर्छ । अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवानिवास बनेदेखि नै टोलवासीले प्रशस्त पानी पाउन थालेका हुन् । यहाँ शिवपुरी क्षेत्रबाट पानी ल्याएर वितरण गरिन्छ । खुमलटार, ढोलाहिटी, हात्तीवनमा क्षेत्रमा पनि खानेपानी दिनहुँजसो आउँछ ।

पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास रहेको खुमलटारका बासिन्दा खानेपानी दुःख नभएको बताउँछन् । स्थानीय लक्ष्मी घलेले भनिन्, ‘हाम्रो क्षेत्रमा नियमित पानी आइरहेको छ, ढोलाहिटी सडकभन्दा पल्लो टोलमा भने पानी आउँदैन ।’ एमाले नेता टोपबहादुर रायमाझी पनि खुमलटार क्षेत्रमै बस्छन् ।

बालकोटस्थित निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको निवास र वरिपरिका बासिन्दाको घरमा सातामा चारपटक पानी आउँछ । तर, उनको घरनजिकैका अन्य घरमा भने सातामा एकपटक मात्रै केयुकेएलले पानी वितरण गर्छ । ‘म पूर्वप्रधानमन्त्री ओलीको घरनजिकै बस्छु,’ बालकोटका फणिन्द्र फुँयालले भने, ‘मेरो घरमा सातामा एकपटक मात्रै खानेपानी आउँछ, त्यो पनि कहिलेकाहीँ धमिलो आउँछ ।’ त्यस्तै, पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालको घर रहेको कोटेश्वर क्षेत्रमा सातामा तीनपटकसम्म खानेपानी वितरण हुन्छ । पूर्वमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीको घर रहेको शंखमूलको श्रीनगर टोलमा केयुकेएलले नियमित खानेपानी पठाउँछ । 

तर, मध्यपुर थिमि– १ भक्तपुरका वासुदेव आचार्य भन्छन्–६ वर्षदेखि पानी देखेको छैन, बिल तिरिरहेको छु

केयुकेएलले धारामा पानी नदिएको ६ वर्ष भयो । पानी नआए पनि बिल आउन छाडेको छैन, तर ०७२ देखि बिल भने नियमित तिर्दै आएको छु । घरमा धारा छ, तर डिप बोरिङ र ट्यांकरको पानी किनेर प्रयोग गर्छौँ । पैसा तिर्न जाँदा पटक–पटक खानेपानी नआएको गुनासो गर्दा पनि केयुकेएलका कर्मचारीले वास्तै गर्दैनन् ।

कर्मचारीबाट हुन्छ बदमासी : आफूखुसी खोलिदिन्छन् पानी

केयुकेएलले उपत्यकाभित्र पानी वितरण गर्ने तालिका सार्वजनिक गरेको छ, तर तालिकाअनुसार सर्वसाधारणको घरमा पानी आउँदैन । उपभोक्ताको धारामा पानी पठाउने कार्य केयुकेएलको पानी वितरण शाखामा कार्यरत ‘भल्ब अपरेटर’ र चाबी चालकको हो । उनीहरूले खानेपानीको ‘गेटबल’ खोलेपछि मात्रै उपभोक्ताको घरको धारामा पानी पुग्छ ।

तर, भल्ब अपरेटर र चाबी चालकले ‘गेटबल’ आफूखुसी खोलेर पानी वितरण गर्ने गरेका छन् । केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले केही समयअघि कर्मचारीले आफूखुसी पानी वितरण गरेको भेटेपछि कारबाही गरेको बताए । ‘भल्ब अपरेटर र चाबी चालकबाट पानी वितरण गर्दा बेथिति भएको भेटाएका थियौँ,’ उनले भने, ‘अहिले त्यस्तो छैन ।’ कहिलेकाहीँ आवश्यकता हेरेर कुनै ठाउँमा पानी वितरण गर्दा तालिका नमिलेको हुन सक्ने उनको भनाइ छ । ‘सामान्यतया तालिकाअनुसार नै पानी वितरण हुन्छ, तर कहिलेकाहीँ भिआइपी क्षेत्रमा तालिका नभएको दिन पनि पानी पठाउनुपर्ने हुन्छ,’ प्रवक्ता राईले भने । 

कुनकुन खोलाबाट आउँछ उपत्यकामा पानी ? 
उपत्यकाभित्र केयुकेएलले सुन्दरीजल, विष्णुमती, महादेव खोला, शिवपुरी, शेषनारायण, फर्पिङ, नल्लु, भारदेउ, नख्खुलगायत खोलाको पानी संकलन गरी वितरण गर्छ । यी खोलाबाट केयुकेएलका रिजर्भ ट्यांकीहरूमा पानी संकलन भएपछि तालिकाअनुसार उपभोक्ताको धारोमा वितरण हुन्छ । उपत्यकाभित्र महाकाल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, अनामनगर, मीनभवन, बोडे, भैँसेपाटी, हरिसिद्धिलगायतका रिजर्भ ट्यांकीबाट पानी वितरण हुन्छ ।

तालिकाअनुसार ढोलाहिटीमा सातै दिन पानी आउँछ भने बूढानीलकण्ठमा सातामा ६ दिन वितरण हुन्छ । भैँसेपाटी, हात्तीवन, बालकोटमा चार दिन र खुमलटार, कोटेश्वर, तीनकुने, बानेश्वरमा तीन दिन पानी पठाउने गरिएको छ । त्यस्तै, बानेश्वर, बुद्धनगर, शंखमुल, थापागाउँमा सातामा एक दिन, बालाजुमा नौ दिनमा एकपटक र सानेपा, मंगलबजार, कुपन्डोलमा १२ दिनमा एकपटक पानी पठाइने गरिएको छ ।

बाढीका कारण मेलम्ची अनिश्चित, पानीको समस्या थपिने

२२ वर्ष प्रतीक्षा गरेर १५ चैतदेखि उपत्यकावासीको धारामा मेलम्चीको पानी आएको थियो । तर, तीन महिना नपुग्दै असार पहिलो साता मेलम्ची नदीमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको छ । उपत्यकावासीले अब मेलम्चीको पानी कहिले पाउँछन् भन्ने अनिश्चित भएको छ । जसले गर्दा उपत्यकामा खानेपानी समस्या अझै बढ्ने देखिएको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले केही दिनअघि बसेको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको बताएकी थिइन् । बाढीका कारण आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा क्षति पुगेको छ । निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । वैकल्पिक पथान्तरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ ।

मेलम्ची बजारदेखि हेडवर्क क्षेत्र अम्बाथानसम्मको २२ किलोमिटरमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा, याङ्ग्र्रीतर्फ पाँच किलोमिटर सडक आंशिक क्षति भएको छ । त्यहाँसम्म पुग्ने ६ वटा पुल पनि बगाएको छ । पहिरोले आयोजनाको दुई सय १० किलोमिटर डाइभर्सन टनेल र अम्बाथानस्थित टनेल अडिट पोर्टमा लेदो भरिएको छ  । प्रारम्भिक अनुमानअनुसार एक अर्ब ८८ करोड क्षति भएको छ ।

See More On

सुझावित समाचार