केन्द्रीय कमिटीको बैठकपछि माधव समूहको रणनीति : अनिश्चितकालसम्म नपर्खने, ओलीको भूमिका हेरेर ‘वारपार’

शनिबार, २३ साउन, २०७८
डिजिटल संस्करण

माधवको बाटो

१. ओलीले ढोका बन्द गरे अर्को निर्णय 
वरिष्ठ नेता माधव नेपालले एकताको ढोका बन्द गरेको अवस्थामा मात्रै विकल्पबारे स्थायी कमिटी बैठकबाट निर्णय लिने निष्कर्ष सुनाएका छन् । ‘अहिले सहमतिका लागि निर्णायक ढंगले छलफल चलिरहेको छ । सम्मानजनक एकताका स्थायी कमिटीजस्तै केन्द्रीय कमिटीबाट पनि सुझाब आएको छ । हामी त्यसकै लागि प्रयत्न गर्दै अगाडि बढ्छौँ,’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य नीरज आचार्यले भने, ‘एकता प्रक्रियाको ढोका जतिवेलासम्म खुला रहन्छ, त्यतिवेलासम्म प्रयत्न जारी राख्नुपर्छ । हाम्रोतर्फबाट ढोका खुला राख्नुपर्छ, तर अर्को पक्ष (ओली पक्ष)ले एकताको ढोका बन्द गर्‍यो भने त्यसवेला के गर्ने भन्ने आवश्यक निर्णय स्थायी कमिटीले गर्नेछ ।’

२. ओलीजस्तै गालीगलौजमा नउत्रने
नेपालले ओलीले गालीगलौज गर्दै एकताको वातावरण बिगार्न खोजे पनि आफू अन्तिमसम्म एकताकै लागि लाग्ने पनि प्रस्ट्याए । ‘हामीले आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ । दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौँ । यसका लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै नेता रघुजी पन्तले भने, ‘ओलीले मलाई अहिले जति गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ, जारी रहन्छ ।’

३. ओली नै पार्टी विभाजनमा लागेका छन्
नेपालको कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाउने गरी विभाजनको षड्यन्त्र भइरहेको र त्यसप्रति सजगतासहित अगाडि बढ्नुपर्ने नेपालको भनाइ थियो । ‘नेपालको लोकप्रिय कम्युनिस्ट आन्दोलन क्षतविक्षत बनाएर विभाजन गर्न अनेक षड्यन्त्र गरिरहेका छन्, यसप्रति हामी सजग हुनुपर्छ, तर हामीले त्यसलाई परास्त गर्न पार्टी एकतामा जोड दिँदा झन् एकलौटी ढंगले अगाडि बढ्ने, हाम्रो आग्रहलाई पनि बेवास्ता गर्ने ओली प्रवृत्तिमा सुधार आएको छैन र त्यसैले यी सबै कुरामा ध्यानामा राखेर हामी चल्नुपर्छ,’ नेपालको भनाइ छ । 

४. संयमता अपनाउने, ओलीलाई अलिअलि विश्वास गर्ने 
नेपालले ओली पक्ष जसरी प्रस्तुत भए पनि एकताको पक्षमा इमानदारपूर्वक लाग्नका लागि कार्यशैली बदल्न केन्द्रीय सदस्यहरूलाई निर्देशनसमेत दिएका थिए । ‘एकतालाई असर पर्ने गरी एक–अर्काप्रति आक्षेप लगाउने, घृणा फैलाउने अभिव्यक्ति, शब्दावली नलेख्नुहोस्, नबोल्नुस्, हाम्रो समूहबाट यस्तो काम हुँदै नहोस्, किनभने हामीले एकताको वातावरण बनाइरहेका छौँ । ओलीले एकताको नाममा अलमल्याउन खोजेको त होइन भन्ने आशंका धेरैले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु,’ नेपालको भनाइ उद्धृत गर्दै अर्का केन्द्रीय सदस्यले भने । 

...                                            ...

