युनियनहरूको दादागिरी

मंगलबार, १९ साउन, २०७८
डिजिटल संस्करण

केही दिनपहिले नेपाल वायुसेवा निगमलाई सार्वजनिक लिमिटेड कम्पनीका रूपमा लैजाने प्रस्ताव गरिएको सम्बन्धमा समाचार बाहिर आएपछि नेवानिमा आन्दोलन चर्कियो । नेवानिको आधिकारिक कर्मचारी युनियन र दलसम्बद्ध सबैजसो कर्मचारी संगठनले कार्यकारी अधिकृतविरुद्ध अशिष्ट र अमर्यादित नारा लगाउँदै हल्लाखल्ला गरिरहेका श्रव्यदृश्य सामग्री सार्वजनिक भए ।

दशकौँदेखि नेवानिको बिग्रिँदो हालत र खस्किँदो व्यापारको विषयलाई लिएर त्यसमा सुधार गर्न खासै आन्दोलित नहुने कर्मचारी संगठन संस्थालाई सार्वजनिक स्वामित्व बढी भएको तर निजी लगानीसमेत भित्र्याएर यसमा गर्न सकिने सुधारसम्बन्धी प्रस्ताव आउनासाथ आन्दोलनमा उत्रिनुले उनीहरूको नियतमाथि प्रश्न उठ्छ । उनीहरूले आन्दोलन त गरे तर नेवानिलाई सुधार गरेर एउटा नाफा कमाउने सार्वजनिक संस्थानमा स्तरोन्नति गर्न कुनै विकल्प भने सुझाएनन् । यस्तो लाग्छ, उनीहरूलाई संस्था बिग्रेकोमा भन्दा सप्रिन्छ कि भन्नेमा चिन्ता छ । यता नेपाल आयल निगमको अवस्था त्योभन्दा पनि खराब छ ।

निगम व्यवस्थापनले संस्थागत क्षमता विकास तथा सुधारका लागि थालेका प्रयास युनियनकै दबाबले पछि धकेलिएका छन् । उनीहरू अहिले मूल्य समायोजनसम्बन्धी नीतिका कारण संस्थाको आर्थिक मुनाफा कम हुन थालेकाले भण्डारण क्षमता वृद्धि गर्ने, पाइपलाइनबाट तेल ओसार्न आवश्यक पूर्वाधार विकास गर्नेजस्ता परियोजना अघि नबढाउन व्यवस्थापनलाई दबाब दिइरहेका छन् । त्यसले गर्दा अमलेखगन्ज–चितवन पाइपलाइन बिछ्याउने कामलगायत लुम्बिनी, चितवन, झापा आदि स्थानमा बनाउन लागिएका संरचनाको काम रोकिएको छ ।

कुनै कर्मचारी युनियन आफैँ काम गरिरहेको संस्थालाई सर्वनाश गराउन कस्सिएर लाग्छ भने त्यो नैतिक पनि हुँदैन, जिम्मेवार व्यवहार पनि मानिन्न 

यसले संस्थागत कार्यक्षमतामा विकास गर्दै पेट्रोलियम पदार्थको आपूर्तिमा सुधार गर्ने सम्भावनामा तत्कालका लागि ताला लाग्ने देखिन्छ । यहाँ पनि नेवानिमा जस्तै कर्मचारी संगठनहरू एकमत भएर संस्था सुध्रिन नदिन कस्सिएजस्तो देखिन्छ । संस्थानले पुँजीगत लगानी बढाउँदा तत्कालका लागि कर्मचारीले पाउने वार्षिक बोनसमा असर परे पनि दीर्घकालमा निगम नै फाइदामा जाने हो अनि त्यसको प्रतिफल पनि कर्मचारीमै वितरण हुने हो । तर, अघिल्तिरको भाग मात्र देख्नेहरूले कसैगरी संस्थालाई कमजोर बनाइराख्न प्रयास गरिरहेको बुझिन्छ । यो किन आपत्तिजनक छ भने यी सबै युनियन नेपालमा अहिले सत्तामा रहेका या भर्खर सत्ताबाट बाहिरिएका या भविष्यमा सत्तामा पुग्ने राजनीतिक दलका भ्रातृसंगठन हुन् ।


ट्रेड युनियनहरूको पहिलो काम र उद्देश्य नै मजदुर, कामदार, कर्मचारी अथवा शिक्षकहरूको पक्षमा मोलतोल गर्दै उनीहरूको हित सुरक्षा गर्नु हो । व्यवस्थापनसँग गरिने मोलतोलले कर्मचारी युनियनलाई व्यवस्थापनको विपक्षमा खडा गरिदिन्छ । कर्मचारीले व्यक्तिगत र सामूहिक रूपमा संस्थाको हितमा काम गर्नु उसको या उनीहरूको जागिर खाएबापतको उत्तरदायित्व हो । तर, कुनै युनियन आफैँ काम गरिरहेको संस्थालाई सर्वनाश गराउन कस्सिएर लाग्छ भने त्यो नैतिक पनि हुँदैन, जिम्मेवार व्यवहार पनि मानिन्न ।

आन्दोलन गर्नु, गलत काम हुने भएमा त्यसप्रति नेतृत्वलाई सजग गराउनु र आमनागरिक तथा सरोकारवालाको ध्यानाकर्षण गर्नु स्वाभाविक मानिए पनि संस्थाको सुधारमा व्यवस्थापनले गरेका प्रयासमा बाधा अड्चन पुर्याएर संस्थानलाई अव्यवस्थत र लथालिङ्ग बनाउँदा लुट्न पाइने मनोदशामा कर्मचारी युनियन रहेका छन् भन्ने लाञ्छनालाई थप पुष्टि गर्छ । शैक्षिक संस्थाहरू यही कारणले बिग्रेका छन् । अब यता निगमहरूमा पनि यही हाल भयो भने सार्वजनिक संस्थाहरू धराशयी मात्र हुनेछन् । अतिवादबाट बच, अतिवादबाट प्रभावित हुन नदेऊ ।

सुझावित समाचार