कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरसम्म महाधिवेशन सार्ने तयारी थालेका छन् । शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा देउवा आफैँले भदौमा महाधिवेशन सम्भव नरहेको बताएका छन् भने उनीनिकट नेताहरूले मंसिरसम्म महाधिवेशन आउन सक्ने संकेत गरेका छन् ।
कांग्रेसले तेस्रोपटक सारेर भदौ १६–१९ का लागि १४औँ महाधिवेशनको मिति तोकेको थियो । तेस्रोपटक तोकिएको मितिमा समेत महाधिवेशन गर्न नसके अबको २५ दिनपछि कांग्रेसको वैधता खारेज हुन सक्ने अवस्था छ । तर, केही कानुनी उपचार खोजेर महाधिवेशन कम्तीमा मंसिरसम्म सार्ने देउवाको तयारी छ । एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले औपचारिक रूपमा नबोले पनि बैठकको बीचमा भदौमा महाधिवेशन सम्भव नभएको बताएका थिए । तर, उनीनिकट नेताहरूले त प्रस्टै रूपमा भदौको महाधिवेशन मंसिरसम्म सर्ने संकेत गरेका छन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्य एनपी साउदले क्रियाशील सदस्यता टुंग्याएपछि नयाँ कार्यतालिका ल्याएर मंसिरसम्म महाधिवेशन गर्न सकिने प्रस्ताव गरेका थिए । संस्थापन पक्षका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले कोभिड महामारीका कारण भदौमा महाधिवेशन सम्भव नभएको तर्क गरेका थिए । सोही समूहका अर्का केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले भने आमनिर्वाचनपछि मात्रै महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । केन्द्रीय सदस्य जीवनबहादुर शाहीले कोभिडका कारण भदौको महाधिवेशन सम्भव नहुने मत राखेका थिए ।
भदौमा महाधिवेशन सम्भव नभएको कांग्रेस संस्थापन पक्षका नेताहरूले बताए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले भदौमै नियमित वा विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधता बचाउनुपर्ने धारणा राखेका छन् । बैठकमा प्रकाशमान सिंहले कार्यविधि छोट्याएर भए पनि भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता बचाउनुपर्ने धारणा राखेका थिए । अर्का नेता कृष्णप्रसाद सिटौलाले भदौको महाधिवेशनको विकल्प नरहेको भन्दै तत्काल कार्यतालिका ल्याउनुपर्ने मत राखेका थिए ।

त्यसैगरी डा. शेखर कोइरालाले विशेष महाधिवेशन नभई नियमित नै गर्नुपर्ने, तर धेरै पछाडि धकेल्न नहुने धारणा राखेका थिए । अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले विशेष महाधिवेशन गरेर भए पनि पार्टीको वैधानिकता बचाउनुपर्ने मत राखेका थिए । नेताहरूबीच मत बाझिएपछि शुक्रबारको बैठकमा पनि महाधिवेशनको कार्यतालिकाको विषयले प्रवेश पाएन । बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आठ घन्टासम्म चलेको बैठकमा चारजना आमन्त्रितसहित २७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । तर, बैठकले महाधिवेशनबारे कुनै निर्णय गर्न सकेन ।
बैठकमा नेताहरूले भदौमै महाधिवेशन गरौँ भन्ने जोड मात्रै गरेनन्, कसैले त अहिले महाधिवेशन नै नगरौँ भन्ने प्रस्तावसमेत गरे । बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता पौडेलले ‘बैठकमा महाधिवेशन नै नगरौँ’ भन्ने प्रस्तावसमेत आएको बताए । केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले तत्काल महाधिवेशन हुने सम्भावना टरेको बताए । ‘सभापतिज्यू अहिले पनि के गरौँ ? तत्कालै गर्न पनि तयार छु भनिरहनुभएको छ । तर, जसले जे भने पनि तत्काल महाधिवेशन हुने सम्भवना देखिँदैन । प्राविधिक हिसाबले पनि यो असम्भव छ,’ उनले भने, ‘दशैँअगाडि महाधिवेशन हुने सम्भावना टर्यो ।’
शुक्रबार सिंह, सिटौला, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, जोशी, डा. कोइराला, शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, विश्वकर्मा, पाण्डे, घिमिरे, रामकृष्ण यादव, बहादुरसिंह लामा, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेड र आमन्त्रित सदस्यहरू हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले बोलेका थिए । अर्को बैठक शनिबार दिउँसो २ बजेबाट पुनः बुढानीलकण्ठमै बस्ने गरी स्थगित भएको छ ।
कांग्रेसको १३औँ महाधिवेशन २०–२३ फागुन ०७२ मा भएको थियो । त्यस आधारमा कांग्रेसको अधिवेशन चार वर्षभित्र अर्थात् २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले त्यसवेला सामान्य अवस्थामै विधानको विशेष व्यवस्था उपयोग गरे र एक वर्ष कार्यकाल लम्ब्याए । ०७७ फागुन ७–१० का लागि महाधिवेशनको कार्यतालिका तोकियो । तर, त्यो मितिमा महाधिवेशन हुन सकेन, पहिलो कारण क्रियाशील सदस्यताको टुंगो नलाग्नु नै थियो । त्यसपछि संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था उपभोग गर्दै ०७८ भदौ ७–१० का लागि महाधिवेशन तोकियो । तेस्रोपटक तोकिएको महाधिवेशन पनि अनिश्चित छ ।
संविधानको धारा २६९ (४) को (ख) बमोजिम राजनीतिक दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन साढे पाँच वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ । त्यस्तो निर्वाचनको अद्यावधिक विवरण निर्वाचन आयोगमा नबुझाए कांग्रेसको दर्ता नै खारेज हुन सक्छ । त्यस आधारमा कांग्रेसको अब बाँकी वैधानिक उमेर २५ दिन मात्रै हो । जब कि निर्वाचन समितिले मतदाताको अन्तिम नामावली पाएपछि पनि महाधिवेशनका लागि ५३ दिन समय मागेको छ ।