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका धेरैजसो केन्द्रीय सदस्यले एकताका नाममा अनिश्चितकालसम्म नपर्खन र संस्थापन पक्षको भूमिका हेरेर ‘वारपार’ निर्णय लिन सुझाब दिएका छन् । शुक्रबार सम्पन्न नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने नेताहरूले सम्मानजनक एकतामा जोड दिँदै चाँडै निर्णयमा पुग्न आग्रह गरेका हुन् । संस्थापन पक्षले ढोका बन्द गरे सबै विकल्पका साथ अगाडि बढ्न उनीहरूको माग छ । 

सम्मानजनक एकता नभए विकल्पमा जाने : रघुजी पन्त, एमाले नेता

अहिलेसम्म भएका दशबुँदेलगायतका सहमतिले एकताको आधार निर्माण गरेका छन् । पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । हामी लतारिँदैनौँ, सम्मानजनक एकताको पक्षमा छौँ, एकताको मूलबाटोबाट डिरेल हुँदैनौँ । एकतामा दुवै पक्षको जित छ, विभाजनमा पुग्यौँ भने दुवै पक्षको सर्वनाश हो ।

तर, एकतालाई लिएर सदस्यहरूबीच नै मतभेद देखिएपछि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्णय लिन स्थायी कमिटीलाई जिम्मा दिएको छ । ‘अहिलेसम्म भएका दशबुँदेलगायतका सहमतिले एकताको आधार निर्माण गरेका छन्,’ स्थायी कमिटी सदस्य रघुजी पन्तले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।’ साथै बैठकले सम्मानजनक एकतामा जोड दिएको छ । ‘हामी लतारिँदैनौँ, सम्मानजनक एकताको पक्षमा छौँ, एकताको मूलबाटोबाट डिरेल हुँदैनौँ,’ पन्तले भने, ‘एकतामा दुवै पक्षको जित छ, विभाजनमा पुग्यौँ भने दुवै पक्षको सर्वनाश हो,’ पन्तले भने । 

एकढिक्काका साथ सम्मानजनक एकताका लागि कोसिस गर्नुपर्ने र सफल नभए अर्को विकल्पमा जानुपर्ने सबैजसो केन्द्रीय सदस्यको जोड थियो । ‘अन्तिमसम्म सम्मानजनक एकतामा जोड दिनुपर्छ, सफल नभएको खण्डमा मात्र अर्को विकल्पमा जानुपर्छ भन्ने सुझाब दिएका छौँ,’ केन्द्रीय सदस्य झपट रावलले भने, ‘हामीले माधव नेपालसहितको एकता गर्ने हो । तर, जुम्रा सफा गर्दा टाउकै काट्ने गल्ती गरेर पार्टी फुटाउने गल्ती नगरौँ भन्ने निष्कर्ष छ ।’ 

तर, संस्थापन पक्षको एकपक्षीय संगठनात्मक गतिविधि तत्काल रोक्न बैठकले ध्यानाकर्षण गराएको छ । ‘पार्टी एकताका लागि वार्ता चलिरहेको वेला एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन तथा सम्मेलन गर्नेजस्ता काम अगाडि बढाइनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले सदस्यता नवीकरणलगायतका सबै संगठनात्मक गतिविधि रोक्नुपर्छ,’ बैठकको निर्णय छ ।

यस्ता गतिविधि नरोके आफूहरू थप आक्रामक रूपमा अगाडि आउने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् । ‘उनीहरूले २४ गतेको बैठक र पार्टीका तल्ला कमिटीसम्म गरिरहेका गतिविधि रोकेनन् भने हामी पनि रोक्दैनौँ, थप पेचिलो हुने गरी अघि बढाउँछौँ । उनीहरूले पार्टी एकताविरोधी गतिविधि गरे भने हामी हाम्रो बाटोबाट अघि बढ्छौँ,’ उनले भनिन्, ‘त्यो भनेको २४ गतेसम्म हामी पर्खिन्छौँ, त्यसपछि पनि पार्टी एकता जोगाउने गरी उनीहरू तयार भएनन् भने सरकारमा जाने, नयाँ पार्टी बनाउने वा अरू के–के गर्नुपर्छ हामी अघि बढ्छौँ ।’

