पूर्वी नवलपरासीका सात राजनीतिक दलले तयार पारेको नवलपुर क्षेत्रको विकासको साझा अवधारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई बुझाएका छन् । हालको सत्ताधारी दल र केही सत्ताबाहिरका दलले नवलपुरको समग्र विकासको अवधारणा तयार पारेर मुख्यमन्त्री पोखरेललाई बुझाएका हुन् ।
गठबन्धनको साझा अवधारणसम्बन्धी मागपत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले नवलपुरको विकासका लागि दलहरूले तयार पारेको साझा अवधारणाअनुसार आफू काम गर्न तयार रहेको बताए । उनले भने, ‘केही केन्द्रीय सरकारले गर्नुपर्ने निर्णयहरू पनि छन्, त्यसका लागि केन्द्रीय सरकारसँग पहल गर्नेछु । मैले आफ्नो ठाउँबाट गर्न सक्ने गर्नेछु ।’
कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल पक्षीय एमाले, जसपा, राष्ट्रिय जनमोर्चा, विवेकशील साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रूपमा तयार पारेको अवधारणा मुख्यमन्त्रीलाई बुझाएका हुन् ।
संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा बिहानीले हस्तान्तरण गरेका थिए । सात दलले नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकायमा काम अगाडि बढाउन पहल गर्ने, जिल्लास्तरीय खेलकुद रंगशाला निर्माणका लागि माग गर्नेदेखि जिल्लामा विमानस्थल निर्माणलगायतका १३ बुँदे अवधारणाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
जसअन्तर्गत नारायणी तटबन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वाल निर्माण, शान्तिपार्क, मौलाकालिकादेखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदलमार्ग निर्माणसमेत छन् ।
चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरूको तटबन्ध, नदीजन्य स्रोतहरूको व्यवस्थापन, कृषि उद्योग स्थापना, पूर्व–पश्चिम राजमार्गको मध्यबिन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्कीवास झ्यालवास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेशस्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउने विषय पनि साझा अवधारणामा समावेश छन् ।
यस्तै, भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालन, प्राविधिक विश्वविद्यालय स्थापनालगायतका विषय पनि समेटिएका छन् ।