तुलसीपुर उपमहानगरले लगायो ढेब्ली र ठेलामा डोजर

बुधबार, २० साउन, २०७८
डिजिटल संस्करण

तुलसीपुर उपमहानगरपालिकाले बसपार्क क्षेत्रमा सडकपेटी मिचेर राखिएका ढेब्ली ठेला तथा गाडा हटाएको छ । करिब दुई साताअघि रातारात बसपार्क क्षेत्रमा एकै आकारमा बनाइएका पाँचवटा नयाँ ढेब्ली राखिएको थियो । ती ढेब्ली राखेपछि आफूहरूले हटाउन सूचना जारी गरेको, तर त्यो सूचना नै अटेरी गरेपछि आफूहरूले आफैँ डोजर लगाएर हटाउनुपरेको वडाध्यक्ष शाहले बताए । ‘त्यहाँ ढेब्ली राख्ने कुनै गरिब परिवारका होइनन्, करोडपति हुन्,’ उनले भने, ‘उनीहरूकै कारण दिनभरि फलफूल बेचेर साँझ–बिहानको छाक टार्ने विपन्न वर्ग  समस्यामा परेका छन् ।’ 

उपमहानगरपालिकाले जारी गरेको तीनदिने सूचनालाई अटेरी गरेपछि प्रहरीको सहयोगमा ती ढेब्ली, ठेला, गाढा हटाइएको हो । स्थानीय सरकारको नीति र नियमलाई अटेरी गरेर जबर्जस्ती सडकपेटी मेचेर व्यवसाय गर्न थालेपछि आफूहरू हटाउन बाध्य भएको उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सूर्यबहादुर डाँगीले बताए । 

सडक मिचिने गरी अव्यवस्थित तरिकाले राख्दा  बसपार्क व्यवस्थापनमा चुनौती देखिनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ । उपमहानगरपालिकाले यसअघि सडक मिचेर बनाएका घरटहरासमेत हटाएको थियो । उपमहानगरपालिकाले ठेलामा व्यवसाय गर्नका लागि पातुखोला पुलको उत्तरतर्फ व्यवस्थापन गरेको छ । त्यहाँ करिब ७–८ कट्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए ।

सुझावित समाचार