नेपाल पक्षले संयमित र जिम्मेवार बन्न संस्थापन पक्षको ध्यानाकर्षण गराएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई राष्ट्रद्रोही, लालगद्दारजस्ता आरोप लगाउँदै एमालेमा कुनै ठाउँ नरहेको अभिव्यक्ति दिँदै आएका थिए । ‘पार्टी एकताका लागि दशबुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेता तथा विभिन्न नेताहरूमाथि अनेकौँ टिप्पणी गर्ने र लाञ्छना लगाउने काम उचित होइन, यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनुहुँदैन । त्यसैले विचार व्यक्त गर्दा संयमित, जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ, यस बैठक त्यसप्रति सबैको ध्यानाकर्षण गर्दछ,’ निर्णयमा छ । 

रामकुमारी झाँक्री, एमाले नेता

उनीहरूले २४ गतेको बैठक र पार्टीका तल्ला कमिटीसम्म गरिरहेका गतिविधि रोकेनन् भने हामी पनि रोक्दैनौँ, थप पेचिलो हुने गरी अघि बढाउँछौँ । उनीहरूले पार्टी एकताविरोधी गतिविधि गरे भने हामी हाम्रो बाटोबाट अघि बढ्छौँ । त्यो भनेको २४ गतेसम्म हामी पर्खिन्छौँ, त्यसपछि पनि पार्टी एकता जोगाउने गरी उनीहरू तयार भएनन् भने सरकारमा जाने, नयाँ पार्टी बनाउने वा अरू के–के गर्नुपर्छ हामी अघि बढ्छौँ ।

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागतसमेत गरेको छ । पुनस्र्थापनाको पक्षमा नेपाल पक्षका २३ सांसदले सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका थिए भने २२ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।

सरकार विस्तारका लागि कांग्रेस–माओवादी नेतृत्वको सत्तारुढ गठबन्धनले नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने कोसिस जारी राखेका वेला उसले प्रमुख प्रतिपक्षकै भूमिकामा रहने निष्कर्ष निकालेको छ । सांसद रहेका कतिपय केन्द्रीय सदस्यले ओलीसँगको सहमतिको सम्भावना कम औँल्याउँदै सरकारमा सामेल हुनुपर्ने धारणा राखेका थिए । दुई दिनसम्म चलेको बैठकमा शुक्रबार ३५ सहित ५५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा कार्यदलका तर्फबाट भीम रावलबाहेक स्थायी कमिटी सदस्य बोलेनन् ।

नयाँ पार्टी गठनको विकल्प खुला राख्न माग 
बैठकमा कतिपय केन्द्रीय सदस्यले ओलीले पार्टी मिलाउने विश्वास नदेखिएकाले एकता वार्ता जारी राख्ने र नयाँ पार्टी गठनको विकल्प खुला राख्ने केन्द्रीय कमिटी बैठकबाटै निर्णय गर्नुपर्ने माग पनि गरेका थिए । राजेन्द्र राई, जगन्नाथ खतिवडा, मेटमणि चौधरी, विरोध खतिवडा, बलराम बाँस्कोटा, सावित्रा भुसाल, डा. विजय पौडेल, कल्याणी खड्का, नागेन्द्र चौधरी, चूडामणि जंगली विश्वकर्मासहित करिब डेढ दर्जन केन्द्रीय सदस्यले यस्तो माग गरेका थिए । 

उनीहरूले एकताका लागि ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने सर्तसमेत अगाडि सारेका थिए । तर, बैठकले ओली पक्षले एकताको ढोका बन्द गरेको अवस्थामा मात्र अर्को विकल्पबारे निर्णयमा पुग्नुपर्ने निष्कर्ष निकालेको छ । ‘अहिलेका लागि विभाजन नै मुख्य हो भन्ने कसैको मत आएन, सबैको जोड सम्मानजनक एकतामै रह्यो । तर, ओलीले मानेनन् भने अनन्त कालसम्म कति झुन्डिने ? दशबुँदे सहमतिमा पनि धोका दिए । दुई अध्यक्ष बनाएर जाने प्रस्ताव पनि अस्वीकार गरे भने हेरेर बस्ने कि अर्को बाटो रोज्ने जवाफ चाहिन्छ भनेर कतिपयले प्रश्न उठाउनुभएको थियो,’ केन्द्रीय सदस्य नीरज आचार्यले भने, ‘बैठकले एकताकै लागि अन्तिमसम्म प्रयास जारी राख्ने, तर अर्को पक्षले ढोका नै बन्द गरे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निष्कर्ष निकालेको छ ।’ 

अर्का केन्द्रीय सदस्य बाँँस्कोटाले ओलीले गरेका गल्ती–कमजोरीप्रति एकताका लागि सार्वजनिक रूपमा आत्मालोचना गर्नुपर्ने विषय उठान गरेको बताए । ‘हामीले सम्मानजनक एकताका लागि प्रतिनिधिसभा विघटनमा भएको कमजोरीमा आत्मालोचना गरेको अवस्थामा मात्र सम्मानजनक वैचारिक एकता हुन सक्छ भन्ने सुझाब दिएका हौँ,’ बाँस्कोटाले भने, ‘उहाँमा जालझेल गर्ने प्रवृत्ति छ, पहिले वामदेव कमरेडलाई, पछि प्रचण्ड कमरेडलाई पावर सेयरिङमा झुक्याउनुभो, अहिले पनि त्यस्तै झुटको खेती गर्न सक्ने भएकाले सजगता अपनाउनुपर्छ । बरु अर्को विकल्पमा जानका लागि पनि तयार हुने गरी बैठकले निर्णय गरेर जाँदा उपयुक्त हुन्छ भन्ने सुझाब दिएका थियौँ ।’

संस्थापनले संगठनात्मक गतिविधि नरोक्ने 
नेपाल समूहले संगठनात्मक गतिविधि रोक्न आग्रह गरे पनि एमाले संस्थापन पक्षले अस्वीकार गरेको छ । शुक्रबार स्थायी कमिटी सदस्यहरूसहितको अनौपचारिक छलफलपछि प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको कुनै पनि नियमित काम नरोक्ने बताए । 

सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउने काम गरिरहेका वेला संगठनात्मक गतिविधि रोक्न नसकिने उनको भनाइ छ । ‘पार्टीका नियमित काम अगाडि बढ्छ । तर, छलफलका नाममा पार्टी कामलाई अनन्त कालसम्म रोक्ने हुँदैन,’ ज्ञवालीले भने, ‘सत्तापक्ष आक्रामक ढंगले प्रस्तुत हुन थालिसक्यो । जनतासँग जोडिएका महत्वपूर्ण विषय उल्ट्याउने र जनविरोधी क्रियाकलाप गर्न थालिसक्यो । यस्तो वेला प्रमुख प्रतिपक्षलाई कुनै पनि गतिविधि नगरी हातखुट्टा बाँधेर बस भन्ने एमालेलाई दिइएको सुझाब होइन, एमालेको हितमा नभएको सुझाब ग्राह्य हुने कुरा पनि भएन ।’ 

संस्थापन पक्षले महाधिवेशन तयारीलगायत विषयमा छलफल गर्न २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । ज्ञवालीले विधान महाधिवेशनबाट संशोधन गर्नुपर्ने विधानका विभिन्न पक्षबारे प्रारम्भिक छलफल सुरु भएको बताए । ‘साथीहरूले सुझाब दिनुभएको छ, सुझाबमा आधारित भएर केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव तयार पार्छ । प्रस्तावलाई जिल्लामा पठाउँछौँ,’ उनले भने ।

सुझावित समाचार